कतार सङ्कट र नेपालीहरुलाई परेका प्रत्यक्ष प्रभाव  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कतार सङ्कट र नेपालीहरुलाई परेका प्रत्यक्ष प्रभाव 



मध्यपुर्वमा मडारिएको कुटनैतिक अविश्वासको कालो बादलले कतारलाई सर्लक्कै ढाकेको छ ।त्यसको प्रभाव यहाँ कार्यरत नेपालीहरुलाई नपरेको कुरा बाहिर आएपनि कसरी साना साना कुरा हरुको कारण नेपाली हरू प्रभावित बनेका छन् भनेर नेपाल सरकार लगायत सर्वसाधारण जनताहरुले बुझ्नुपर्ने बेला आएको छ ।

कतारका सुपर मार्केटहरू हरियो तरकारी विहीन भएका छन् । सरकारद्वारा जतिसुकै खाद्यान्न उपलब्ध भएको घोषणा भईरहेपनि बजारको अवस्था बाहिर आए जस्तो छैन ।ठुला सुपरमार्केट हरुमा खाद्यान्नको मूल्य स्थिर भए पनि बकला “साना पसल” हरुमा मूल्य आकाशीएको छ ।त्यसरी बढेको बजार मूल्य बाट सबैभन्दा बढी नेपाली मजदुर हरू प्रभावित बनेका छन् किनकि अधिकांश नेपाली मजदुर हरू दैनिक आवश्यकताका सामान हरुको लागी साना पसल हरुमै निर्भर छन् ।

तिन या चार रियाल प्रति किलो पाइने गोलभेँडाको मूल्य सुपरमार्केट मै नौ दश रियाल पुगेको छ । एक रियाल प्रतिकालो सेलमा लाग्ने प्याज को मूल्य पाँच रियाल पुगेको छ त्यो पनि भनेजति किन्न पाइएको छैन । दश रियालको भटमासको तेल १४/१५ रियाल भएको छ सुपरमार्केट मै, बाहिर साना पसल जहाँ सरकारी अनुगमन हुने सम्भावना कम रहन्छ त्यहाँ सामानको भाउ यसको दुगुना हाराहारी छ ।

जुन २४ तारीक ईदको पूर्व सन्ध्यामा कतारका ठुला तिन वटा खाद्यान्न रिटेलर हरू लुलु सेन्टर,क्वालीटी र सफारी हाईपर मार्केट हरुमा गोलभेँडा उपलब्ध थिएन । कहिले सम्म उपलब्ध हुन सक्छ कुनै जानकारी पनि थिएन । अधिकांश नेपाली दाजुभाइ हरू खसीको मासुको खोजीमा थिए तर यी तिन वटै आउटलेटमा खसीको मासु उपलब्ध थिएन ! दिउसो करिब दुई बजे सफारी हाईपर मार्केट पुग्दा तिन किलो मटन बाकी थियो जसको मूल्य ३५ रियाल किलो तोकिएको थियो यो साविक बजार मूल्य भन्दा दुई गुणा बढी हो । माछाको उपलब्धता यथावत छ ।

यस्तै तरकारी मण्डीमा तानातान र खोसाखोसको अवस्था छ भने ज्युदो पशु बजारको अवस्था दयनिय छ । ज्युदा खसी हरुको मूल्य स्वाट्टै ओरालो लागेको छ । अगील्ला वर्ष हरुमा आठ सय रियालमा बिक्ने खसी यो पटक पाँच सय मै बेच्नु पर्‍यो ! उपलब्धता पनि धेरै ! साउदी बोर्डर पार गरेर चरिचरन पुर्याईएका खसी बोका हरू ट्रकमा लादेर कतार फर्काईयो र सिधै हाट बजार पुर्याईयो । ती खसी हरुको लागी दाना उपलब्ध छैन । दाना भए पनि खुवाएर पालिराख्दा हुने खर्च धान्न व्यापारी लाई गाह्रो छ तसर्थ सस्तो मै खसी हरू विक्री भइरहेका छन् । मण्डीको प्रवेश द्वारमा ट्रक का ट्रक हरियो घाँस उपलब्ध हुन्थ्यो पहिला पहिला अहिले मण्डी सुनसान छ । पसले हरू ग्राहक तान्न र घटाघटमा खसी बेच्न तछाड मछाड गरिरहेका छन् किनकि जति बढी समय पाल्नु पर्‍यो उनीहरू लाई त्यति घाटा भइरहेको छ ।

