पुटिनलाई अपदस्थ गर्न विद्रोहको तयारी, यस्तो छ मेजर जनरलको खुलासा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुटिनलाई अपदस्थ गर्न विद्रोहको तयारी, यस्तो छ मेजर जनरलको खुलासा



एजेन्सी- युक्रेनको सैनिक गुप्तचर विभाग प्रमुखले रुसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अपदस्थ गर्ने विद्रोहको तयारी सुरु भइसकेको दाबी गरेका छन् । साथै उनले युक्रेन युद्ध यसै वर्षको उत्तरार्धसम्ममा अन्त्य हुने विचार व्यक्त गरेका छन् ।

मेजर जनरल किरिलो वुदानोभले स्काई न्युजलाई भनेका छन्, “यस युद्धमा रुसको पराजय हुनेबारे म आशावादी छु । यस पराजयले अन्तत: पुटिनलाई सत्ताबाट नै हटाउने छ । यसका लागि प्रक्रिया सुरु भइसकेको छ ।”

स्काई न्युजले के पुटिनविरुद्ध विद्रोह नै सुरु हुन लागेको हो भनेर सोधेको प्रश्नको जवाफमा वुदानोभले रुसीहरू यो पथमा लम्किरहेको र यसलाई रोक्न असम्भव रहेको बताएका छन् । वुदानोभको विचार समेटिएको लेख स्काई न्युजले शनिबार प्रकाशित गरेको हो ।

स्काई न्युजकाअनुसार कतै यो प्रोपोगान्ड फैलाउने काम त होइन भनी सोधिँदा वोदोनोभले यो आफ्नो कर्तव्य र काम नै भएको र आफूले नगरे यो कसले गर्ने त भनेर प्रतिप्रश्न गरेका छन् ।

यसैबीच नेटोको प्रतिरक्षा लगानी विभागका पूर्व उपसहायक महासचिव गोर्डोन बी. डेभिस जुनियरले भने स्काई न्युजलाई दिइएको एक अन्तर्वार्तामा आफूलाई रुसमा पुटिनविरुद्ध विद्रोह होला जस्तो नलागेको बताएका छन् ।

उनले यस्तो सम्भाव्यताको विश्वसनियताबारे कुरा गर्नु कठिन भएको र आफूले अहिल्यै यस्ता हल्लालाई ठूलो महत्व नदिने पनि बताएका छन् । तर मेजर जनरल वुदानोभले रुसले युक्रेन माथि आक्रमण गर्छ नै भनेर गरेको भविष्यवाणी सत्य सावित भएको थियो ।

साथै वुदानोभले पुटिन अहिले विरामी अवस्थामा हुनाको साथै उनको मानसिक र शारीरिक अवस्था निकै नाजुक रहेको पनि बताएका छन् । -याहु न्युजबाट