'रअ' भित्रका अनौठा यौनकाण्डहरू - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘रअ’ भित्रका अनौठा यौनकाण्डहरू



कार्यस्थलमा यौन सम्बन्धित घटनाहरू भारतका लागि मात्र नभएर विश्व भरिनै साझा विशेषताहरू हुन्। यस्तो घटना ‘रअ’मा मात्र अपवाद हुने कुरा पनि भएन। भारतमा यस महामारीले जीवनका हरेक क्षेत्रमा आँधी ल्याइरहेको छ चाहे त्यो राजनीति होस्, प्रतिरक्षा बल होस्, नागरिक कर्मचारीतन्त्र होस् वा अन्य कुनै कार्य स्थल होस्। त्यस्ता अपूर्व अनुभवहरूका लागि फिल्म उद्योग सबैभन्दा सजिलो सिकार स्थल हो। राजनीतिज्ञहरूबीचमा, इन्दिरा गान्धीको मन्त्रीमण्डलका प्रभावशाली मन्त्री एल.एन. मिश्र र नारायण दत्तले मन्त्रालयका आफ्ना कार्यलयहरूलाई यस साहसिक कार्यका लागि आफ्ना सिकारहरू बोलाउने सबैभन्दा सुरक्षित स्थलका रूपमा प्रयोग गरेका कथाहरू हामी युवा हुँदा प्राय सुनेका हौँ। नेहरूको युगमा, विधुर भएकाले उनी आफैँ केही सुन्दर महिलाहरूका लागि मन परेका मानिस हुने गर्थे र तीनमूर्ति भवनमा इन्दिरा गान्धीले उनलाई यी मोहिनी ‘बाज’हरूबाट जोगाउन आफ्नो बहुमूल्य शक्ति खर्च गर्नुपर्थ्यो। उनका प्रतिरक्षा मन्त्री कृष्ण मेनन यस विषयमा स्पष्टवादी थिए र उनी गोरा युवतीहरूसँग लन्डनका स्वीमिङ पुलहरूमा बारम्बार देखिन्थे। हामीले नेहरू र उनको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री रहेकी राजकुमारी अमृत कौरका बारेमा धेरै चुटकिलाहरू पनि सुनेका थियौँ। नेहरूका नजिकका सहयोगी एम.ओ. मथाईले उनका पुस्तकमा नेहरू युगका त्यस्तै रमाइला घटनाहरू लेखेका छन्। तर यी मिश्र र तिवारीको जस्तो निर्भीक काम नभएर विनोदका लागि फैलाइएका कथा मात्र हुन्।

‘रअ’को मानिस भएको नाताले भूतपूर्व प्रधानमन्त्रीका वाहन चालकले मलाई भनेका थिए – एउटी प्रमुख नायिका बिहानको उडान पक्रिएर दिल्ली आउँने गर्थिन् र ती प्रधानमन्त्रीसँग तीनचार घण्टा बिताइसकेपछि दिउसोको फिर्ती उडान पक्रिएर फर्किन्थिन्। अचेल त्यस्ता आरोपहरूलाई व्यक्तिगत जीवनमा आक्रमण गर्नका लागि तोड-मोड गरिन्छ। अस्ट्रेलियाका प्रमुख मेडिया उद्योगपति केरी प्याकरले भारतमा आफ्नो व्यापार विस्तार गर्न चाहेका थिए। उनले सबै पार्टीहरूसँग राम्रो सम्बन्ध भएका दुई-चक्के वाहनका दुई जना ब्यापारी(डिलर) नेताहरूसँग सेवा मागे। प्रारम्भिक छलफलका लागि उनीहरूलाई अस्ट्रेलिया लैजान केरी प्याकरले नीजि विमान पठाए। यस हवाई यात्रामा यी नेताहरूले अस्ट्रेलियाली गोरी सुन्दरीहरूको साथ पाए। पछि उनीहरूले ती सुन्दरीहरूसँग समुद्र सतहबाट ११ कि.मी. माथि धेरै शान्तिदायक यौन सम्बन्ध कायम गरेको भन्दै गफ लडाए। यी राजनीतिज्ञहरू मध्ये एकजना मनमोहन सिंहको मन्त्रीमण्डलका उनका ट्रबल-सूटर थिए र अर्का ती लज्जित व्यक्ति हुन् जसलाई प्रत्येक भारतीय राजनैतिक पार्टीले त्यागेका छन्। उनीहरू अहिले परस्पर विरोधी छन्।

