आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९औँ स्मृति दिवस - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९औँ स्मृति दिवस



काठमाडौँ, साउन ७ गते । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९औँ स्मृति दिवस शनिबार मनाइँदैछ ।  समानतामा आधारित वैचारिक चेतनाको विकास, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र मुलुकबाट गरिबी अन्त्य भए मात्र पुष्पलालको सपना साकार हुने भनाइ उहाँलाई नजिकबाट बुझ्नेहरूको छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसीकुमारी र पिता भक्तलालको माहिला सुपुत्रको रूपमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा निधन भएको थियो ।

वि.सं. १९९७ मा दाजु गङ्गालाल श्रेष्ठलाई भद्रगोल जेलमा भेट्न जाँदा ‘प्रजातन्त्रका निम्ति मैले बालेको दियोलाई प्रज्ज्वलित पार्नू’ भन्नुभएपछि पुष्पलालका लागि त्यही नै राजनीतिक प्रेरणाको स्रोत बनेको थियो ।  उहाँले तत्कालीन जहानियाँ राणा शासनको विरुद्ध दाजु गङ्गालालले उठाएको कदमलाई गन्तव्यमा पु¥याउने अठोट लिनुभयो ।

तत्कालीन प्रजा परिषद्का नेताहरू टङ्कप्रसाद आचार्य, बीपी कोइरालासँगको सहकार्यमा उहाँले राणा शासन विरुद्धको अभियान चलाउनुभएको थियो ।  सोही अभियानको लामो सङ्घर्षपछि मुलुकमा प्रजातन्त्र उदय भएको थियो ।  वि.सं. २००६ सालमा भारतको कलकत्तामै पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गर्नुभयो ।

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा वैचारिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरण भए मात्र पुष्पलालको सपना साकार हुने तर्क गर्नुभयो ।  “गलत विचार र प्रवृत्तिका विरुद्ध कठोर अभियान चलाउनुभएका पुष्पलालप्रति तब सच्चा श्रद्धाञ्जलि हुन्छ, जब हामी लोकतान्त्रिक आचरणमा रूपान्तरण हुन्छौँ,” नेता नेपालले भन्नुभयो ।

“पुष्पलालले नामको पछाडि श्रेष्ठ लेख्दैन थिए, कारण उहाँलाई ‘जात’ हैन नेपाली हुनुमा गर्व थियो, तर आज हामी जातीयता र क्षेत्रीयताले समाज छिन्नभिन्न पार्दैछौँ” नेता नेपालले टिप्पणी गर्दै कम्युनिस्ट आचरणमा सैद्धान्तिक विचलन आएको स्वीकार गर्नुभयो ।  समाजबाट भेदभाव, असमानताको अन्त्य गर्न सके मात्र पुष्पलालको पथमा हिँडेको सार्थकता हुने उहाँको भनाइ छ ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले कम्युनिस्टहरूमा सामाजिक, सांस्कृतिक तथा वैचारिक विचलन आएकाले पुष्पलालको सपना साकार हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।  ‘दलभित्र राजनीतिक स्वतन्त्रता अझै आउन सकेको छैन, कम्युनिस्ट पार्टीमा पनि त्यो छैन” भन्दै उहाँले नेतामुखी शासन प्रणालीले पुष्पलालको पथ विचलित गरिदिएको टिप्पणी गर्नुभयो ।
‘हाम्रो पूर्खा बाँदरका सन्तान थिए, आज हामी आफूलाई सच्चा नेपाली बनाउन सक्छौँ कि सक्दैनौँ ? नेता कार्कीले प्रश्न गर्दै भन्नुभयो, ‘नेपालको कम्युनिस्ट आन्दोलन समाजवादको मूल बाटोबाट विचलित भइसकेको छ, सबै काम अरूले गरिदिनुपर्छ भन्ने प्रवृत्ति हावी भएको छ । ’

नेकपा संयुक्तका नेता गणेश साहले कम्युनिस्टहरू सिद्धान्ततः विचलित भई सत्तामुखी भएको टिप्पणी गर्नुभयो ।  जनताका निम्ति काम गरी समाज बनाउने सिद्धान्तलाई त्यागी आफू केन्द्रित सिद्धान्तबाट कम्युनिस्ट पार्टी प्रभावित भएको उहाँको भनाइ छ ।  पुष्पलालले देखाएको बाटो सत्ता नभएर समाज निर्माण र विकास रहेको भनाइ उहाँको छ ।

आफूलाई पुष्पालालका शिष्य मान्ने लोककृष्ण भट्टराईले पुष्पलालको सपना वाम एकता कायम गरी मुलुकको शोषण, भेदभाव र गरिबीको अन्त्य गर्ने रहे पनि अहिलेका पार्टीले त्यस्तो काम गर्न नसकेको आरोप लगाउनुभयो ।  ‘एकापसमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने सिद्धान्त पुष्पलालको थियो, तर अहिले प्रतिस्पर्धा कामले हैन, नेताको चाकडीमा सीमित भएको छ’, उहाँले टिप्पणी गर्नुभयो ।

स्वर्गीय नेता पुष्पलालले कम्युनिस्ट पार्टी “नेता प्रधान हैन, नीति प्रधान हुनुपर्छ” भन्ने मान्यता राखेर सामाजिक न्यायको आन्दोलन अगाडि बढाउनुभएको थियो ।  “लाखौँलाख झुपडीको एकता वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियता हो, तिनको हकहितको सुरक्षा नै जनवाद हो” भन्ने भावनाकासाथ स्वर्गीय पुष्पलालले अभियान सञ्चालन गर्नुभएको थियो ।  नेता पुष्पलाल श्रेष्ठको स्मरणमा शनिबार विभिन्न ठाउँमा स्मृति सभाको आयोजना हुँदैछ ।  गोरखापत्रबाट