समय बदलियो: जहाँ पुग्दैनन कवि त्यहाँ पुगे रवि « Himal Post | Online News Revolution
Logo

समय बदलियो: जहाँ पुग्दैनन कवि त्यहाँ पुगे रवि



-कर्ण अधिकारी,काठमाडौँ।

समय बलवान छ भन्थे हो रैछ। जसरी विगतका दिनमा नेपालको हरेक परिवर्तनहरूमा राजनीति दलहरूको झण्डा बोकेर सडकमा आफ्नो जीवनको बलिदानी दिने नेपाली नागरिकहरू आजको दिनमा एक मामुली अर्थात् राष्ट्रको चौथो अङ्गको ट्याग भिरेर नेपाली जनताको हकहितलाई सुनिश्चित गर्नका निमित्त बुलन्द आवाजमा गाउँ बस्ती कुना कन्दराहरूमा गुञ्जायमान भई नेपाल सरकारको पगरी गुथेर बसेका नेतादेखि भ्रष्ट्राचारी, दुराचारीहरूको विरुद्धमा आवाज उठाई आवाज बन्द भएको नेपाली नागरिकको आवाज बन्ने, आँखा नदेख्नेहरूको आँखाको नानी बनी सहारा दिँदै जनताको मुटुको धड्कन बनी दिने पत्रकार रवि लामिछानेको रिहाइको निमित्त नेपाली झन्डा बोकी चितवनको ३०/३५ डिग्रीको तापक्रममा भोक प्यास नभनी लाखौको सङ्ख्यामा उपस्थित भएका जनता देख्दा हामी सहजै अनुमान गर्न सक्छौ देशमा अब जनता बुझ्ने भई सकेछन्।

राजनीति दलका झण्डा बोक्ने र पार्टीको गुणगान गाउनेहरू पार्टी र नेताहरूप्रति विक्षिप्त भएको प्रस्ट देखिन्छ। लाखौको सङ्ख्या किन एक व्यक्तिका निमित्त जनता सडकमा उत्रिए भन्ने बारे अझै पनि यो देशमा राजनीतिक पार्टीको खोल ओढेर पार्टीको झण्डा बोक्ने नेता भनाउँदाहरूले बुझ्न जरुरी छ। देशमा जसले जनताको भलाइको लागि काम गर्छ त्यही नै महान कहलिने छ यसको ज्वलन्त उदाहरण हो रवि लामिछाने ।

देशमा दुई तिहाइको नेकपाको सरकार छ। नेपाली जनताको हक अधिकार माथि अङ्कुश लगाउने कुरामा तल्लीन भईरहेको अवस्थामा माउन्टेन टेलिभिजनमा काम गर्ने पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेलाई दोषी देखाउँदै न्युज २४ को कार्यालयबाटै सिधा कुरा जनतासँगको कार्यक्रम सञ्चालन हुनु पूर्व पक्रिएर लैजानुलाई त्यति सहज मान्न सकिँदैन । रविले विगतका दिन देखिनै दु:ख, पीडा र अन्यायमा परेका जनताको आवाजलाई बुलन्द बनाई न्याय दिलाउँदै आएको कार्यक्रम सिधाकुरा जनतासँग लोकप्रियताको चरम उत्कर्षमा पुगेसँगै उक्त कार्यक्रमबाट विक्षिप्त बनेका भ्रष्ट्राचारी, राष्ट्रघाती, व्यभिचारी, दुराचारी, बलात्कारीहरूको घण्टी बजेसँगै कसरी यसलाई पाखा लगाउने र साइजमा ल्याउने भन्ने ग्राईण्ड डिजाइन मात्र हो की भन्न सकिन्छ।

पुडासैनी आत्महत्या प्रकरणमा को दोषी र को निर्दोष भन्ने कुरा सम्मानित अदालतले छुट्ट्याउला तर वर्तमान अवस्थामा जनताको बोली बोल्ने रविलाई धरापमा पार्नु चाहिँ दुखदायी कुरा हो । रविलाई ५ लाख धरौटीमा सम्मानित अदालतले तारिकमा रिहाइ गरे पनि आत्महत्या प्रकरणको नतिजा आउन अझै बाँकी नै छ। नेपाल सरकारलाई नै चुनौती दिई रहेका रविको छविलाई धमिलाउन खोज्ने ठुला माछाहरूलाई नेपाली जनताले राम्रोसँग धोई पखाली तारेर खानेछन्।

२००७ साल, २०१७ साल, २०३६ साल २०४६ साल, २०६२/६३ सालको जनआन्दोलनमा जीवनको आहुति दिएका जनताले आज रवि जस्तो नेपाली नागरिक खोजी रहेको छ। हामी सुन्दै आएको कुरा हो जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि तर आजको वर्तमान समयमा जहाँ अन्यायमा जनताछन त्यहाँ न्याय दिन पुग्छन् रवि भन्ने सुन्न सक्छौ।पुडासैनी आत्म हत्या प्रकरणमा दोषी नउम्कियोस र निर्दोष नफसोस भन्ने कुरा मात्र हो। जसले गल्ती गर्छ त्यसले सजाय पाउन पर्छ भन्ने मान्यता हो। एउटा राष्ट्रको चौथो अङ्ग पत्रकार रविलाई भगवान् बनाउने यही नेपाल सरकार होइन ? पत्रकारको काम देखि जलन भएकाहरूले आफूले गरेर देखाउनुको साट्टोमा पत्रकारको आवाज नै बन्द गरी कल कोठरीमा जाक्न खोज्ने कस्तो हो नीति ?

यदि नेपाल सरकारले राम्रो काम गरेको भए रवि लामिछानेले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासँगको कार्यक्रमको आँगनमा जनता धाउन पर्ने थिएन।यो माहौल सृजना हुनुमा नेपाल सरकार नै जिम्मेवार छ।देशमा दिनानु दिन बेरोजगारी बढी रहेको छ। नेकपाको दुई तिहाइको सरकार कानमा तेल हाली बसेको छ।सम्माननीय प्रम ओली उपचारका निमित्त विदेश भ्रमणमा लिप्त हुनु हुन्छ।दूर दराजका जनता सिटामोल समेत नपाई मरी रहेका छन्।हत्या बलात्कार र भ्रष्ट्राचारीहरूको बिगबिगी प्रचुर मात्रामा बढ्दै छ।जनतालाई कहीँ कतैबाट न्याय छैन।जुन आशा र भरोसा लिएर नेकपालाई मतदान गरेका जनताहरूको मन बिछिप्त बनेको छ।सरकार जनता प्रति उत्तरदायी छैन।प्रतिपक्षमा रहेको काँग्रेसको पनि प्रभावकारी भूमिका देख्न सकिदैन्।

नेपाली जनताको आशा र भरोसा कसरी व्यक्तिमा सीमित भयो भन्ने बारे नेपालका राजनीति दल र तिनका नेताहरूले मनन गर्न सकेनन् भने एक दिन डाईनोसर लोप भए झैँ लोप हुने छन् नेपालका पार्टीहरू।जनता नै जनार्दन हुन भन्ने कुराको ख्याल हुन जरुरी छ।अन्त्यमा रवि लामिछाने आफै फसे वा अरूले नै फसाए भन्ने बारे समयको पर्खाइमा रहनु जरुरी छ।