भारतीय राजदूतलाई देश निकाला गर्दै पाकिस्तान « Himal Post | Online News Revolution
Logo

भारतीय राजदूतलाई देश निकाला गर्दै पाकिस्तान



इस्लामावाद– भारतले कश्मीरमा चालेको कदमलाई मध्यनजर गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने घोषणा गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने र भारतसँग हुने द्विपक्षीय व्यापार पनि स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले भारतको राजधानी नयाँ दिल्लीमा रहेका पाकिस्तानी राजदूतलाई फिर्ता बोलाउने र राजधानी इस्लामावादमा रहेका भारतीय राजदूतलाई पनि देश निकाला गर्ने बैठकको निर्णय छ ।

प्रधानमन्त्री इमरान खानको अग्रसरतामा बसेको बैठकले दुई मुलुकबीचका सम्बन्धबारे पुनर्विचार गरिने र कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने भारतको कदमबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउने निर्णय समेत गरेको छ । त्यसबाहेक बैठकले कश्मीरी जनताप्रति ऐक्यबद्धता जनाउन आगामी १४ अगष्टमा स्वतन्त्रता दिवस मनाइने निर्णय गरेको छ ।

भारतको रंगभेदी र मानवअधिकार विरोधी सत्तालाई उदाङ्गो पार्नका लागि आफ्नो मुलुकका सबै कूटनीतिक संयन्त्रलाई परिचालन गरिने उक्त बैठकको निर्णय छ । त्यस्तै, प्रधानमन्त्री खानले पाकिस्तानी सुरक्षा बललाई सतर्क रहन समेत निर्देशन दिएका छन् ।

गत सोमबार भारतले संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यका मान्यता खारेज गरेपछि भारत र पाकिस्तानबीच तीब्र विवाद चर्किएको छ । भारत र पाकिस्तान दुबै मुलुकले कश्मीरमा सार्वभौमिकता दाबी गर्दै आएका छन् ।