श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त



एजेन्सी- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्। देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

२२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा विक्रमासिंघेले एकता सरकारको नेतृत्व गरेका हुन्। उनलाई राष्ट्रपति गोटबायाले आजै सपथ गराएका छन्।

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेलाई शुभकामना दिँदै राष्ट्रपति गोटबायाले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो देशलाई अत्यन्तै अशान्तिपूर्ण समयमा सञ्चालन गर्ने चुनौतीपूर्ण कार्य गर्न अगाडि बढेका नयाँ प्रधानमन्त्रीलाई शुभकामना। श्रीलंका फेरि बलियो बनाउन उहाँसँग मिलेर काम गर्न म तत्पर छु।’

राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राति राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए।‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए।

दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको थियो। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दंगा फैलिएको थियो।

केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका थिए। राजापाक्षेका समर्थकहरुले घरहरूमा आगो लगाएका थिए।