'पार्टी कमिटीले निर्णय गरेमा प्रधानमन्त्रीको राजीनामा आउँछ' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘पार्टी कमिटीले निर्णय गरेमा प्रधानमन्त्रीको राजीनामा आउँछ’



काठमाडौं- सत्तारुढ दल नेकपाको कुनै कमिटीमा प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय हुनेबित्तिकै राजीनामा आउने पार्टीका नेताहरूले बताएका छन् ।

कुनै कमिटी विशेषका कुनै नेताले बहस र छलफलका क्रममा राजीनामा दिनुपर्ने कुरा उठ्नु र कमिटीले निर्णय गर्नु दुई फरक कुरा भएको उनीहरूको तर्क छ ।

मधेशका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सम्बन्धी विवादको निक्र्यौल कमिटी अन्तर्गतको विधि विधान अनुसार गर्नुपर्ने बताएका छन् ।

दुई अध्यक्षहरूको बैठकबाट निकास निस्कन नसके सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको माध्यमबाट हल गर्नुपर्ने हो । पार्टीले त्यसो गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पार्टी विधान अनुसार र सरकार संविधान अनुसार चल्ने वातावरण निर्माण गर्नुपर्ने स्थायी कमिटी सदस्य गणेश शाहको धारणामा पर्सा जिल्ला इन्चार्जसमेत रहेका केन्द्र्रीय सदस्य रामचन्द्र साह तेलीले सहमति जनाएका छन् ।

साह भन्छन्, “कम्युनिस्ट पार्टीमा कमिटी भन्दा माथि कोही हुँदैन । पार्टीको निर्णय मान्नु पर्छ । सके सर्वसम्मत नभए बहुमत र अल्पमतको आधारमा निर्णय लिइने गरिन्छ । त्यो विधिका आधारमा निर्णय लिनुपर्ने हुन्छ ।”

विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कमिटीको निर्णयलाई ‘फेस’ गर्ने गरी पहल लिनुपर्ने उनले जनाए । पार्टीका अर्का नेता तथा पूर्व मन्त्री रामचन्द्र झाले पनि पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्नेमा जोड दिए ।

पार्टीका नेताहरूका अनुसार पार्टी एकीकरण भएका बेला दुबै पार्टीले पुराना पार्टी संरचना विघटन गरी नयाँ संरचनाको निर्माण गरेका थिए । अहिले को निर्वाचित र को मनोनित भन्ने कुरै नभएको केन्द्रीय सदस्यहरुको भनाइ छ ।

साहका अनुसार पार्टी समाधानका लागि बुझाएको सुझावमा एकीकरणबाट निर्माण भएको कमिटी प्रणालीका अधारमा पार्टीका समाधान खोज्नुपर्छ । “गल्ती कमजोरी नेताहरूले गरेका रहेछन् भने त्यसको समीक्षा कमिटी विधि अनुरूप गरी समाधान खोज्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई विश्वासमा लिन नसकेको र एक्लौटी हाँक्न खोजेको देखिएकोले विवाद देखिएको हो । बहस लम्बिँदै गएको र कमिटीका बैठकलाई अपेहलना गर्दै गरिएको विषय जनतामा हाँसोको विषय बन्दै गएको नेताहरूको भनाइ छ ।

कमिटीबाट निर्णय हुनुपर्ने विषयहरूलाई नेताहरूको कोटरीमा पु¥याउने काम गलत भएको उनीहरूको दाबी छ ।पार्टीले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्नेबित्तिकै राजीनामा आउनेमा आफूहरू ढुक्क रहेको नेताहरु बताउँछन् । तर, अहिलेसम्म यस्तो निर्णय भइसकेको छैन ।