रजस्वला “सृष्टिकै एक सुनौलो दिन”लाई कालो धब्बाको रुपमा धार्मिक बैधतादिने कालो दिन हो “ऋषि पञ्चमी” « Himal Post | Online News Revolution
Logo

रजस्वला “सृष्टिकै एक सुनौलो दिन”लाई कालो धब्बाको रुपमा धार्मिक बैधतादिने कालो दिन हो “ऋषि पञ्चमी”



इन्द्र आचार्य

हिन्दुत्व अर्थात जिवन वाँच्ने एक निर्देशिका, जसले विभिन्न सस्कारहरुले भरिएको पद्धतीले जीवनको मार्ग देखाएको छ । जसले त्यो समयदेखि अहिलेसम्मका मानवीय व्यवहारको सहजताको उपज संस्कारहरु बनाएको प्रष्ट छ । तर जुन आजसम्म आइपुग्दा केही परिमार्जनको अति जरुरी हुन्छ । तर हामी समाजका बुझक्कड भनाउँदाहरु नै त्यस्ता संस्कारलाई यो आधुनिक विश्वमा समेत जस्ताको तस्तै अनुशरण गरिरहँदा जसले आजको मानवीय समाजका लागि चरम शोषण र पिडा दिने माध्यम बनिरहेका छन् । त्यसको उदाहरण हो महिलाको रजश्वला बार्ने प्रथा ।

महिलाको मासिक धर्म, पन्छिने, राजश्वला, छाउपडी र राजोधर्मका रूपमा हिन्दु संस्कृतिमा प्रचलित परम्परा आज निकै आलोचनाको विषय बनेको छ । जसलाई पूर्व जन्मको कुकर्मको पाप भनेर धार्मिक शास्त्रले भनेको  छ भन्दै अपब्याख्या गर्दै सदियौँ देखि अहिलेका आधुनीक विश्वका हिन्दु नारीलाई चरम यातना दिईदै छ ।
रजश्वला अर्थात फल दिने पुर्व सन्ध्यामा सुनौलो स्वरुप बोकेको फुलको सिर्जना भएको एउटा चक्र जुन सृष्टिका लागि अनुपम छ । यसैलाई पापको रुपमा धार्मिक रुपमा नै बैधानिकता दिन खोजिएको दिन हो । ऋषि पञ्चमी, किनकी यो दिन व्रत बसेर ऋषिहरुको पुजा आराधाना गरे रजस्वला भएका बेला अन्जानवस भएका गल्तिलाई पापको रुपमा बुझाएर मोक्ष प्राप्ति हुन्छ भनेर बुझाइएको दिन हो । रजस्वला पाप हो भन्ने कथा स्तुती बनाएर गलत बुझाइएकाले नै आजपनि रजस्वला भएका नारीलाई छिछिदुरदुर गरिन्छ ।

निश्चय नै शास्त्रहरूमा राजोधर्मका अवस्थामा महिलाहरू अपवित्र हुन्छन् भनिएको छ, तर पाप हो भनिएको कहिकतै पाईदैन । स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक संलग्ता र शारिरीक सुखभोगबाट जोगिन सल्लाह दिइएको छ । यसलाई सामाजिक ब्यबहारमा रुपान्तरण गर्नका लागि मात्र राजोधर्मका चारदिनहरूमा महिला अपवित्र हुने जिकिर गरीएको छ । किनकी त्यो बेलाको पुरुष प्रधान समाजले महिला सहजता हेर्ने पुरुष कमै पाइन्थे । कानुन विधि या वैज्ञानीक आधार थाहा नभएपनि महिलालाई त्यो बेला कष्ट हुन्छ भनेर आरामका लागि त्यो नकारात्मक व्यवस्था राखिएको अनुमान लगाउन सकिन्छ । तर त्यही कुरा अप्रभंशहुँदै लोकको व्यहारमा आउँदा महिलाको रजस्वला पूर्वजन्मको कुकर्मको पाप हो त्यो बेला नारी अछुत हुन्छे भनेर बुझाई जुन अझै विद्यमान छ । जसले अझै हाम्रो समाजलाई गाँजिरहेको छ । आमा, दिदि-बहिनी, छोरी-चेली चरम पिडाको शिकार बनेका छन् ।

महिलाको पाठेघर तथा अण्डासयमा दुई किसिमको हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सीको उत्पादन हुन्छ। ती दुई हार्मोनले संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इडोमेट्रियम) बनाउन र बिगार्न तथा महिनावारी गराउन भूमिका खेलेको हुन्छ। स्वास्थ्य विज्ञानमा पाठेघरको भित्री तहमा हार्मोनहरूको नियन्त्रणमा टुक्रिएका टुक्राहरू योनीमार्ग हुँदै रगत बग्ने प्रक्रिया नै मासिक स्त्रीधर्म हो भनिएको छ । अझ सजिलो बुझ्ने हो भने, गर्भाधान नभएका डिम्बहरु महिलाको योनीवाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो ।

