पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा



पोखरा- पुष १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।

तमु ल्होसार तथा पन्ध्र पुसका दिन सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो। गुरुङ जातिको बाक्लो बस्ती रहेको गण्डकीमा अघिल्लो वर्ष पनि ल्होसारमा बिदा दिइएको थियो।

यसैगरि मन्त्रिपरिषको बैठकले होमस्टेहरुलाई अनुदान दिँद श्रेणी छुट्याउने निर्णय पनि गरेको छ। यसअघि गण्डकी सरकारले प्रदेका २ सय ७३ वटा होमस्टेलाई १० लाख अनुदान दिएको थियो। अनुदान पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने प्रावधान थियो। अब भने होमस्टेलाई ३ श्रेणीमा छुट्याउने र सोही अनुसार अनुदान उपलब्ध गराउने जनाएको छ।

श्रेणीको लागि पाहुनाको संख्या, स्थानीय उत्पादन र सामाजिक कार्यमा गरेको योगदानलाई आधार मानिएको छ। वार्षिक १ हजार ८ सय पाहुना भित्र्याउने ७५ प्रतिशत स्थानीय उत्पादन गर्ने तथा कम्तिमा २५ हजार रुपैयाँ सामाजिक काममा खर्च गर्ने होम स्टेलाई क श्रेणीको रुपमा तोकिएको छ।

यस्तै, वार्षिक १ हजार पाहुना भित्र्याएर ५० प्रतिशत स्थानीय उत्पादन खपत गर्ने होमस्टे दोश्रो दर्जामा सूचीकृत हुनेछन्। ती होमस्टेले कम्तिमा १० हजार सामाजिक कार्यमा खर्च गर्नुपर्ने छ।

वर्षभरीमा ५ सय पर्यटक भित्र्याएर कम्तिमा ३० प्रतिशत स्थानीय उत्पादनको खपत गर्ने होमस्टेलाई ग श्रेणीमा राखिएको छ। ती होमस्टेले कम्तिमा ५ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गर्नुपर्ने नियम बनाईएको छ।

यो तीनवटै शर्त पूरा नगर्ने होम स्टेलाई आगामी वर्षदेखि सरकारले अनुदान उपलब्ध नगराउने सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए।

यो वर्ष सरकारले २५ करोड रुपैयाँ होम स्टे प्रबद्र्धनका लागि छुट्याएको छ। यसैका लागि सरकारले होम स्टे सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, होमस्टेको क्षमता अभिबृद्धि तथा सशक्तिकरण कार्यविधि पनि पारित भएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले छनौट गरेका ४४ पर्यटकीय गन्तब्यलाई ४० लाखका दरले पूर्वाधार विकास कार्यक्रममा अनुदान दिने निर्णय गरेको छ।