१९७५-७७ को सङ्कटकाल पछि प्रतिष्ठित पत्रकार जनार्दन ठाकुरले एउटा पुस्तक लेखेका छन् जसमा त्यसबेलाका राजनीतिज्ञहरूका यौन सम्बन्धीत विवरणहरू समेटिएका छन्। सङ्कटकालका बेला प्रेसमा नियन्त्रण गरेकामा कुख्याती कमाएका भि.सि. शुक्ला सूचना तथा प्रसार मन्त्री थिए। उनको फिल्म्स डिभिजन अफ इन्डिया पनि आफ्नै दर्जा थियो। जनार्दन ठाकुर अनुसार, ए.के. बर्मा(पछि ‘रअ’का प्रमुख)सँग मस्कोमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन जाँदा उनका यार र मन्त्रालयका संयुक्त सचिवले एउटी भारतीय नायिकालाई, जसको नाम उनको आधा नामसँग मिल्थ्यो, राति आफ्नो कोठामा बोलाएका थिए तर ती नायिकाले अस्वीकार गरिन्। उनले आफ्नो किताबमा यस्ता थुप्रै प्रसङ्गहरू उल्लेख गरेका छन्।

प्रमुख राजनीतिज्ञहरूका यौन व्यभिचारहरू बारे ‘रअ’का गुप्तचरहरू र अन्य स्रोतहरूबाट सुनेका असङ्ख्य घटनाहरू म आफ्नो दिमागी अभिलेखालयबाट सम्झिन सक्थेँ तर यसले मेरो पुस्तका थुप्रै पृष्ठहरू मात्र नष्ट गर्नेछ। यौन समागम र शरीरको मालिस गराउनका निमित्त बुद्धिमान राजनीतिज्ञहरूका लागि काठमाडौँ, बैङ्कक र गोआ अब अर्थहीन भैसके किनकि त्यस्ता अस्थायी डेराका लागि प्राय हरेक शहरमा राम्रा ठाउँहरू छन्।

पूर्ण विनम्रता र आदरका साध म यस महान देशका आरणीया महिलाहरूसँग क्षमा माग्छु, केही महिला राजनीतिज्ञहरूले पनि राजनीतिमा उच्च पदमा पुग्नका लागि यस्तै सिँढीको प्रयोग गरेको कुरा भन्दा मलाई कुनै हिचकिचाहट छैन।  यस पुस्तकको सार्वजानिकीकरण पछि मैले सामना गर्नु पर्ने आलोचनाका लागि मलाई अग्रिम क्षमा दिनुपर्ने हुन्छ। केही वर्षअघि, मेरा एक परिचित व्यक्ति नयाँ दिल्लीकी एकजना प्रमुख महिला राजनीतिज्ञको घरमा गए।  ती महिलासँग अर्का पुरुष राजनीतिज्ञ पेन्ट फुकालेको अवस्थामा शयनकक्षमा भेटिए। पछि ती राजनीतिज्ञ छोटो समयका लागि प्रधानमन्त्री पनि बनेका थिए।

हाल, प्रतिरक्षा बलका सामाजिक समारोहहरूलाई अर्का अपरिभाषित क्षेत्र हुन् जहाँ त्यस्ता किसिमका घटनाहरूको रिपोर्ट मेडियामा आउने गरेको छ। अचेल नागरिक कर्मचारीतन्त्रले यस म्याराथनमा आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्ने गरेको पाइन्छ।

