चुनावमा होमियो राजपा, साइकल चुनाव चिन्ह - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चुनावमा होमियो राजपा, साइकल चुनाव चिन्ह



९ भदौ, काठमाडौँ ।

राष्ट्रिय जनता पार्टी (राजपा) साइकल चुनाव चिह्न लिएर चुनावमा होमिने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले केही माग सम्बोधन गरेको र राजनीतिक परिस्थिति पनि फेरिएकाले चुनावमा जाने निर्णय गरेको बताए ।

राजपाले छाता चुनाव चिन्ह मागेको थियो । तर निर्वाचन आयोगले कानुनी बाधा रहेको भन्दै छाता दिन नसकिने बरु राजपामा आबद्ध दलहरुमध्ये कुनै एक पार्टीको चुनाव चिन्ह प्रदान गर्न सकिने बताएको थियो । जसअनुसार राजपाले रामसपाको चुनाव चिन्ह साइकल रोजेको हो ।

राजपा अध्यक्षमण्डलको बैठकले तेस्रो चरणको स्थानीय तहदेखि केन्द्रीय सदस्यसम्म पार्टीको उपस्थिति गराउन जनताको बिच -चुनाव)मा जाने निर्णय गरेको छ ।

संविधान संशोधन विधेयक असफल भएपछि भावी रणनीति तय गर्न राजपाले बैठक बोलाएको थियो । बैठकले संशोधन विधेयकलाई षड्यन्त्रपूवर्क असफल बनाएको ठहर समेत गरेको छ । ‘एमालेले संविधान संशोधन विपक्षमा रही आफ्नो नस्लीय चरित्र, अहंकारवादी सोच, राष्ट्रिय एकता तथा मधेस विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ,’ राजपाले भनेको छ । साथै संशोधनको पक्षमा बन्दै गएको माहोललाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको बताएको छ ।

संशोधन असफल भएको विरोधमा ९ देखि २१ गतेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

राजपाले प्रदेश २ मा असोज २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवार छनोट प्रक्रिया थालेको छ ।