पछाडी परेका समुदाय र स्थानको विकास नै प्रमुख एजेण्डा : रज्जाक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पछाडी परेका समुदाय र स्थानको विकास नै प्रमुख एजेण्डा : रज्जाक



देवदह, ८ मंसिर । खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभा रुपन्देही क्षेत्रनम्बर १ का उम्मेदवार अब्दुल रज्जाकले पछाडी परेका समुदाय र स्थानको विकास आफ्नो प्रमुख एजेण्डा भएको बताउनु भएको छ ।

गरिव, विपन्न आदीबासी जनजाति, मुस्लिम तथा सिमान्तकृत वर्गको विकास नभईकन मुलुक समृद्ध बन्न नसक्ने भन्दै नेता रज्जाकले पछाडि परेका र पारिएका वर्गलाई माथी कसरी उठाउन सकिन्छ भन्ने चिन्तन आफ्नो भएको उल्लेख गर्नुभयो ।

रुपन्देही क्षेत्रनम्बर एक अन्र्तगतका देवदह, तिलोत्तमा, रोहिणी, ओम सतिया लगायतका स्थानीय तहका विभिन्न वडाहरुमा लोकतान्त्रिक गठबन्धनले गरेको घरदैलो तथा जनभेटघाटका क्रममा उहाँले आफ्नो पहिलो एजेण्डानै पछाडी पारिएका वर्गलाई माथी उठाउने रहेको बताउनुभयो ।

रुपन्देहीका कांग्रेस सभापति समेत रहनु भएका उहाँले क्षेत्रनम्बर एकबाट परााजित हुँदा वा विजयी हुँदा जनताकै विकासका काम गरेको र आउने प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएमा विकासकै काममै मन लगाउने स्पष्ट पार्नुभयो ।

घरदैलो तथा जनभेटघाट कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार हरि न्यौपाने, ताहिर अलि, प्रचार प्रसार संयोजक हिराबहादुर खत्री, प्रचार संयोजक बासुदेव रिमाल, कांग्रेस नेता मणिप्रसाद शर्मा, विश्वनाथ यादव लगायतले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाएमात्र मुलुक समृद्ध हुने दावी गर्नुभयो ।

लोकतान्त्रिक गठबन्धनले बिहीबार क्षेत्रनम्बर एक अन्र्तगत देवदहको वडानम्बर ६, १०, ११ र १२, ओमसतिया र रोहीणिका ५ नम्बर वडा, तिलोत्तमाको ११ र १२ नम्बर वडामा घरदैलो तथा जनभेटघाट कार्यक्रम गरेको छ । यस्तै महिला परिचालन समितिका महिला भेलाहरु तथा मतदाता शिक्षा कार्यक्रम पनि विभिन्न स्थानमा भएको बताइएको छ ।