स्वास्थ्य मन्त्रालयको निर्णय खारेज: रात्रीकालिन व्यवसाय खोल्न पाइने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्वास्थ्य मन्त्रालयको निर्णय खारेज: रात्रीकालिन व्यवसाय खोल्न पाइने



काठमाडौं- राति ९ बजेपछि रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय दुई दिन नबित्दै खारेज भएको छ । बुधबारको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना खारेज भएको हो ।

यसरी व्यवसाय बन्द गराउन मन्त्रिपरिषदबाटै निर्णय गर्नुपर्ने भन्दै विवाद उत्पन्न भएपछि मन्त्रालयले जारी गरेको निर्देशन अपीलमा परिणत भएको छ । व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने भएकाले उक्त निर्णय खारेज भएको हो ।

सीसीएमसी वा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले नै निर्णय गरेपछि पर्यटन व्यवसायी त्रसित बनेका थिए ।बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सह–सचिवसहित उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बसेको थियो ।

उक्त आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सो सूचना बाध्यकारी नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने गृह प्रशासनको निर्णयसंगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।

नयाँ वर्षको मुखमा व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बनेका थिए । लामो समयपछि बल्लतल्ल खुल्न लागेको व्यवसायलाई पुनः बन्द नै गर्ने मन्त्रालयले उर्दी जारी गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि पोखेका थिए ।