रातो सारी लगाउनै पर्छ भन्ने कहाँ छ र ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रातो सारी लगाउनै पर्छ भन्ने कहाँ छ र ?



-डा.अच्युत शाली घिमिरे

हिजो हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको थियो। र हिजो बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।तीजको दिन हिजो सोमबार पनि परेकाले भक्तजनको अत्यधिक भीड लागेको हो । भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका थिए ।

महिलाहरूकै सुरक्षालाई ध्यानमा राख्दै यस वर्ष उल्लेख्य रूपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको थियो । भक्तजनको सुरक्षाका लागि तीस प्रतिशत महिला प्रहरी ,पशुपति क्षेत्रमा खटाइएको देख्दा एउटा प्रश्न मेरो मनमा उब्जिरहेथ्यो, के यी महिलाहरूलाई तीज मनाउनु पर्दैन?के यिनीहरूले व्रत बस्नु पर्दैन? तर पशुपतिमा आफ्नो ड्युटीमा खट्टीरहदा समेत हर्षोल्लासका साथ उनीहरू रमाइरहेको दृश्यले मेरो मन छोयो। सायद उनीहरूको परोपकारी मनले भनिरहेथ्यो “रातो सारी नै लगाउन पर्छ भन्ने नै कहाँ छ र?”।यी कर्मठ एवं सेवामुखी मनहरूलाई सलाम।हिजोको दिनमा देश भरि आफ्नो ड्युटीमा खट्टिएर काम गर्ने महिला प्रहरी सम्पूर्ण लाई भगवान् पशुपतिनाथले रक्षा गरून्।

हिजोको पावन दिनमा व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।अस्तिको दिन तीज मनाउन माइत गएर विभिन्न मिष्टान्न परिकार सहित दर खाने प्रचलन समेत व्यापक छ।तर दर खाने नाममा स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका आहारहरू खाएर भोलिपल्ट निराहार व्रत बस्दा महिलाहरूमा अनेकौँ समस्याहरू देखा पर्न सक्छन्।त्यसैले समेत नारी भएरै पनि डाक्टर,नर्सहरूले तीजको दिनमा अस्पतालमा बिदा लिएर घर बस्न मिल्दैन।

मेरी दिदी समेत मनमोहन कार्डियोथोरासिक सेन्टरमा मेडिकल अफिसरका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ अस्तिको रातभरको अनिदो ड्युटी गरेर थकित तर प्रफुल्लित अनुहार लिएर हिजो तीजको दिनमा साँझ घर आईपुग्नु भयो। व्रत बस्ने,चोक-चोकमा गएर कम्मर मर्काएर नाच्ने मन हुँदा हुँदै पनि डाक्टरी पेसाले तीज जस्ता चाडपर्वमा समेत खासै बिदा मिल्दैन। तै पनि अस्पतालमा सधैँ बिरामीको ओठमा हाँसो ल्याउन प्रयासरत मेरी दिदीको मनमा उपवास नबसे पनि सत्यभावहरु झल्किन्छन्। हृदयमा ईश्वरको उज्यालो रहिरहन्छ। सायद सेतो एप्रोन र इस्थेटोस्कोप बोकेर तीजको दिनमा बिरामी जाँचेर सच्चा धर्म गरिरहँदा मेरी दिदी सोचिरहनुहुन्थ्यो “रातो सारी नै लगाउन पर्छ भन्ने कहाँ छ र?”। हिजोको दिनमा देश भर आफ्नो ड्युटीमा खुट्टिएर काम गर्ने महिला डाक्टर एवं नर्स सम्पूर्णलाई भगवान् पशुपतिनाथले रक्षा गरून्।

नारीहरू भावनामा रमाउँदछन्,रसाउँदछन्।हामी नारी न हुन् भनेर उनीहरूका कर्मठ योगदानहरूलाई पन्छाइदिन्छौ।जननीहृदयरेखाहरुलाई निरर्थक सम्झिन्छौँ।अझै पनि नारीको कर्तव्यको मूल्यलाई संसारले समझमा ल्याउन सकेको छैन।चाडपर्वमा समेत आफ्नो घरपरिवार ,मनोरञ्जन केही नभनीकन समाजलाई आदर गर्ने नारीहरूलाई सम्मान गर्नु पर्छ।सबै धर्महरू जननीका हृदय भित्र लुकेका हुन्छन्।धारणा मार्फत समाज र देशको आवश्यकता अनुसार आफ्ना इच्छा मनोकामनालाई तिलाञ्जली दिन सक्नु नारीहरूले आफ्नो धर्म मान्दछन् ।अनेक क्रूरतालाई मुस्कानमा बदल्ने,उदाहरणीय कार्य मार्फत ज्योति फिँजाउने महान् नेपाली नारीहरूको प्रतिभा तारिफ योग्य छ।

नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना उजागर गर्ने पर्व समेत हो। नेपाली महिलाले विगतका दिनहरूमा समेत कष्टकर सामन्ती संस्कार हाबी रहेका बेला वा भनौँ समानताको मान्यता स्थापित नभएको जटिल परिवेशमा समेत तीजलाई अलिकति भए पनि राहतको अनुभूति गराउने पर्वका रूपमा मनाउँदै आएको दृष्टान्त हामी माझ छ।यसलाई विकृति उन्मुख नबनाएर दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना आदान प्रदान गर्ने गतिलो माध्यमका रूपमा हामीले प्रस्तुत गर्नु पर्छ।रातो महँगो सारी,देखावटी फेसन,गर-गहना,तडक-भडकमा गाँसिने महिला भन्दा पनि तीजको महिमालाई आत्मसात् गर्दै समाजमा निर्णायक क्षमता देखाउने असल महिलाहरूलाई आदर्शका रूपमा लिनुपर्छ।रातदिन आफ्नो कार्यक्षेत्रमा तीजको दिनमा समेत अभ्यस्त रहेन तमाम नारीहरूलाई कोटि कोटी प्रणाम गर्दै,अन्त्यमा भगवान् शिवसँग उनीहरूको दीर्घायुको कामना गर्न चाहन्छु।

डा.अच्युत शाली घिमिरे
शिक्षण अस्पताल