सुख्खा तरकारी तर्फ लसुनको मूल्य २४ रियाल किलो बाट ३६ रियाल पुगेको छ । अदुवा त्यसरीनै आकासीएको छ । सुपरमार्केट हरुमा । साना पसल हरुमा यी सामान उपलब्ध नै छैनन् । दुग्ध पदार्थ आपूर्तिको लगभग ६० प्रतिशत हिस्सा ओगटेको अलमराई कम्पनीका उत्पादन हरू आउन छाडेपनि अरू ब्राण्ड हरुले दुग्ध जन्य पदार्थ आपूर्ति गरिरहेछन । साना पसल हरुमा उपलव्धता घटेको छ तर भाउ बढेको छैन। पेप्सी लगायत पेय पदार्थ हरुको मूल्य स्थिर छ त्यस्तै “खबुस” को उपलब्धता र मूल्य पनि साविक कै छ ।

पेट्रोलियम पदार्थको सबैभन्दा ठुलो रिटेलर “वुकुद” ले डिजलको सप्लाई कटौती गरेको छ । चार दिनको लागी दश हजार लिटर डिजल दिँदै आएको अवुनखला स्थित लगभग दुई हजार नेपाली मजदुर रहेको यौटा कम्पनीको आधार शिविर लाई हिजो जम्मा छ हजार लिटर डिजल उपलब्ध गराईयो फलस्वरुप नेपाली हरू बस्ने उक्त क्याम्पमा लोड सेडिङ सुरु भएको छ । डिजल आपूर्ति कहिले सुचारु हुन्छ यकीन भएन ।

ठुलो टाटा गाडीमा दैनिक ३०० लिटर तेल खर्च गर्ने एक जना धादिङका ड्राईभरले हिजो पेट्रोल स्टेसनबाट जम्मा १२० लिटर मात्रै डिजल पाए । पहिलो ट्रिपमा तेल सकियो र गाडी थन्कीयो । उनले ड्युटीमा छोडेका मजदुर हरू उठाउन जानुनै पर्छ नत्र मजदुरहरू साइट (कार्यक्षेत्र) मै अलपत्र पर्नेछन । त्यसै कारण तेलको जोहो गर्न उनका क्याम्प बोस दौडधुप गरिरहेका थिए । संसारकै ठुलो प्राकृतिक ग्यासको उत्पादक कतार डिजल लगायत अन्य पेट्रोकेमीकल पदार्थको लागी भने छिमेकी मुलुक हरू माथि निर्भर छ ।

साउदी अरब या दुबई तिर मुख्य अफिस रही कतारमा काम गरिरहेका कम्पनी हरू ठप्प छन् । त्यहाँ काम गर्ने नेपाली हरू तलब पाइने की नपाईने भन्ने दुविधामा छन् । निर्माण सामाग्री सप्लाई गर्ने कम्पनीको लजिष्टीक (राखन धरन) डिपार्टमेन्ट सम्हालिरहेका एक जना चितवनका युवा भन्छन् यहाँ त जागिर नै धरापमा परिसक्यो । मासिक एक लाख नेपाली रुपैयाँ तलब बुझ्ने उनलाई अव कम्पनीले तलब दिन्छ या दिदैन अथवा कति दिन्छ भन्ने चिन्ता छ किनकि बाहिर बाट कुनै सामान आएको छैन । प्रचेजिङ नभएपछी लजिष्टीक डिपार्टमेन्ट सबैभन्दा पहिला ठप्प हुन्छ ।

कम्पनीले उपलब्ध गराएको फ्लाई दुबई एयरलाईन्स को टिकट लिएर नेपाल गएका मजदुर हरू उतै अलपत्र परेका छन् । कतार एयरलाईन्स लगायत अन्य कम्पनी हरुको टिकटको भाउ आकाशीएको छ । बुबाको देहान्त लगत्तै ईमर्जेन्सीमा नेपाल फर्केका एक जना बुटवलका युवाले भर्खरै १६८० कतारी रियाल खर्च गरेर एकतर्फी टिकट किनेको देखियो । साविकमा बजेट एयरलाईन्स हरुले १ हजार सम्ममा दुईतर्फी टिकट उपलब्ध गराउदै आएका थिए । यसरी आकाशीएको टिकट मूल्यको मार पनि मजदुर माथि नै परेको छ । फ्लाई दुबई,ईत्तीहाद र एयर अरेवियाको टिकटमा नेपाल गएका हरू फर्कदा ४० देखी ५० हजार सम्म तिरेर टिकट काटेर फर्केका छन् यसबाट मजदुरहरू नराम्रो सँग प्रभावित भएको देखिएको छ ।