पहिलो पटक हुने महिनावारीलाई (मेनार्की) भनिन्छ भने रोकिएको अवस्थालाई (मेनोपज) भनिन्छ। महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ। यो एक सामान्य प्रक्रिया भए पनि यसमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छ। हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक तत्थ्य हो तर आधुनिक विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्णरूपमा दैनिक श्रमबाट विश्राम लिन सल्लाह दिन्छ । रजोधर्मका वखत विभिन्न संक्रमणहरूको खतरा बढी हुन्छ । मनोविज्ञानले यस वखत महिलाहरूमा बढी मानसिक तनाव हुने भन्ने सिद्ध गरिसकेको छ । शास्त्रहरूपनिले जेजस्तो भाषाशैली प्रयोग गरेपनि महिनाका चारपाँच दिन महिलाले अनिवार्यरूपमा विश्राम गर्नुपर्ने नियम बनाएको हो बन्ने सबैको बुझाई हुनुपर्छ । तर यसलाई ब्यबस्थित र अनिवार्यता दिन त्यो बेलाको उत्तम विकल्व भएकै कारण छुवाछुत’को विकास भएको हुनुपर्छ । जुन अहिलेको दुनियाँका लागि गलत छ ।

समाजमा अनेकौ चलन र रीतिरिवाजहरूको निर्माण सम्वन्धित सामाजिक बनावटले निर्धारण गरेको हुन्छ । रजस्वलाका विषयमा हिन्दूसमाजका आफ्ना मान्यताहरू विकसित भए र समाजले ती परम्पराहरूलाई मान्यता दियो । विश्वको हरेक मानवसमाज आफ्नो परम्परा र मान्यताका कारण एकआपसमा छुट्टिएको छ । यही परम्पराहरू धर्म र संस्कृतिका रूपमा विकसित भएका छन् । यदि हिन्दू समाजले महिला रजस्वला भएका वखतमा शारीरिकश्रम, पूजाआजा, सामान्य दैनिकीबाट जोगीने ब्यबस्था गरेको छ भने निश्चय नै महिलाहरूको कल्याणका लागि नै हुनुपर्छ । तर अब अहिलेका लागि हैन । छाउपडीका नाममा महिलाहरूलाई गोठमा सुविधाहरूबाट बन्चित गरेर राखिने चलनलाई स्वीकृत गर्न वा उचित हो भन्नु पशुसमानको धारणा राख्नु हो । शास्त्रहरूले त्यो बेला हेलमेल नगराउनु छाइछुई नगराउनु भनेको दैनिक कार्यबाट विश्राम लिनु भनेको हो । तर त्यो पछि असामान्य बन्दै गयो ।

रजस्वला भएको वेला पनि महिलाले अझै कठोर परिश्रम गर्नु पर्ने यथार्थ हामीबाट लुकेको छैन । त्यो पुरुष प्रधान समाजमा त महिलालाई गरिएको श्रम शोषण, शारिरीक शोषणको त परिकल्पना नै गर्न सकिन्न । यो पनि महिलाउपर अत्याचार नै हो । त्यही अत्याचारलाई कम गर्न ल्याएको सामाजिक ब्यबस्थाको शास्त्रीय रूप बिग्रंदा छाउपडी जस्तो अमानवीय अन्धविश्वास देखिएको हो । पूजाआजा र दैनिक शारीरिकश्रम तथा स्पर्शबाट जोगिन्दा पुरुषलाई भन्दा महिलाहरूलाई नै बढी फाइदा छ भनेर बनाइएको संस्कार आजभोली आएर बेथितीले भरियो । हिन्दू समुदायहरू भित्रै पनि नेवार समुदायमा ‘गुफावसे’ पछि महिनावारी वार्न पर्दैन । त्यसैले यो अप्रभंश भएको हो । विचलन आएर कुप्रथामा परिणत भएको हो । मेरो विचारमा समय सापेक्ष अब संस्कार बदल्नुपर्छ ।

कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू ‘पन्छिएकै’ कारण परीक्षा दिनबाट वा अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु घरपरिवारले हेलाहोचो, छिछिदुरदुर गर्नु अनुचित हो । तर पश्चिमा छाडायौनवादका आडमा परम्परालाई सत्तेसराप गर्नु पनि उचित छैन । आजभोलिका प्रबुद्ध महिलाहरूले सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ । अर्काको नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच पनि गलत हो । ऋषि पञ्चमी, अर्थात नारीहरुले ऋषीहरुको पूजा अर्चन गर्ने विशेष दिन, यो दिन तीजपछि लगतै आउछ । अस्तिको तिजको वर्त लाई हिजोको एकदिन विटमारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन फेरि त्यहि उत्सर्ग र उत्साहका मनाउने दिन हो ।

आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुदा आफूवाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएका भए ती कुराहरुका लागि पूजा अर्चना गर्ने दिन हो रुपमा लिइन्छ । मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुतउन्मुख रुपमा हेरेपनि श्रृष्टिको प्रथम र पुण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधानगर्नसक्ने क्षमताको प्रमाण अनि नितान्त प्राकृतिक प्रक्रिया हो । हिन्दु नारीहरुले आफ्नो परिवार र शौभाग्यको रक्षार्थ मनाउने एउटा विशेष दिन आजको ऋषि पञ्चमी हो र आजको दिनमा रजस्वाला सम्बन्धी कुनै दोष या जानअन्जानमा वर्षभरि भएका कुनै रजस्वाला भएका वेलाका गल्तीहरुभए मोचन हुने विश्वास छ ।

शास्त्रहरुले पनि रजस्वाला र यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यान-आकर्षित गर्न ऋषी पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ तर यस्लाई कुनै दोष या पाप भन्दा पनि गुण र श्रृष्टिको कारककारुपमा अभिब्यक्तगर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्रार्थमिक्त दिदै, महिलाहरुलाई रजस्वाला अवधिभर आराम र ख्याल गर्ने वातावरण श्रृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीहरुलाई यसरी वर्णन गरेको छ ।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ॥
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
शत्तिकारुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्णकुरामा रहेकी नारीलाई हामी सबैजना हार्दिक नमन टक्राउन चाहन्छौ । अबको परिस्कृत ऋषि पञ्चमीले सबैको कल्याण गरोस् । यही कामना छ ।

कट्टर हिन्दु देवालय जहाँ, रजश्वला भएकी देवीको यौनांग पुजा गरिन्छ {एजेन्सीको सहयोगमा}

हिन्दु धर्ममा महिलाको मासिक धर्म अर्थात् रजश्वलाको समयलाई अपवित्र मानिन्छ र रजश्वला भएको ४ दिनसम्म महिलाहरुलाई अछुतको व्यवहार गरिन्छ । तर रजश्वला भएका महिलालाई छुन पनि नहुने कुरा उल्लेख गरिएको हिन्दु धर्मशास्त्र भएपनि देवीको हकमा भने यो लागु नहुँदो रहेछ । किनकी दुनियामा एउटा मन्दिर यस्तो छ जहाँ रजश्वला भएकी देवीको पुजा गरिन्छ । हो, भारतको आसामको पश्चिम गुवाहटीस्थित निलाचल पर्वतमा रहेको कामाख्या देवीको पीठमा रजश्वला भएकी कामाख्या देवीको पुजा गरिन्छ । मन्दिर भन्ने बित्तिकै देवी देवताका मूर्ति भएको ठाउँ बुझिन्छ । तर कामाख्या देवीको मन्दिर यो भन्दा नितान्त फरक छ । किनकी त्यो पीठमा पूजाका लागि देवीको मूर्ति छैन । छ त केवल देवीको योनी ।

देवीको यो यौनांगस्वरुपको पत्थर सधै ओसिलो भैरहन्छ । त्यसको कारण हो यसमा मूलको पानी बगिरहेको हुन्छ । मन्दिर भित्र रजश्वला भएको विश्वास गरिने कामाख्या देवीको पुजा हुन्छ तर उक्त मन्दिरमा पुजा गर्नका लागि रजश्वला भएका महिलाहरु भने छिर्न पाउँदैनन् । छिर्न त के बाहिर टेक्न पनि मनाही छ । भारतका ५१ शक्तिपीठमध्ये कामाख्या देवीको पीठ एउटा हो ।

भगवान शिवकी पत्नी सतिदेवीको पाठेघर यहीँ ठाउमा खसेको भन्ने हिन्दु पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । यो शक्तिपीठमा वर्षेनी प्रजनन उत्सव पनि हुने गर्छ जसलाई अम्बुवासी पुजा भनिन्छ । यो समयमा देवी वाषिर्क रजश्वला चक्रमा गएको विश्वास गरिन्छ । यस अवसरमा मन्दिर ३ दिन बन्द हुन्छ र धुमधामका साथ चौथो दिन खोलिन्छ । यो समयमा ब्रम्हपुत्र नदी रातो हुने विश्वास गरिन्छ । देवी रजश्वला भएको र उनैको रगतका कारण नदी रातो भएको जनश्रुती छ ।

शक्तिपीठ नजिकैको नदीको रातो पानी भक्तजनलाई वितरण गरिन्छ । देवीको रजश्वलाको रगत मिसिएको उक्त पानीलाई निकै पवित्र मानेर मानिसहरुले स्नान तथा सेवन गर्दछन् ।

तस्वीर :- विभिन्न वबबाट संकलित