कतार जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कतार जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ



 

काठमाडौं ।

वैदेशिक रोजगारीका लागि कतार जाने कामदारसँग लागतभन्दा बढी रकम असुल्ने एजेन्टलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ ।
कामदारसँग १ लाख २० हजार रुपैयाँ लिने निड इम्प्लोइमेन्ट सर्भिसकी एजेन्ट सुमिना गुरुङलाई मेनपावर एजेन्सीबाटै रंगेहात पक्राउ गरिएको बताइएको छ ।

“पक्राउ परेकालाई विभागले ऐनअनुसार कारबाही अघि बढाउने छ, अहिले कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।”

मेनपावर एजेन्सीले कामदारसँग सेवा शुल्कवापत् बढीमा १० हजार रुपैयाँ लिन पाउने प्रावधान छ । यसअघि बढी रकम असुल्ने वाइड स्पेस म्यानपावर कम्पनीका लेखापाल अनिता प्रधानलाई विभागले रंगेहात पक्राउ गरी कारबाही गरेको थियो ।

वैदेशिक रोजगारमा जानु अघि सरकारले तोकेको सेवा शुल्क र अनुमतीसम्बन्धी व्यवस्था हेरेर मात्र विदेश जान विभागले अनुरोध गरेको छ । आफू अन्यायमा परेको र म्यानपावरले बढी रकम असुल्न लागेको थाहा पाउने बित्तिकै विभागमा जानकारी गराएर मात्र काम अघि बढाउने विभागका निर्देशक मोहन अधिकारीले आग्रह गरेका छन् ।
मलेसियासहित खाडी मुलुक जानका लागि शुन्यलागत (फ्रिभिसा, फ्रिटिकेट) को प्रावधान भएकाले म्यानपावरलाई सेवाशूल्कवापत् दश हजारभन्दा बढी नतिर्न विभागले आग्रह गरेको छ ।

वैदेशिक रोजगारका लागि खाडीका ६ देशसहित मलेसिया जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरूले कामदारसँग रकम असुलिरहेका छन् ।

०७१ जेठ २६ को मन्त्रीस्तरीय निर्णयबाट असार २१ देखि यो व्यवस्था लागु हुने भनिएको थियो । तर, तीन वर्ष बितिसक्दा निर्णय कार्यान्वयन नगरी व्यवसायीले कामदारबाट रकम असुल्ने गरेका छन् ।

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कुवेत जान टिकट र भिसाको रकम तिर्नुपर्दैन । जसअनुसार टिकट र भिसाबापतको रकम रोजगारदाता कम्पनीले नै बेहोर्छ । कामदार पठाएबापत म्यानपावर कम्पनीले रोजगारदाताबाट सेवा शुल्क (कमिसन) पाउँछन् । म्यानपावर कम्पनी र एजेन्टहरूले जथाभावी रकम लिए पनि आफूहरूलाई रसिद नदिएको कामदारको गुनासो रहिआएको छ ।