सूचना संप्रेषणमा कडाई रहेको देशमा नाकाबन्दी र यसबाट परेको असर बुझ्नको लागी नेपाली दूतावासले समेत कतै क्याम्पिङ अथवा भिजीट गरेको छैन । दुई चार जना नेपाली व्यवसायी हरुलाई दूतावासमा बोलाएर बजारको अवस्थाको बारेमा छलफल गर्ने र नेपालीहरू समस्यामा नरहेको विज्ञप्ति निकाल्ने पहिलो चरणको काम बाहेक दूतावासको उपस्थिति कतै देखिँदैन ।

हरियो तरकारीको मूल्य बढ्यो भनेर कुनै पत्रिकाले लेख्न सकेका छैनन् अथवा तरकारी उपलब्ध छैन भनेर सम्म। कसैले छाप्न सकेका छैनन् ।जनता हरू कतार सरकारका काम हरुको समर्थनमा सामाजिक सञ्जालमा र आफ्ना गाडी लगायतका स्थानमा कतारी राजाको फोटो टाँसेर समर्थन जनाईरहेका छन् । नाकाबन्दी हटाउन मुख्य चार देश हरुले पठाएको १३ बुँदे प्रस्ताव कतार सरकारले ठाडै खारेज गरिदिएको छ जसमा अल जजीरा टेलिभिजन बन्द गरिनु पर्ने प्रस्ताव पनि समावेश थियो ।

यसरी नाकाबन्दी लम्विदै गएमा ठुला रोजगारदाता कम्पनी हरुले आफ्नो घटेको आम्दानी र खर्च समायोजन गर्नको लागी पनि कर्मचारी कटौति सुरु गर्नेछन । त्यसरी कर्मचारी कटौती गर्दा सबैभन्दा पहिला आउट सोर्स अथवा थर्ड पार्टी बाट लिईएका कर्मचारी हरू कटौतिमा पर्नेछन । त्यसको सोझो मारमा नेपाली मजदुर हरू पर्ने निश्चित प्राय छ किनकि ९९ प्रतिशत नेपाली मजदुर हरू आउट सोर्स कम्पनी मार्फत मुख्य रोजगार दाताको लागी काम गर्छन् त्यसरी काम गर्नु लाई “सप्लाई” भनिन्छ । सप्लाई कम्पनी हरू श्रम एजेण्ट मात्र हुन उनीहरू सँग आफ्नै निजी काम हुँदैन । अनिहरुले जसको लागी म्यान पावर सप्लाई गरेका छन् त्यस्तो म्यानपावर लिने कम्पनीले सम्झौता एक पक्षीय रूपमा जुनसुकै बेला पनि तोड्न सक्छ अथवा कटौती गर्न सक्छ। जस्तो की २० जना सफाई कर्मचारी सप्लाई कम्पनी सँग लिइरहेको कुनै बैङ्क ले अचानक दश जना मात्र बोलाएर दश जना कटौती गर्‍यो भने त्यसरी कटौतीमा पर्ने हरू सोझै बेरोजगार हुने सम्भावना रहन्छ । सप्लाई कम्पनीले पाउने अर्को ठेक्का कुरेर बस्ने सिवाय मजदुर सँग अरू विकल्प हुँदैन ।

यी र यस्तै अन्य विविध कारणहरुले मध्यपुर्व सङ्कटबाट नेपालीहरू प्रत्यक्ष प्रभावित भएका छन् । हालांकी तत्कालै युद्ध हुने जस्तो कुनै सम्भावना नरहेको कारण मानवीय क्षति हुने कुनै सम्भावना भने छैन ।

सूचनाको हक सम्बन्धी कतार सरकारको कानुनलाई मध्येनजर राख्दै यो अनुभव आदान प्रदान गर्नुभएका पंक्तिकारको परिचय गोप्य राखिएको छ।

अनुमति बिना कुनै पनि अनलाईन वा सामाजिक संजालमा उक्त लेख साभार गरीए स्वयम् जिम्बेबारी हुनु पर्ने छ  ।