त्यसैले दैनिक जीवनको यस खेलमा ‘रअ’का मुखियाहरूलाई मात्र सोझै दोष दिइनु हुँदैन किनकि अन्य ब्युरोक्र्याटहरूका तुलनामा कानुन कार्यान्वयन एजेन्सीहरूबाट पक्राउ पर्नबाट उनीहरू मुक्त छन्। आफ्नो योजनाअन्तर्गत गोपनीयताका नाममा उनीहरूसँग लगभग सबै भारतीय सहरहरूमा सुरक्षित घरहरू छन् जहाँ उनीहरूलाई पक्रन अर्को एजेन्सीले छिर्ने समेत आँट गर्दैन। उच्च तहका लागि, ‘रअ’कै शाखा उड्डयन अनुसन्धान केन्द्र(एआरसि)का विमानहरू उपलब्ध छन् जसलाई सर्वसाधारणको आँखामा छारो हाल्नका लागि अपरेसनल ड्युटीका नाममा स्वतन्त्र प्रयोग गरिन्छ।  आफ्ना प्रेमिकाहरूलाई बिहान पहाडी स्टेसनहरूमा लान र बेलुका लिएर फर्किन यी विमानहरू केही शक्तिशाली नेताहरूलाई समेत उपलब्ध गराइएको छ। यसले यस देशका गरिब जनताहरूलाई सेवा गर्ने उनीहरूको महत्त्वपूर्ण समय जोगिएको छ। मैले यी परिश्रमी राजनीतिज्ञहरूलाई दोष दिनु हुँदैन किनकि आगामी संसदीय निर्वाचन आउँदै गरेका बेला आआफ्नो पार्टीलाई बदनाम गराउन मैले जानीजानी उनीहरूको नाम प्रयोग गरेको दाबी गरेर मेरो भनाइको खण्डन गर्नेछन्। तर पनि यी सबै तथ्य हुन् जहाँ एआरसि विमानहरूको छोटो यात्राका रेकर्डहरूलाई महत्त्वपूर्ण अपरेसनल ड्युटीका लागि अत्यन्त गोपनीय भनेर उल्लेख गरिन्छ। यी राजनीतिज्ञहरूका मिसनलाई अति सुरक्षित रहस्य राख्‍नका लागि वास्तविक गन्तव्यको उल्लेख समेत गरिँदैन।

भूतपूर्व ‘रअ’ प्रमुखका संक्षिप्त विरणहरू

भूतपूर्व ‘रअ’ प्रमुखहरूमा, संस्थापक पिता आर.एन.काओ सम्पूर्ण सज्जन थिए – एक-पत्नी मानिस। उनी शाकाहारी, धुम्रपान नगर्ने, मद्यपान नगर्ने र आफ्नी पत्नीप्रति निष्ठावान थिए। त्यस्ता मानिसहरू उनीहरूको पेसागत काममा एकदमै खतरनाक हुन्छन् जुन उनले ‘रअ’ प्रमुखका रूपमा प्रमाणित पनि गरे – बङ्गलादेशको मुक्ति र सिक्किमको विलयमा। उनका कनिष्टहरूले उनलाई चरित्रको उच्चतम गौरव भनी उल्लेख गर्नेगर्छन्। के. शङ्करन नायर केही चकचके भएता पनि उनीविरूद्ध त्यस्ता आरोपहरू सुनिएन यद्यपि बिहे गर्दा उनलाई चालीसेले छोइसकेको थियो। त्यसपछिका ‘रअ’का प्रमुखहरू एन.एफ. सन्तूक, जि.सि. सक्सेना र ए.इ. जोशी पनि निष्कलङ्क चरित्र र नैतिकता भएका मानिसहरू थिए।

