राजस्वका कर्मचारी असुल्छन् रकम ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजस्वका कर्मचारी असुल्छन् रकम !



बुटवल, ३० भदौ । राजश्व चुहावट नियन्त्रणको वहानामा राजश्व अनुसन्धान कार्यालयका कर्मचारीहरूले व्यापारीहरूबाट रकम असुलेको खुलेको छ । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका कर्मचारीहरूले पदको दुरूपयोग गरी नवलपरासीका विभिन्न क्षेत्रका व्यापारीहरूसँगबाट रकम असुलेको खुलेको हो । उनीहरूले व्यापारीसँग रकम असुली गरेकोबारे व्यापारीहरूले भने कुरा खोल्न चाहँदैनन् ।

बुटवलको कार्यालयमा कार्यरत कर्मचारी खेमराज थापा, कृष्ण पन्थी, विनोद अधिकारी लगायतले व्यापारीहरूलाई फोन गरी रकम माग गरेको खुलेको छ ।
थापाको मोबाइलबाट फोन गरेर रकमको बार्गेनिङ गर्ने र राजस्व अनुसन्धानको नाममा रकम लिने गरेको श्रोतले बताएको छ । उनीहरूले कमजोरी देखा परेका स्थानमा मिलाउन सकिन्छ भनेर कार्बाही गर्नुको सट्टा अवैध रूपमा रकम लिने गरेको व्यापारीहरू बताउँछन् ।

‘अनुसन्धानको नाममा तान्ने र जरिवाना धेरै दिनुपर्ने देखाएर व्यक्तिगत रूपमा रकम लिएर मिलाउन खोज्छन्’, एक व्यापारीले भने– मलाई लाखौं जरिवाना तिर्नुपर्छ भनेर कार्यालयमा भनियो, अनि खुसुक्क मिलाउन पनि सकिन्छ भनेर बाहिरै रकम मागियो ।’
ती कर्मचारीहरूले खाद्यान्नसँग सम्बन्धी करोबार गर्ने व्यापारी, उद्योग, फर्म, डिलर, सप्लायर्स र तिनका सामग्री बोक्ने सवारी साधनमा अनुगमन गर्ने गरेका छन् ।

पछिल्लो समय आफ्नो कार्य क्षेत्र रूपन्देही कपिलवस्तु र नवलपरासी लगायतका व्यापारी क्षेत्रका, उद्योग, फर्म, सप्लायर्स, डिलरलगायतका क्षेत्रमा राजश्व अनुसन्धान टोलीले अनुगमन बढाएको छ ।
यसबारे बुटवलस्थित पश्चिमान्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयका प्रमुख नरेन्द्र प्रकाश पाण्डेले कार्यालयका कर्मचारीबाट यस्तो भएको पाइएमा कारवाही गर्ने बताए । उनले कुनै पनि बहानामा व्यक्तिलाई रकम नदिन आग्रह पनि गरे ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालले कुनै पनि कर्मचारीले गलत तरिकाले पैसा असुलेको प्रमाणित भएमा कारवाही गरिने बताए ।
राजश्व अनुसन्धान पश्चिमान्चल क्षेत्रीय कार्यालय बुटवलसहित मातहत नवलपरासी रूपन्देही र कपिलवस्तुमा चेक पोष्ट गरी कुल ५५ जना कर्मचारीहरू रहेका छन् ।

विभागअन्तर्गत चार वटा क्षेत्रीय इकाई कार्यालयहरू (पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको पथलैया, पश्चिमाञ्चलको बुटवल र मध्य तथा सुदूर पश्चिमाञ्चलको कोहलपुर) रहेका छन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत तोकिएका कार्यहरू सम्पन्न गर्ने जिम्मेवारी यस विभागलाई सुम्पिएको छ ।

विभाग र अन्तर्गतका पदाधिकारीहरूलाई नेपाल सरकारबाट भन्सार ऐन, २०६४, मूल्य अभिवद्धि कर ऐन, २०५२ तथा अन्तःशुल्क ऐन, २०५८ अनुरूप भन्सार अधिकृत, कर अधिकृत र अन्तःशुल्क अधिकृतको समेत अधिकार प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको छ । यस विभागलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार जुनसुकै निकाय र विषयका विज्ञ–विशेषज्ञ तथा कर्मचारीहरू परिचालन गर्न सक्ने अधिकार पनि रहेको छ ।

प्रारम्भमा कर राजस्व चुहावटको अनुसन्धान, तहकिकात र नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस विभागले आ.ब. २०६५÷६६ देखि गैरकर राजस्वको समेत अनुसन्धान, तहकिकात र कारवाही गर्ने जिम्मेवारी पाएको छ । त्यसैगरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत विदेशी विनिमयको अपचलनको रोकथाम तथा नियन्त्रणको अनुसन्धान सम्बन्धी कार्य पनि यस विभागको कार्यक्षेत्र अन्तर्गत तोकिएको छ ।