राप्रपा महाधिवेशन आजदेखि, ३१५ प्रतिनिधि छनोट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राप्रपा महाधिवेशन आजदेखि, ३१५ प्रतिनिधि छनोट



काठमाडौँ, फागुन ६

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँैचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा भएको छ । रङ्गीविरङ्गी ध्वजापतकाले समारोहस्थललाई बेहुली जस्तै सिङ्गारिएको छ ।

देश विदेशबाट अहिलेसम्म ९० प्रतिशत प्रतिनिधि आइसकेका छन् । आउन बाँकी रहेका शुक्रबार दिउँसोसम्म आइपुग्ने पार्टीले जनाएको छ । पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट प्रतिनिधि छनोट गरिएको हो । तीन हजार ३१५ प्रतिनिधि छनोट भएका छन् ।

पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले शुक्रबार बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका वेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी समारोहस्थलमा आइपुग्नेछन् ।

प्रवासअन्तर्गत भारत, हङ्कङ, संयुक्त राज्य अमेरिकालगायत मुलुकबाट ३० प्रतिनिधि आइसकेका छन् । सो कार्यक्रममा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण गत मङ्सिर ६ मा भएपछि सो महाधिवेशन गर्न लागिएको छ । पार्टीले विधान संशोधनको कार्य पूरा गरिसकेको छ, अध्यक्षको नेतृत्वमा १६१ केन्द्रीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन गरिनेछ । अध्यक्षमा सर्वसहमति भएकाले अब १६० केन्द्रीय सदस्यका लागि शनिबारदेखि निर्वाचनको प्रक्रिया सुरु गरी सोमबार निर्वाचन गरिनेछ ।