रामवरण, केपी ओली, रामशरणदेखि कस–कसले गरे उपचारका नाममा ब्रम्हलुट ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रामवरण, केपी ओली, रामशरणदेखि कस–कसले गरे उपचारका नाममा ब्रम्हलुट ?



काठमाण्डु, १४ असोज– सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभावी रकम बाँडेको खुलेको छ । असोज २ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतअनुसार त्यस दिन आर्थिक सहायताका नाउँमा एक करोड रुपैयाँभन्दा बढी रकम बाँडिएको थियो । यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि ६० लाख रुपैयाँ उपचार खर्च र उनकी छोरीलाई कूटनीतिक राहदानी दिलाएकोमा पुष्पकमल दाहाल सरकारको आलोचना भएको थियो ।

सरकारले बिनामापदण्ड नेता, पहुँचवाला व्यक्ति र कार्यकर्तालाई रकम बाँड्ने गरेको भन्दै कार्यविधि बनाएर मात्रै सहायता वितरण गर्न व्यवस्थापिका–संसद्को अर्थ समितिले दिएको निर्देशनसमेत मन्त्रिपरिषद्ले उल्लंघन गरेको छ ।

अर्थ मन्त्रालयस्रोतका अनुसार उपचार र आर्थिक सहायताका नाउँमा मात्र राज्यकोषबाट वार्षिक डेढ अर्ब रुपैयाँ खर्च हुन्छ ।

तीमध्ये अधिकांश रकम नेताको उपचार, तिनका नाउँमा खोलिएका प्रतिष्ठान र पार्टीनिकट अधिकांश कार्यकर्तालाई जान्छ । एक महिनापहिले पनि सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई अमेरिकामा उपचार गराउन ६० लाख रुपैयाँ दिएको थियो । विपन्न नागरिकका लागि उपचार खर्च दिने कानुनी व्यवस्था भए पनि त्यही निहुँमा मन्त्रीहरुले मन्त्रिपरिषद्मै प्रस्ताव लगेर आफूनिकट नेता–कार्यकर्तालाई रकम बाँड्ने चलनै बसेको छ ।

अघिल्लो वर्ष यही शीर्षकमा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई १ करोड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड २६ लाख, पूर्वप्रधानन्यायाधीश रामकुमार साह ५० लाख ३९ हजार, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ५० लाख र पूर्वसांसद रामनाथ ढकाललाई ३२ लाख रुपैयाँ दिइएको थियो ।

यसैगरी अघिल्लो वर्ष नै सहायता रकम पाउनेमा पूर्वगृहमन्त्री गोविन्दराज जोशी २७ लाख, पूर्वप्रधानमन्त्री तुलसी गिरी २५ लाख, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी ५० लाख, पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख र पूर्वअर्थमन्त्री रामशरण महत २ लाख ८३ हजार रुपैयाँ छन् ।
नागरिक दैनिकबाट

– See more at: http://kathmandutoday.com/2016/09/214797.html#sthash.0l4zS62Z.dpuf