कलाकारलाई किन राज्यले संरक्षण गर्न नसकेको होला ?(केहि कलाकारहरुको विचार सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कलाकारलाई किन राज्यले संरक्षण गर्न नसकेको होला ?(केहि कलाकारहरुको विचार सहित)



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको छ । कलाकारीता क्षेत्रमा निरन्तर लागि परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समिर प्रकाश पाण्डे

यो साताको लागि हाम्रो यस्तो छ प्रश्न !

आम दर्शक श्रोताले कलाकार देशका गहना हुन् भन्दै गर्दा राज्यले कलाकारलाई किन संरक्षण गर्न नसकेको होला ?
कस्तुप पन्त (सर्जक तथा गीतकार):नेपालको अस्थिर राजनीति , प्रयोगवादी सोचका हाम्रा नेपाली राजनीतिज्ञहरुको जमात , भगवान् रामका भक्त हनुमान जस्ता हामी कलाकार जुनसुकै बेला राजनैतिक अनुकुलताको लागि तयार हुने हाम्रो परिपाटीले हामीलाई प्रयोग गर्नु पर्दा राष्ट्रका गहना भन्ने काम सकिएपछी बेवास्ता गर्ने काम भएको छ। केही कलाकारहरू नेपाली झण्डा भन्दा राजनैतिक झण्डा मुनि पनि बस्न रुचाउने हुँदा पनि ऊनीहरुले दिने सम्मानमा कमी आएको हो।

पुर्णकला बि.सी (गायिका):देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार लगायत धेरै बाधाहरु छ्न् । सङ्गीतलाई राज्यले अरू पाटोजस्तै महत्त्व दिन सकेको छैन। सङ्गीतको विकास पनि अरू क्षेत्रको जस्तै महत्त्वपूर्ण छ भन्ने कुरामा राज्य अनबिज्ञ हो या बेवास्ता यसमा सबैको चासो भएकै हो। तर सङ्गीतमा प्रतिभाको हिसाबले, ज्ञानको हिसाबले र कला अनि योगदानको हिसाबले स्तर मापन गरेर यसको विकासलाई उपयुक्त नियम कानुन बनाएर राज्य अगाडि बढ्ने हो भनेपनी नेपाली गीतसंगीतको गुणस्तर अनि विकास अझै माथि पुग्थ्यो जस्तो लाग्छ।

राज सिग्देल (गायक):न. १) राजनीतिक अस्थिरता
२) कलाकारितामा पनि राजनीति
३) कलाकारहरूले आफ्नो स्तर  बनाउन नसकेको वा नजानेको.
४)कलाकारिताको बारेमा अध्ययन पनि गर्नु पर्छ र सस्कारित हुनु पर्छ भन्ने कुरा यहाँका कलाकारहरूलाई थाहा नहुनाले जस्तै: रक्सी खाएर गीत गाउनु पर्छ अभिनय गर्नु पर्छ भन्ने जस्ता गलत मान्यता

सुभेच्छा थापा (मोडल तथा नायिका):खै के भन्नु, ठुलाे पाेष्टमा बस्नेले कुर्सी र पार्टी माेहमात्र राखेर हाेला । कलाकारकाे लागि बाेल्न थाल्याे कुर्सी जान्छ ,चुप बस्याे आनन्द ।लाग्छ राज्य लाई हाम्राे बारेमा साेच्ने समय छैन,अब कुन दिनबाट कलाकार देशका मनाेरञ्जनका साधन मात्र हुन्,के लगानी गर्नु जे हाेस् जस्ताे हाेस् आफै लडि मरुन् भन्न बेर छैन।आजसम्म खै त,बजेट भाषणमा गीत सङ्गीत, चलचित्र नगरीकाे कुरा आकाे,हामी कलाकार निर्माता आँफै बनाउदै छाैँ। हाम्राे मेहनत र दुखलाई बस् राज्यले रमिता हेर्ने मात्रै हाे हेर्नुस् ।आजकाे समयमा नेता भन्दा कलाकारकाे याेगदानले नेपाल राज्य माथि पुगेकाे समाचार आउन थालेका छन्,त्याे देखेर पनि कलाकारकाे सिकाे नेताले पनि गर्या हाे कि..?सम्मान आफ्नो लाई आफूबाट सुरु हुनुपर्छ अनि पाे अरूबाट नि पाइन्छ।
जय नेपाल ,जय राज्य ।

महेन्द्र गौतम (मोडल):हामी आफै एक हुदैनौ एकता छैन खाली राज्यको मात्र आस गर्छौँ त्यो नै नराम्रो हो राज्यले गास बास कपासको व्यवस्था नभएकोलाई त व्यवस्थित गर्न सक्दैन भने हाम्रो संरक्षण कसरी गरोस ।हामीलाई त अहिले डिजिटल मार्केटले गर्दा जुन विकृति भित्रिरह्को छ नि यसलाई न्युनीकरण गर्न सक्ने र सङ्गीत अनि कलाकार सम्बन्धी बलियो कानुन र त्यही खालको अधिकार दिए पुग्छ जस्तो लाग्छ मलाई त।

जुना प्रसाई (गायिका):राजनीतिको खेल मै कुर्सी तानातान छ अझै भने कलाकार प्रति किन ध्यान जाओस?राज्य ले जब सम्म कलाकारलाई देशको गहना सोच्दैन तब सम्म कलाकारको संरक्षन हुन्न  । सायद राज्यले आहिलेको दिन सम्म न कुनै कलाकारलाई सम्मान दिएको छ न संरक्षण , देशलाई प्रतिनिधित्व गरेर देश लाई चिनाउने कलाकारले त बिरामी भयर अस्पतालमा छटपटाउदा सरकारबाट केही सहयोग नहुनु जुन उदाहरण हामी बिच छ जस्तै: आरुण थापा,तारा देवी,अ्बर गुरुङ। यसको लागि कालाकार को चर्को दबाबको बाबजुद केही सहयोग मात्रमा भयो।