‘रअ’की एउटी मोहिनी महिला मैले भेट्दा अधिकारी प्रारम्भिक तीसे उमेरमा थिइन्। ‘रअ’को मुख्यालयमा प्रवेश गर्दा आफूलाई हजारभन्दा बढी आँखाहरूले बलात्कार गर्छन् भनी उनले निर्भीक भएर भनेकी थिइन्। मैले यही कुरा अर्की वरिष्ठ महिला अधिकारीलाई सुनाउँदा, ‘रअ’का महिला अधिकारीहरूले समेत उनलाई आँखाले बलात्कार गर्ने गरेको बताइन् किनकि ती महिला अधिकारी विशेषगरी सिलाइएका पिठ्यूँ नभएका ब्लाउज लगाएका कारण पछाडिबाट हेर्दा लगभग नाङ्गै देखिन्थिन्। उनको पर्फ्युमको आनन्द ५० मिटर परबाट पनि लिन सकिन्थ्यो। उनले आफ्नो मोहिनी रूपको पूर्ण फाइदा उठाइन् र आगामी ‘रअ’ प्रमुख ए.के. बर्माकी नियमित सहचरी बनिन्। बर्माले गरेका हवाई यात्राहरूको विवरण हेर्ने हो भने उनले देश या विदेश ती महिलालाई सँगै लगेका थिए, ‘अपरेसनल काम’का लागि। उनीहरूको मद्रास अल्पवास धेरै पटक हुन्थ्यो किनकि बर्माले त्यसबेला एलटिटिइको व्यवस्थापन गरिरहेका थिए। एकपटक बर्माको कार्यकक्षको ढोकाको घण्टी बज्दा उनी तिनै महिलासँग कार्यकक्षसँगैको भएको शयनकक्षमा थिए। कुनै के.पि. रविकुमारले नेतृत्व गरेको प्रतिगुप्तचर र सुरक्षा स्टाफ(काउन्टर इन्टेलिजेन्स एन्ड सेक्युरिटी) कुनै गडबडीको गन्ध पाएपछि त्यो शयनकक्षतिर कुदेको थियो र बर्मालाई पेन्टरहित र अनुहारमा लिपिस्टिकसहित पक्रेको थियो। ती महिला भने बाथरूपमा लुकेकी थिइन्। बर्मा सेवा निवृत्त भएपछि, यी महिलाले ‘रअ’का रूपवान संयुक्त सचिवको साथ पाइन्। सिआइएस एकाइका संयुक्त सचिव एस. सौन्द्राले मलाई सूचीत गरे अनुसार यी संयुक्त सचिव र ती महिला हङकङको अनधिकृत यात्रामा ‘रअ’को अनुमति बिनै गएका थिए। यस अभियोगमा ती महिलालाई उनको मूल काडरमा फिर्ता गरियो र ती संयुक्त सचिवलाई स्वेच्छिक अवकाश ग्रहण गर्न लगाइयो। यी पदमै भएका भए पछि गएर ‘रअ’को प्रमुख हुने निश्चित थियो।उनीहरूको अवैध सम्बन्धका बारेमा उनीहरूका परिवारहरू मिलीसकेका छन् र अहिले इन्डोनियामा गरिने कुनै व्यवसायमा साझेदार पनि रहेका छन्।

ए.के. बर्माको ठाउँ आउने जि.एस. बाजपेयीकी पत्नी निकै सुन्दर थिइन् र ‘कभी-कभी’ फिल्ममा सहयोगी भूमिका खेलेकी थिइन्। उनलाई पनि ‘रअ’मा महिलाहरूलाई इज्जत गर्ने विशेषताका लागि चिनिन्छ। बाजपेयीपछिका एन. नरसिंहनको दुई महिलासँग यौन सम्बन्ध थियो र उनलाई ती दुई महिलाले थाङ्नामा सुताइरहे। उनका नीजि सचिवले भने अनुसार उनी आफूलाई पोर्नोग्राफजन्य छापा-सामग्री हेर्नमा व्यस्त राख्थे। ती सामग्रीहरू उनलाई उनका घनिष्ठ मित्रहरूले कुटनैतिक ब्यागमार्फत पठाउँथे। उनी पहलकर्ता थिएनन् तर भोका सिकारी भने थिए।

९वौँ देखि १३औँ सम्मका पछिका ‘रअ’का प्रमुखहरू जे.एस. बेदी, ए.एस. स्याली, रञ्जन राय, अरविन्द कु. दबे, ए.एस. दुलट, विक्रम सूद, सि.डि. सहाय र पि.के.एच. थाराकनले केही हदसम्म उपयुक्त आत्मसम्मान कायम राखे र यौन सम्बन्धीत घटनाहरूमा उनीहरू बारे कुनै प्रतिकूल आरोप-प्रत्यारोप सुनिएन। यद्यपि आफ्ना महिला साथीहरूलाई मनोरञ्जन दिँदा उनीहरूमध्ये केहीले सुरक्षित घरहरू प्रयोग गरेका केही घटनाहरू भने छन्।

