राजेन्द्र पाण्डेले राजीनामा नदिने, पहिले भएको सहमति नमान्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजेन्द्र पाण्डेले राजीनामा नदिने, पहिले भएको सहमति नमान्ने



पदबाट राजीनामा दिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ब्याक भएका छन् । उनले तत्काल राजीनामा नदिने भएका छन्।

नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले तत्काल राजीनामा नदिने निश्कर्ष निकालेको हो।

“तत्काल मुख्यमन्त्रीबाट राजीनामा आउँदैन,” संसदीय दलको बैठकपछि एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं सांसद मुनु सिग्देलले भनिन्, “पाँच दलीय गठबन्धनले केन्द्रबाट जे निर्णय गर्छ त्यसलाई मान्छौं।”

गठबन्धनका शीर्ष नेताले गर्ने सहमति मान्ने निर्णय भएको उनले बताइन्। “प्रदेशका कारणले गठबन्धनमा समस्या आउने काम हुँदैन। शीर्ष नेताले गरेको सहमति मान्न संसदीय दलले निर्णय गरेको छ,” नेत्री सिग्देलले भनिन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिवेला एकीकृत समाजवादी र कांग्रेसबीच ६–६ महीना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

त्यहि सहमतिअनुसार, अहिले कांग्रेसले सत्ता हस्तान्तरण गर्न दवाव दिइरहेको छ। यसमा माओवादीले पनि कांग्रेसलाई साथ दिएको छ।

कांग्रेस र माओवादी सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन्। यससँगै आफ्ना मन्त्रीलाई पिर्ता बोलाउने उनीहरूको तयारी रहेको एक नेताले बताए।

गत वर्ष मुख्यमन्त्री हुँदा पाण्डेलाई बागमती प्रदेशमा रहेका १०९ मध्ये ५९ सांसदको समर्थन गरेका थिए। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।