राष्ट्रपतिको १५ मिनेट लाग्ने सवारी- काठमाडौँ दिनभर ठप्प, डाक्टरमाथि आक्रमण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राष्ट्रपतिको १५ मिनेट लाग्ने सवारी- काठमाडौँ दिनभर ठप्प, डाक्टरमाथि आक्रमण



काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा. जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए। पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म पुगे। त्यहाँ बाक्लो भिड थियो। त्यही भिड छिचोल्दै निस्कन खोज्दा नेपाल प्रहरीका एकजना हवल्दार आक्रोशित हुँदै उनलाई धकेल्न थाले।

सिंहले आफू डाक्टर भएको भन्दै परिचयपत्र देखाए। तर ती हवल्दार झन् आक्रोशित भएर परिचयपत्र खोस्दै लाठी प्रहार गर्न थाले। लाठीबाट डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। घर जान निस्केका उनी चोट लागेपछि पुनः ट्रमा सेन्टरमै फर्किएर उपचार गराइरहेका छन्।

घाइते भएका डा. सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिन्छन्। यसरी वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेउमै रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलित भएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले छेउमै रहेको कान्तिपथमा चक्काजामसमेत गरे। त्यसपछि प्रहरीले फेरि बल प्रयोग गरेको थियो। बल प्रयोगबाट अन्य केही चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि लाठी प्रहार भएको थियो।

त्यसमा पनि केही घाइते भएको बताइएको छ। त्यसयता शुक्रबार अबेर साँझसम्म पनि ट्रमा सेन्टर र वीर अस्पतालको सेवा ठप्प छ। आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी प्रहार भएपछि ट्रमा सेन्टरमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालबाहिर प्रदर्शनमै थिए। उनीहरूले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आएका छन्।

यसैबीचमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की आफैं समस्या समाधानका लागि छलफलमा खटिएका थिए। प्रहरीले ट्रमा सेन्टरको व्यवस्थापन समिति र आन्दोलित चिकित्सक समूहसँग छलफल गरेको थियो। छलफलबाट प्रहरीले चिकित्सकमाथि लाठी प्रहार गर्ने हवल्दारलाई कारबाही गर्ने र ट्रमा सेन्टरबाट जाहेरी दर्ता गर्ने सहमति भएको ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमले बताए। ‘यो सहमतिअनुसार अस्पतालका सेवा सुचारु नै राख्ने भन्ने छ,’ उनले भने, ‘तर चिकित्सकका आफ्नै संघसंगठन छन्। उहाँहरूको निर्णय भने आउन बाँकी छ।’

राष्ट्रपति सवारीका कारण तनाव

लाठी प्रहार गर्ने प्रहरी हवल्दार भने राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि सडक खाली गर्न तैनाथीमा बसेका थिए। दिउँसो राष्ट्रपति भण्डारी संघीय संसद्मा सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी थिइन्। साँझ शीतलनिवास फर्किंदा वीर अस्पताल अगाडिको बाटो प्रयोग गरिएको थियो।

त्यसकारण प्रहरीले राष्ट्रपति भण्डारीको सवारीका लागि सडक खाली गराइरहेको थियो। जसको चपेटामा डा. सिंह परेका हुन्। यद्यपि उनीमाथि लाठी प्रहार भने ट्रमा सेन्टरको परिसरभित्रै भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। ‘राष्ट्रपतिज्यूको सवारी सडकमा होला। तर डा. सिंह हाम्रै कम्पाउन्डभित्रै हुनुहुन्थ्यो,’ अर्थोपेडिक्स डा. किरण खनालले भने, ‘डाक्टर हुँ भन्दाभन्दै परिचयपत्र नै खोसेर उहाँमाथि लाठी प्रहार गरिएको छ।’

उता नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले राष्ट्रपतिको सवारीलाई केहीछिन पर्खन गरिएको आग्रह नमान्दा समस्या आएको दाबी गरे। ‘भिभिआइपीको सवारी हुँदा एकतर्फी बाटो केही छिनलाई रोक्नुपर्ने प्रोटोकल छ। त्यो क्षेत्र एकतर्फी नै भएकाले पुरै रोक्नुपर्छ,’ डिआइजी पोखरेलले भने, ‘सायद उहाँ (डा. सिंह) केही हतारमा हुनुहुन्थ्यो। केही छिन रोक्न भनी गरिएको आग्रह मान्नुभएनछ। त्यसैले समस्या पैदा भयो।’ प्रहरीले रोक्न खोज्दा डा. सिंहबाटै प्रहरीमाथि लात्ती प्रहार भएको उनले दाबी गरे। ‘उहाँले लात्ती हान्दा अवस्था केही खल्बलियो। नियन्त्रणमा लिन लाठी चार्ज भएको हो,’ डिआइजी पोखरेलले भने।

राजधानीका सडक दिनभर ठप्प

यता राष्ट्रपति भण्डारीले संघीय सदनलाई सम्बोधन गर्न राष्ट्रपति कार्यालय शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवन र त्यहाँबाट शीतल निवासको सवारी गरेकी थिइन्। जसको दुरी जम्मा सात किलोमिटर छ। रित्तो सडकमा गाडीमा सवारी गर्दा बढीमा १५ मिनेट लाग्छ। राष्ट्रपति भण्डारीको यति यात्राका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सडक शुक्रबार दिनभरि अस्तव्यस्त भएका थिए। घन्टौंसम्म सवारी जाम भएको थियो।

प्रहरीले राष्ट्रपति भण्डारीको सवारीका लागि शीतलनिवास महारागन्जबाट, लाजिम्पाट, रत्नपार्क, माइतीघर हुँदै नयाँबानेश्वरको सडक खाली गराएको थियो। यो सडक खाली गराउन घन्टौंसम्म मेहनत लाग्दा बाँकी क्षेत्रमा लामै जाम भएको थियो। ‘हामीले भिभिआइपीको यात्राको प्रोटोकल पूरा गर्न सवारीका लागि सडक खाली गर्नैपर्छ। काठमाडौंमा एक सेकेन्ड पनि जाम हुँदा पुरै क्षेत्र जाम हुन्छ,’ डिआइजी पोखरेलले भने, ‘जाम हुन्छ भनेर भिभिआइभीको सवारीका लागि प्रहरीले पूरा गर्नुपर्ने दायित्वबाट हामी भाग्न मिल्दैन।’नागरिकमा समाचार छ ।