राम रहिम जस्ता चटकीहरु बाट के सिक्ने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राम रहिम जस्ता चटकीहरु बाट के सिक्ने ?



मनिकला महतारा

यति बेला छिमेकी मुलुक भारतका तीन राज्य पन्जाब,हरियाणा र दिल्ली बाबा गुरमित राम रहिमको मुद्दाले ताती रहेका छ्न। १५ वर्ष पुरानो २ जना साधुवी युवतीको बलात्कारको आरोपमा अदालतसम्म तानिएका कलयुगे राम बाबा राम रहिमलाइ अन्त्यत दुई अपराधको दोषी मानी २० वर्षको कारावास सजाय सुनाइयो।

धर्मको नाममा अधर्मको व्यापार गरीरहेका बाबाहरु यति बेला छिमेकी मुलुक भारतमा धेरै चर्चामा रहे । आसाराम बापु, नित्यानन्द, पर्मानन्द, राधे मा र राम रहिम यी विशिष्ट रहे। यी आधुनिक युगका आधुनिक सन्त मानिएका बाबा हुन । यिनीहरू खासमा कुनै सन्त र बाबा होइनन ।

यस्तै राम रहिम पनि आफूलाई भगवानको दुत बताउने ,आश्रमको नाममा अरबौ खरबौको व्यापार चलाउने सादगीको नाममा विलासी र फेसनेबल जीवन जिउने ,सोझासाझालाइ आफ्नो पाखन्डको जालमा फसाइ उनीहरूबाट फाइदा लुटने आश्रममा सेवा गर्दै आएका पुरुषहरुलाई नपुंसक बनाउने,देशका शिर्षराजनीतिज्ञहरुलाई आफ्नो मुठ्ठीमा राख्ने गर्दै आइ रहेको थिए ।

भारतमा उत्कृष्ट इन्जिनियर उत्कृष्ट डिजाइनर उत्कृष्ट कृषक, उत्कृष्ट खेलाडी रहेको समेत दाबी गरी पाँच करोड अनुयायी बनाइ हरियाणाको सिरसा भन्ने ठाउँमा आफ्नै छुट्टै र अनौठो संसार बनाइ आफूलाई सर्वश्रेष्ठ मान्ने राम रहिम अन्त्यत न्यायको कटघरामा उभिन विवश भए ।

करिब ८ सय एकडमा फैलिएको राम रहिमको यो आश्रम पछिल्लो अनुसन्धानबाट लग्जरी बेडरुम, भान्सा कोठा र शोरुममा जस्तै राखिएका सय भन्दा बढी गाडिहरुको कलेक्शनबाट बाबा राम रहिमको विलासितापूर्ण जीवनलाई छर्लङ्ग पारी दिएको छ। अरूलाई सादगीको पाठ पढाउने आफू चाहिँ मोडेल जस्तो भएर घुम्ने हुनाले बेला बेलामा सन्चार माध्यममा पनि चर्चा पाई राखेका राम रहिमले ६ वटा चलचित्र पनि बनाइ सकेका छन् ।

देशका विभिन्न ठाँउहरुमा ४८ वटा आश्रमको स्वामित्व रहेको रहिमको पुँजी अझै कत्ति छ भन्ने अनुमान नै लगाउन सकिँदैन ।खास कुरा त डेरा सच्चा सोदाको नामबाट चालाइएको आश्रमभित्र एक रहस्यमय गुफा पनि छ जहाँ रहिमले साधुबी बसेका महिलाहरूको शोषण केन्द्र बनाएको खुलासा भयो ।
छिमेकी मुलुक भारतको न्याय व्यवस्था मजबुत भएकै कारण यस्ता यस्ता जानिमानी हस्तीहरु पनि उम्कन पाउदैनन् ।केही समय पहिला पनि निकै चुनौतीपूर्ण मानिएका मुद्दाहरू बलिवूडको सुपरस्टार सलमान खान विरुद्धको मुद्दा, आरुषि तलवार हत्याकाण्डका हत्याराहरु विरुद्धको मुद्दा, कोयला घोटाला, सुपर स्टार सञ्जय दत्तविरुद्धको मुद्दा, विजय माल्या विरुद्धको मिद्दाहरुको न्यायपुर्ण फैसलाहरुले भारतीहरु न्यायको विषयमा विश्वस्त छ्न । रहिम विरुद्धको फैसलाले भारतको न्याय व्यवस्था अझ मजबुत बनाइ दिएको छ।
रहिम विरुद्धको फैसला हरेक उनीहरूको लागि एक सिख हो जो तागतको नशामा आफूलाई भगवान् भन्दा सर्वश्रेष्ठ सम्झन्छन् ,उनको लागि जो नारीको अस्मितालाई खेलौना सम्झिन्छन्, उनको लागि जो धर्म , आस्था र भरोसाको आडमा सोझासाझालाइ गुमराह गरी रहन्छ्न।

उनीहरूको लागि हो जो बाहिर बाबा ,सन्त बनी भित्र भित्रै घिन लाग्दा प्रवृत्ति लिई घुम्दछ्न।
अन्त्यमा कहीँ हामी बिचमा पनि त राम रहिमहरु लुकेका त छैन ? कहीँ हामी पनि ईश्वर छोडी कुनै बाबालाई त पुजी राखेका त छैनौ नि ?सत्मार्ग र सत्जिवनको लागी जीवनको लागि हामीलाई कुनै बाबा होइन । सत्कर्म र सत्ज्ञानले हामीलाई सदैव सत्मार्गमा  लैजान्छ ।