दर्ता नहुँदै रवी लामिछानेको पार्टीविरुद्ध उजुरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दर्ता नहुँदै रवी लामिछानेको पार्टीविरुद्ध उजुरी



काठमाडौँ- रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नहुँदै विवादमा आएको छ । उनको पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोगमा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गरेका हुन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए । ‘म रवि लामिछानेको स्वतन्त्र पार्टीको उम्मेदवार हैन । म वास्तविक उम्मेदवार हुँ भनेर भन्नुपर्ने अवस्था आयो । रविको पार्टी त्यही नाममा दर्ता हुँदा यसले वास्तविक स्वतन्त्र उम्मेदवारबारे भ्रम उत्पन्न हुने अवस्था आएपछि हामीले उजुरी दिएका हौं,’ पण्डितले कान्तिपुरसित भने ।

पण्डितले स्थानीय तहको निर्वाचनअघि नै संघीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

पण्डितसँगै पुष्कर शाह, राजकुमार बजगाईँ लगायत युवाहरूले पनि उजुरीपत्रमा हस्ताक्षर गरेका छन् । पण्डितका अनुसार निवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूको चासोलाई मध्यनजर गर्ने प्रतिक्रिया दिएका थिए ।

रवि लामिछानेले मंगलबार पूर्णकालीन राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए । यद्यपि उनको पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छैन । साथै उनले ‘घण्टी’ लाई आफ्नो पार्टीको चुनाव चिह्न प्रस्तावित गरेका छन् ।