राष्ट्रपति भण्डारीद्वारा पूर्वजहरूको योगदानको प्रशंसा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राष्ट्रपति भण्डारीद्वारा पूर्वजहरूको योगदानको प्रशंसा



काठमाडौँ – नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । गणतन्त्र १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाईँदै छ ।

पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण दिवसको अवसरमा औपचारिक कार्यक्रम हुने छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहूति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आह्वानसमेत गरेकी छन् ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजको योगदानको स्मरण गर्दै स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले अपिल गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सबै नेपालीहरूप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् ।