सरकारबाट बाहिरिने वा बस्ने ? - रास्वपाले आज निर्णय गर्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकारबाट बाहिरिने वा बस्ने ? – रास्वपाले आज निर्णय गर्ने



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । हिजो (शनिबार) बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । आज बिहान साढे ११ बजे बस्ने सो पार्टीका नेता विराजभक्त श्रेष्ठले बताए ।

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको थियो । आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।

पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो रास्वपाका नेतालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन र सरकारमै रहन आग्रह गरेका थिए । अहिले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।