सभापति बन्ने रामचन्द्रको सपना चकनाचुर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सभापति बन्ने रामचन्द्रको सपना चकनाचुर



काठमाडौं- नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिएका छन् । संस्थापन इतर पक्षबाट सभापतिका दाबेदार मानिएका पौडेलले शेखर कोइराला र प्रकाशमान सिंहमध्ये कुनै एकजनालाई समर्थन गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले जनाएको छ ।

सभापतिको साझा उम्मेदवार छान्न भन्दै आज बत्तीसपुतलीमा जिल्ला सभापतिहरूसहित पौडेल पक्षको बैठक बसेको थियो । बैठकमा काठमाडौँका सभापति सबुझ बानियाँले प्रकाशमान सिंहलाई समर्थन गर्ने भनेपनि अन्य सभापतिहरूले यो वा त्यो नेता भनेर अघि बढ्न नहुने बताएका थिए ।

अधिकांश जिल्ला सभापतिहरूले साझा उम्मेदवार ४ जना नेताहरू नै बसेर तय गर्न सुझाएका थिए । ‘हामीले यो वा त्यो नेता भन्ने स्थिति रहेन,’ बैठकमा सहभागी एक जिल्ला सभापतिले भने, ‘तपाईंहरू बसेर टुंगो लगाउनुस भनेर भन्यौं ।’

बैठकपछि पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह केही समय छुट्टै बसेका थिए । तीमध्ये शशांक कोइराला र पौडेल दुवैले ल तपाईंहरूबीच सहमति हुनुपर्यो भनेका थिए ।

त्यसपछि पौडेल अर्का नेता कृष्ण सिटौलालाई भेट्न सिटौलानिवास पुगे । दुवैबीच सभापतिकै उम्मेदवारीका विषयमा छलफल भएको स्रोतको दाबी छ । पौडेलले कांग्रेसको नेतृत्व परिवर्तनका लागि देउवाको विकल्प खोज्नुपर्नेमा जोड दिए भने सिटौलाले आफू छलफलमै भएकाले तत्काल कुनै निर्णय नलिने बताएका थिए ।

आजै अपराह्न ३ बजे सिंहनिवास चाक्सीबारीमा नेताहरूबीच सभापतिकै उम्मेदवारको विषयलाई लिएर छलफल हुने कार्यक्रम रहेको छ ।

सिंहले कुनै हालतमा सभापतिको दाबेदारी नछोड्ने बताइरहेका छन् । शेखर कोइराला पनि पछि हट्ने संकेत गरेका छैनन् ।

कांग्रेस नेता लक्ष्मण घिमिरेले भने, ‘सभापतिको साझा उम्मेदवार छनोट अघि बढिरहेको छ । भोलिसम्म शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति भएर एकजनालाई उम्मेदवार घोषणा गर्ने सम्भावना छ ।’

घिमिरेले कांग्रेसको अहिलेको नेतृत्वबाट कुनै पनि सुधारको सम्भावना नरहेको बताए । ‘त्यसैले पार्टीलाई अघि बढाउन नेतृत्व परिवर्तनको विकल्प छैन,’ घिमिरेले भने ।

संस्थापन पक्षबाट शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् । त्यस्तै विमलेन्द्र निधिले निकै पहिलादेखि सभापतिको उम्मेदवारी घोषणा गरेर सम्पर्क कार्यालय नै स्थापना गरिसकेका छन् । निधिले आफूले संस्थापन पक्ष छाडिसकेको बताएका छन् । पौडेलले निधिलाईसमेत सहमतिमा लिएर अघि बढ्नुपर्ने सुझाव अन्य नेताहरूलाई दिएका छन् ।