राजपा कार्यकर्ताबीच झडप - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजपा कार्यकर्ताबीच झडप



वीरगन्ज :

पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा झडप भएको छ । पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन शुक्रबार वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडप भएको हो।

वीरगन्जको मेयर उम्मेदवार छनोटका लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर, वीरगन्ज महानगरको मेयर पदका आकांक्षी नेता विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक सुरु नहुदै झडप भएको हो । कार्यकर्ताको झडपले बैठक नै स्थगीत भएको छ।
बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठकमा नाराबाजी गर्दै पुगेका थिए।

बैठक स्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक केही समयका लागि स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले जानकारी दिए। वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचानका निम्ति बैठक बोलाइएको थियो।
राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको छ। उनीहरुका समर्थकले सामाजिक सन्जालमा आ-आफना नेतालाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिकेका छन्।