राहुल गान्धीलाई जेल सजाय भएपछि भारतको राजनीतिमा तरङ्ग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राहुल गान्धीलाई जेल सजाय भएपछि भारतको राजनीतिमा तरङ्ग



काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय भएपछि भारतको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । नेताहरूले न्यायालयसम्म नरेन्द्र मोदी सरकारको प्रभाव रहेको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता गान्धी मानहानि मुद्दामा दोषी ठहर भएपछि उनीहरूले यस्तो बताएका हुन् ।

“न्यायापलिका, निर्वाचन आयोग सबै दुरुपयोग भइरहेको छ । यसले हाम्रो लोकतन्त्र खतरामा पुर्‍याउन सक्ने हामीले भन्दै आएका छौँ । सरकारी निकायका अधिकांश निर्णय तथा आदेश प्रभावमा गरिएका हुन्छन्,” राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले अदालतको फैसलापछि मिडियासित भने ।

उनले सरकारविरुद्ध बोल्ने एक मात्र नेता राहुल गान्धी भएको समेत बताए ।

सन् २०१९ मा गान्धीले एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो । दोषी ठहर गर्दै उनलाई दुई वर्षको जेल सजाय तोकिएको छ ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए ।

अदालतको फैसलालगत्तै गान्धीले प्रसंग केही उल्लेख नगरी हिन्दी भाषामा महात्मा गान्धीको भनाइ ट्विट गरेका छन् । सो ट्विटको नेपाली अनुवाद यस्तो छ– मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो ईश्वर हो, अहिंसा यसको माध्यम हो । –महात्मा गान्धी