अशोक चतुर्वेदीद्वारा उत्पीडित निशा भाटिया (निर्देशक)

अगस्ट २००८ मा गुडगाउँस्थित ‘रअ’को तालिम शाखामा निर्देशकका रूपमा कार्यरत ‘रअ’की एक वरिष्ठ अधिकारी निशा भाटियाले साउथ ब्लकमा प्रधानमन्त्रीको कार्यालय बाहिर विष सेवन गरेर आत्महत्याको प्रयास गरिन्। उनले यो कठोर कदम निराशा र विरक्तिका कारण चालेकी थिइन् किनकि ‘रअ’का अर्का अधिकारीले उनीमाथि गरेको यौनिक उत्पीडनका बारेमा उनले गरेको सिकायतमा कुनै कानुनी कार्बाही गरिएको थिएन। जब उनी औपचारिक सिकायत गर्न ‘रअ’का सचिव अशोक चतुर्वेदीकहाँ पुगिन्, उनीबाट यौनिक कृपया पाउनका लागि उनले अशिष्ट शब्दहरूको प्रयोग गरे। अशोक चतुर्वेदीका प्रस्तावको उत्पीडनबारे उनले प्रधानमन्त्रीलाई सिकायत गर्ने निधो गरिन्। उनलाई न्याय दिलाउनुको साटो ‘रअ’का उच्चाधिकारीहरूले आफ्नो छाला जोगाउन चतुर्वेदीको आदेशमा उनलाई मानिसिक रोगी चित्रित गरे। यदि उनी मानसिक रोगी भएकी भए वा डिप्रेसनमा भएको भए उनले प्रधानमन्त्रीको कार्यालय अघि पूर्णतया मनोव्यथा र घृणाका कारण त्यस्तो कदम चाल्नुको साटो आफ्नै घरमा आत्महत्या गर्ने थिइन्। अशोक चतुर्वेदी र उनको मण्डलीले उनको सम्बन्ध विच्छेद भएका कारणले उनीबाट यौनिक लाभ लिन खोज्यो र यो समस्याको जड उनी एकल हुनु देखियो। उनले आफ्नो लिखित गुनासोमा अर्का संयुक्त सचिव एम.के. प्यासीले पनि आफ्नो दुर्दशाबाट लाभ लिन खोजेको बताइन्। प्यासी चतुर्वेदीका नजिकका सहयोगी थिए। काठमाडौँमा दाउद इब्राहिमका एजेन्ट राकेश वाध्वासँग पनि उनको सम्बन्ध थियो। उनको मोबाइल फोनको विवरणले उनी वाध्वा र उनकी पत्नीसँग नियमित सम्पर्कमा थिए भन्ने देखाउँछन्। निशा भाटियाको यौन उत्पीडन र उनले गरेको प्रतिकार बारे अध्याय १९ – ”रअ’को अधोगति’मा विस्तृत व्याख्या गरिएको छ।

यो घटनाभन्दा करिब तीन महिना पहिले, उनले राष्ट्रिय सुरक्षा सल्लाहकार एम.के. नारायणन र क्याबिनेट सचिव के.एम. चन्द्रशेखरलाई व्यक्तिगत रूपमा भेटेकी थिइन्। उनले सो सिकायत उनीहरूलाई पनि दिइन् तर ती दोषी अधिकारीहरूविरूद्ध कुनै कार्बाही गरिएन। ‘रअ’का उच्चाधिकारीहरूको अभिघातजन्य व्यवहारले उनी यति साह्रो निरूत्साहित भइन् कि औपचारिक अनुमति हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई भेट्न नदिएकामा उनले कार्यालय सामु नै आत्महत्या गर्ने कठोर निर्णय लिइन्। यो कुरा मिडियाले पनि प्रकाशित गरेको थियो तर निशा भाटियाको सिकायतमा ध्यान दिँदै कुनै तहमा कुनै पनि सुधारात्मक उपाय गरिएन।

