राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना



काठमाडौँ, फागुन २५ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसमा अवसरमा दिनुभएको शुभकामना सन्देशमा महिला सशक्तीकरणका माध्यमबाट लैङ्गिक समानता एवम् महिलाहरूको हक अधिकार सुनिश्चिततामा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाली दिदी बहिनीहरूलगायत संसारभर रहेका सबै दिदी बहिनीहरूमा महिला दिवसका अवसरमा सबैलाई हार्दिक बधाइ ज्ञापनसमेत गर्नुभएको छ ।  नेपालले ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ भन्ने नाराका साथ बनाउँदै आएको छ । महिलाहरूको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘‘नेपालको संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको छ भने आवधिक योजना तथा कार्यक्रमहरूमा समेत महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमहरूको थालनीबाट समग्र महिलाहरूको अवस्थामा केही सुधार भएको अवस्था छ । ’’राष्ट्रपतिले यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।