सनम कठायत (मोडल):सर्वप्रथम त कलाकारलाई गहनाको रूपमा भन्दापनि राष्ट्रको सम्पत्तिको संज्ञा दिइयोस् । गहना सजावट र सुन्दरताको प्रतीक जुन अवसर र इच्छा विशेष प्रयोग गर्न सकिन्छ विडम्बना कलाकारलाई त्यहीँ गहनाको उपमाले बिभुसित गरिन्छ ।
त्यसैले कलाकार र कलाकारितालाइ बुझ्ने दायरालाई सम्मानित र मर्यादित बनाऊ अनि सिङ्गो कलाकारितालाई हेर्ने सोच परिवर्तन गर्नु नितान्त आवश्यक छ जस्तो लाग्छ ।

सरकारी नीति बनेर कार्यान्वयन गरियोस् जसले कलाकार र कलाकारितालाइ समावेश गरेर सबैको लागि सदा एउटा राष्ट्रको जिम्मेवार अङ्गको रूपमा सम्मान गरोस् ।कलाकारको स्तर र योगदानको उच्च मूल्याङ्कन गरेर कलाकारको जिवनयापन सहजता सँगै उचित काम गर्ने सृजनात्मक वातावरण बनाइएमा राज्यको कलाकारप्रतिको संरक्षण नीति सार्थक हुनेथियो । सरोकारवाला सम्पूर्ण सङ्घ संस्था तथा व्यक्तिहरू सबैले स्पष्ट कलाकार हक हितको नीतिलाई कार्यान्वयन गरे सफल हुन्थ्यो कि??

शिर्जु अधिकारी (गायिका):हामी देशका गहना हैनौ अङ्ग हौ गहना आवाश्यकता पर्दा प्रयोग हुन्छ त्यसपछि बाकसमा थन्क्याइन्छ तर कलाकारलाई थन्क्याउने हैन हामी त देश,जनता,कला सस्कृतिको लागि र राष्ट्रको लागि एउटा अङ्गको रूपमा प्रयोग हुन चाहान्छौ दोस्रो कुरा अहिलेको राजनीतिक अस्थिरताले गर्दा कलाकारको मात्रै नभएर सिङ्गो नेपाली जनताको नै हित र संरक्षण गर्न सकिरहेको छैन। त्यसै गरी कला बुझेको व्यक्ति नीति निर्माण तहमा पुग्न सकिरहेको छैन अहिले सरकार १ /२ महिने सर्तमा मन्त्री तथा प्रधानमन्त्री हुन्छन् त्यसैले यो छोटो समयमा सरकारलाई अरू नै कुरामा ध्यान जाने हुनाले पनि गारो भएको हुन सक्छ हामी हजारौँ कलाका बिध्यार्थीहरु र यस सँग सम्बन्धित सर्जक र श्रस्ता यस्तो दिनको पर्खाइमा छौ जुन दिन कलाकार बिना राज्यको नीति नियम नबनोस जुन दिन नेपाली राजनीतिका नेताहरूले कलकारको सृजना बुझ्ने छ संरक्षण गर्ने छन् ।

यम क्षेत्री (गायक):देशको राजनीकि अस्थिरताले जरो गाडेको छ देशको विकास भन्दा नि सत्ताको दौडमा अग्रसर छन् नेताहरू अनि कलाकारहरूलाई मनोरञ्जन अनि जनता भेला गर्नलाई मात्र प्रयोग गरेको देखिन्छ नेपालमा कलाकारको सुनिश्चित भविष्य छैन देश नै राजनीतिक दल दलमा फसेको छ । देश नै कमजोर भएर कलाकारलाई सही ठाउँ दिन नसकेको हो जस्तो लाग्छ अरू देशमा एउटा गीत गाउँदा हिट हुँदा घर गाडी हुन्छ हाम्रो देश मा सयौ गीत हिट हुदासमेत गारो छ । कलाकारितामा असल कलाकारलाई राज्य नि छ है भन्ने वातावरण हुन जरुरी छ कलाकार लाई हौसला को लागी बोलीले हैन व्यवहारले देखाउँन जरुरी छ हामी नेपाल को कलाकार हौ भन्दा गर्व होस राम्रो बुझ्ने गीत सङ्गीत लाई माया गर्ने नेता को खाचो छ समग्रमा देश नै कमजोर भएर हरेक क्षेत्र मा अफ्ठारो परेको हुनसक्छ।यदि चाहने भने कलाकार लाई राज्य ले उचित सम्मान दिनसक्छ भनाइ हैन गराईमा लागू होस ।

जसोदा सुब्बा(गायिका):मलाई लाग्छ हाम्राे देशको राजनीतिक अस्थिरता नै यसकाे पहिलाे कारण हाे।यहाँ देश त जनताकाे लागि साेच्ने गर्ने भन्दा आफ्नो स्वार्थ पुर्ति गर्ने लिडरहरुकाे हालिमुहालि रहेकाे छ।पहिले राज्यका सबै क्षेत्रमा सुव्यवस्थित कार्ययोजना हुनु पर्याे नि,त्यसाे भएमा बल्ल राज्यकाे आँखा कलाकार माथि पुग्थ्याे हाेला।कलाकार देशका गहना हुन् तर जाेगाएर राख्नु राज्यको कर्तव्य हाे भन्ने कुरामा ध्यान जान्थ्याे हाेला।