राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा नलैजाने चलखेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा नलैजाने चलखेल



चौथो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब बन्ने सरकारमा सहभागीताबारे अनिर्णित देखिएको छ। संसदमा समानुपातिकसहित २० सिट ल्याएको रास्वपाले सरकारमा दर्विलो उपस्थित हुने या प्रतिपक्षमा रहेर प्रभावकारी भूमिका निर्वाह गर्नेबारे निर्णय लिन सकेको छैन।

सत्ता गठबन्धन र नेकपा एमालेले सत्ता समीकरणबारे आन्तरिक छलफललाई तिव्रता दिए पनि ती छलफलमा रास्वपाको सहभागीता देखिँदैन। सत्ता गठबन्धन पनि सकेसम्म रास्वपालाई सरकारमा सहभागी नगराउने मनस्थितिमा छ।

हालको गठबन्धनलाई निरन्तरता दिँदै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागिता गराउन लागिपरेको छ। त्यसका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमतका अध्यक्ष सीके राउतसँग तीव्र लबिङ गरिरहेका छन्। जनमतका अध्यक्ष राउतले सरकारमा सहभागीता हुने प्रतिवद्धतासमेत व्यक्त गरिसकेका छन्। एमालेले पनि सरकारमा बहुमत पुर्‍याउने कसरतमा छ। तर रास्वपासँग छलफल गरेको देखिँदैन।

अहिलेसम्म भाबी सरकारलाई लिएर रास्वपाले कुनै खालको गृहकार्य सुरु गरेको छैन। रास्वपाका नेताहरु ‘पर्ख र हेर’को अवस्थामा छन्। रास्वपा अध्यक्ष रबि लामिछानेले सरकारमा सहभागीताबारे निर्णय नलिए पनि परिस्थितिको आँकलन गरिरहेको बताए। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा लामिछानेले सरकारमा जानेबारे अहिलेसम्म केही नसोँचेको बताए। ‘हामीले सरकारमा जानेबारे केही सोँचेका छैनौं। परिस्थितिलाई आँकलन गरिरहेका छौं,’ उनले भने।

उनले सरकारभन्दा पनि एजेण्डा प्राथमिकतामा रहेको बताए। ‘जनताले हामीलाई जे भनेर भोट दिएका हुन्। त्यो एजेण्डा महत्वपूर्ण कुरा हो। को जाने को नजाने ठूलो कुरा होइन,’ उनले भने।

रास्वपाका प्रवक्ता मुकुल ढकालले केही दिनमै केन्द्रीय कमिटीको बैठक बसेर आगामी योजनाबारे निर्णय लिने बताए। लामिछानेले भाबी प्रधानमन्त्रीमा ‘पुराना अनुहार’लाई समर्थन नगर्ने अभिव्यक्ति दिएका थिए।