यसरी पुस्तकालय बन्यो हार्डवेयर गोदाम ... कसले दिने ध्यान ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यसरी पुस्तकालय बन्यो हार्डवेयर गोदाम … कसले दिने ध्यान ?



नारायण ढुंगाना , चितवन, २४ भदौ । शिक्षाको ज्योती छर्न भन्दै स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयो भन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर आश्चर्य नमाने हुन्छ । पुर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ ।

हेर्न चहनुहुन्छ भने चितवनको शिक्षित समाज बस्ने भनेर चिनिएको जिल्ला सदरमुकाम भरतपुरमै आउनुभयो भने तपाई देख्न सक्नुहुन्छ ।

भरतपुरको चौविसकोठीबाट करिव २ किलोमिटर पश्चिम क्षेत्र लंकु धर्मचोकमा स्थापना भएको ‘ज्ञान ज्योती पुस्तकालय’ यसरी हार्डवेयर गोदाममा परिणत भएको हो । आज देशैभरी शिक्षा दिवस मनाईरहँदा चितवनको यो पुस्तकालय भने हार्डवेयरमा परिणत भएको देखिनु विडम्वना हो ।

नाम नै ज्ञानको ज्योती फैलाउने भनेर राखिएको ‘ज्ञान ज्योती पुस्तकालय’मा अहिले रड सिमेन्ट, घर निर्माणका लागि चाहिने डोरी तथा अन्य सामाग्रीहरु राखिएको छ । सँगै जोडिएको धर्मचोक हार्डवेयरले यसरी सामान राख्ने गोदाम बनाएको हो ।

’पुस्तकालय नचलेकाले जिर्ण भयो, चुहिने हुन लागेकाले आफुले ट्रष्ट हालेर सदुपयोग गरी गोदाम बनाएको हार्डवेयरका सञ्चालक भिम खरेल बताउनुहुन्छ ।

तीन कोठा मध्ये पहिलो कोठामा सिमेन्ट, दोस्रोमा डोरी लगायतका अन्य सामाग्री र तेस्रोमा पुस्तकालयका जिर्ण २ वटा दराज र फर्निचर तथा अन्य हार्डवेयरका केही सामाग्रीहरु छन् । केही सामाग्रीहरु निकालिएको छ । प्यासेज र आँगन तथा सिंडी रडले भरिएको छ ।

पछिल्लो कोठाको एउटा दराज भित्र पुराना पत्रपत्रिका किराले खाएको अबस्थामा देखियो भने अर्काे दराज ताला लगाएर जिर्ण बनेकाले पुस्तकहरु छन् या के छ कसैलाई थाहा छैन ।

खरेलका अनुसार मौखिक सहमतीमा हार्डवेयरले भाडामा लिएको छ । करिव एक दशकदेखि पुस्तकालय नचलेको उहाँले जानकारी दिनुभयो ।
नवज्योती युवा क्लवले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट १२ धुर जग्गा र भवन निर्माण गरिएको थियो ।

ज्ञानज्योती पुस्तकालयका उपाध्यक्ष उपेन्द्र सापकोटाका अनुसार २०३८ सालमा पुस्तकालय बनेको हो । २०४५÷४६ सालसम्म राम्रै चल्यो । त्यसपछि नयाँ समिति फेरिएर २०६३ सालसम्म पनि चलेकै थियो । अनि पुस्तकालयको बेहाल भयो ।

‘कोही कता, कोही विदेश गए, अनि बन्द नै भयो, त्यसपछि सिमेन्ट दोकानवालाले राखेको छ, उपाध्यक्ष सापकोटा भन्नुहुन्छ, अब पुन दर्ता गरेर चलाउने तयारीमा लागेका छौं ।’

पुस्तकालयका अध्यक्ष ईश्वरी कँडेल हुनुहुन्छ । उहाँ गाउँमै निक्रिय मान्छे भनेर चिनिनुभएको छ । पुस्तकालयका विषयमा कुरा गर्न खोज्दा उहाँको फोन उठेन ।

तर गाउँलेहरु पुस्तकालयलाई सिमेन्ट गोदाम बनाईएकोमा दुखि छन् । स्थानिय युवा भोजराज कँडेल गाउँको एउटा शोभाको रुपमा रहेको पुस्तकालय बन्द भएर हार्डवेयर गोदाम हुनु दुखद भएको बताउनुहुन्छ । यसलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन उहाँले माग गर्नुभएको छ ।
शिक्षा दिवसको अबसरमा आज र भोली चितवनमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य पनि उक्त पुस्तकालयको बारेमा अनभिज्ञ हुनुहुन्छ ।
पुस्तकालयको बारेमा प्रश्न राख्दा उहाँले भन्नुभयो, ‘त्यस्तो त थाहा छैन, तर जिल्लाका पुस्तकालयहरु व्यवस्थित भने भएको पाईएको छैन ।’ उहाँले समुदाय कति सचेत छन्, त्यसैमा पुस्तकालय भर पर्ने बताउनुभयो ।

आचार्य शिक्षाको ज्योती छर्न र शैक्षिक सुधारमा पुस्तकालयको भूमिका अहम भएको बताउनुहुन्छ । विद्यालयका विद्यार्थीहरुलाई समेत पुस्तकालयप्रति आकर्षित गराउन सरकारले विभिन्न कार्यक्रम र अनुदान समेत दिएको छ ।

चितवनमा पनि विद्यालयका पुस्तकालयलाई अनुदान दिएको उहाँले बताउनुभयो । चितवनमा रामेश्वर पुस्तकालय, झुवानी सामुदायिक पूतकालय, रत्ननगरको रोटरी लाईब्रेरी, माडीको गर्दी, भरतपुरको दोभान सामुदायिक पुस्तकालय नाम चलेका पुस्तकालय हुन् ।

स्कुलमा अहिले ईन्टरनेट प्रविधि सहितको ईलाईब्रेरी सञ्चालनलाई तिब्रता दिईएका बेला पुस्तकालयको अबस्था भने जिर्ण हुनु दुखद भएको शिक्षाका जानकारहरु बताउँछन् ।