२ करोडको सुन्तला बेच्ने त्यो गाउँ रैनादेवी छहरा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

२ करोडको सुन्तला बेच्ने त्यो गाउँ रैनादेवी छहरा



काठमाडौँ- रैनादेवी छहरा–४ सुन्तलावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका छन् ।

उनको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेका थिए । सिजन ढिला भइसक्यो । अझै पनि बोटमै सुन्तला रहिरहे अर्को वर्ष फल कम लाग्ला कि भन्ने चिन्ताले उनलाई सताएको छ ।

‘अब जति भाउ आउँछ, पठाउने योजना बनाएको छु,’ उनले भने, ‘यस वर्ष राम्रो उत्पादन भएकाले खुसी छौं ।’ दैनिक ८१० जना खेताला लगाएर सुन्तला टिप्ने काम भइरहेको छ । यस वर्ष झन्डै १० लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेको उनले जानकारी दिए ।

भाउ पनि राम्रो आएको छ । बोटबाटै प्रतिकिलो ७० रुपैयाँमा सुन्तला बिक्री भइरहेको उनले बताए । उनको बगानमा बुटवल, भैरहवा, नारायणगढसम्मका व्यवसायी आउँछन् । यस वर्ष थप १५ रोपनी जग्गामा सुन्तला लगाउने उनको तयारी छ ।

गाउँकै चेतनारायण न्यौपानेलाई पनि सुन्तला बजार पठाउने हतारो छ । नजिकका मुझुङ, पालुङमैनादी र भुवनपोखरीलगायत स्थानमा सुन्तला टिपिसकिए पनि उनको बगैंचामा सकिएको छैन । उनीहरूले सिजनमा सस्तोमै सुन्तला बेचिसके ।

तर अमलावासका किसानले भने अन्तिममा टिप्ने गरेका छन् । भाउ पनि राम्रो पाउने गरेका छन् । सुन्तलावासका घिमिरे र न्यौपाने मात्र होइन, अगुवा कृषक ८० वर्षीय यमनाथ कोइराला गाउँभरिका सबैले सुन्तला बिक्री गरेर मनग्गे आम्दानी गरेको देख्दा कम्ता खुसी छैनन् ।

किनभने गाउँका सबैको बगान देख्ने उनको सपना ४० वर्षपछि पूरा भएको छ । गाउँका सबै ३० घरपरिवारले साथ दिएकाले सपना पूरा भएको उनको भनाइ छ । ‘सबैका घरमा सुन्तलाका बगान देख्दा मलाई जोस बढेर आउँछ,’ उनले भने, ‘सबैका घरमा आम्दानी बढेको छ ।’

वर्षको बढीमा दुई महिना दुःख गरेर किसानले ३ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाएका छन् । अहिले पनि सुन्तलाका बिरुवा बिक्री गरेर कोइरालाले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्छन् । सुन्तला बेच्दा त्यसभन्दा बढी कमाइ हुने गरेको उनका छोरा विष्णुप्रसाद कोइरालाले बताए ।

सुन्तलालगायत फलफूल बिक्री गरेर गाउँमा वार्षिक २ करोडभन्दा बढी नगद भित्रिन्छ । गाउँकै भोजराज घिमिरेले चार सयभन्दा बढी सुन्तलाका बोटबाट यस वर्ष मात्र १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरे ।
कान्तिपुरमा खबर छ