पौडेललाई भावी प्रमका रूपमा प्रस्तुत गर्न माग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पौडेललाई भावी प्रमका रूपमा प्रस्तुत गर्न माग



तनहुँ, कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्ने चाहना तनहुँमा देखिन थालेको छ । पौडेल प्रधानमन्त्री भए विकासमा कायापलट हुने विश्वास पनि रहेको छ ।

यतिबेला तनहुँका काँग्रेसका कार्यकर्ताले वरिष्ठ नेता पौडेललाई प्रधानमन्त्रीको रूपमा अगाडि सारी आसन्न चुनावमा प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बिहीबार बसेको बैठकले पौडेललाई प्रतिनिधि सभा चुनावका लागि तनहुँको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्प सिफारिस गरेको छ ।
गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई २०५६ सालको आमनिर्वाचनमा प्रधानमन्त्रीको रूपमा अघि सारेजस्तै पौडेललाई चुनावमा प्रस्तुत गर्नुपर्ने अधिकांशको भनाइ छ । नेपाली काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने तनहुँ मात्रै नभई ४ नम्बर प्रदेशका सम्पूर्ण लोकतन्त्रवादीहरूको चाहना उहाँलाई प्रधानमन्त्रीको रूपमा देख्ने रहेको दाबी गर्नुभयो । साथै, न्यौपानेले भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको पार्टीको आधिकारिक निर्णय जिल्ला कार्य समिति पर्खेर बसेको बताउनुभयो ।

नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नसके पौडेल स्वच्छ छविको नेता भएकोले नेपाली काँग्रेसको सिट बढ्ने दाबी गर्नुभयो । साथै, यसरी चुनावमा जानसके पहिला पार्टी र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवालाई हित हुने आचार्यले बताउनुभयो ।

भानु नगरपालिकाको सम्जुर निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हाजी रफिक मियाले पौडेललाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री प्रस्ताव गर्दाको इतिहास दोहोरिने दाबी गर्नुभयो ।

अहिलेको सङ्कटग्रस्त राजनीतिको चङ्गुलबाट मुलुकलाई निकास दिएर सुशासनसहित आर्थिक समृद्धिको बाटोमो लैजान पौडेलको विचार र नेतृत्व मुलुकले मागेको व्यास नगरपालिका ४ दमौली निवासी सुशील तिमल्सेनाले बताउनुभयो । प्रायः पार्टी र सरकारको नेतृत्वमा रहँदा पौडेलले आफ्नो बौद्धिक छवि, दृष्टिकोण र कार्यकुशलता देखाउनुभएकोले नेता पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको तर्क छ ।