यो साधारणभन्दा साधारण आपराधिक कार्य थियो जसका लागि सर्वोच्च न्यायालयले कार्यालयमा महिला कर्मचारीलाई यौनिक उत्पीडन गर्न कोसिस गर्ने व्यक्तिलाई अभियोग लगाउन भिशाखा मार्गदर्शन स्थापित गरेको छ। तर ‘रअ’ भारत सरकार भित्र अर्को सरकार भएकाले त्यस्ता मार्गदर्शनहरू यहाँ मानिँदैनन्। यदि राष्ट्रिय सुरक्षा सल्लाहकार वा क्याबिनेट सचिवले यस घटनालाई ‘रअ’को परिधिबाट बाहिर निकालेको भए, उनले प्रधानमन्त्री कार्यालयको सामु आत्महत्या जस्तो कठोर कदम चाल्ने थिइनन्।

अर्का प्रमुख के.सि.  बर्मा ‘रअ’मा नयाँ थिए । उनको काम तलब खानु र समय कटाउनु थियो। ‘रअ’का अन्तिम प्रमुख एस.के. त्रिपाठीसँग गुरिन्दर सिंह र अशोक चतुर्वेदीको मण्डली थियो जससँग उनले ‘रअ’का धेरै महिलाहरूको शोषण गर्ने कोसिस गरे। यद्यपि, ‘रअ’को प्रमुखको हैसियतमा सेवा गर्दा भने त्रिपाठीको कार्यसम्पादन रेकर्ड राम्रो रह्यो तर अस्सीको दसकको अन्त्यमा मैले अमृतसरमा काम गर्दा मलाई मेरा सहकर्मीहरूले सूचीत गरे अनुसार उनको सम्बन्ध केही महिलाहरूसँग थियो जसलाई उनी आफ्नी पत्नी अनुपस्थित भएका बेला निवासमा बोलाउने गर्थे।

अन्य घटनाहरू

यौन सम्बन्धी घटनाहरूमा संलग्न हुने ‘रअ’का निश्चित अधिकारीहरूको मानसिकताले यौन-लक्ष्यित मानसिकताको प्रतिबिम्बन गर्छ। अपरेसनल ड्युटीका क्रममा सम्पर्कमा आएका धेरैजसो एजेन्टहरूलाई यौनका लागि वेश्या प्रदान गर्नेजस्ता अनैतिक सुविधा प्रदान गरी मनोरञ्जन प्रदान गरिन्छ।  यो परपीडक कार्य-संस्कृतिले धेरै कर्मचारीलाई आफ्नै महिला सहकर्मीलाई शोषण गर्न प्रेरित गर्छ वा कहिले उनीहरू आफैँ विदेशी एजेन्टद्वारा शोषित हुन्छन्। ‘रअ’मा त्यस्ता घटनाहरू अनगिन्ती छन् जसले यस सङ्गठनलाई निरन्तर लखेटिरहेको छ र धेरै अधिकारीहरू विभागीय कार्बाहीमा परेका छन् वा उनीहरूलाई सेवाबाट बरखास्त गरिएको छ।

मैले १९७३ मा ‘रअ’मा नियुक्ति लिँदा, सेनाका अवकाशप्राप्त कर्नेल मेरा हाकिम थिए। यी कर्नेलले वेश्याहरूलाई सुरक्षित घरहरूमा बोलाउने गर्थे जुन ‘रअ’का भव्य भवनहरू हुन्। उनी वृद्ध थिए र सन्तोषजनक रूपमा यौनको आनन्द लिनका लागि उनी शक्तिवर्धक इन्जेक्सन लगाउँथे वा ट्याब्लेट खान्थे। मलाई ‘रअ’का भित्रियाहरूले भने अनुसार, उनी यौन क्रियाकलाप गर्दै गर्दा थकित हुन्थे र यौन क्रिया पूरा गर्नका लागि ‘रअ’का दुई जना बलिया कन्स्टेबलहरू तम्तयार राखिन्थे; उनीहरूको काम भने उनको यौनक्रियालाई अन्त्य गर्न शारीरिक रूपमा उनलाई उचाल्दै र तल ठेल्दै गर्नुपर्थ्यो। आर्थिक अनियमितताका लागि ती कर्नेलविरुद्ध अनुसन्धान गर्दा, ती कन्स्टेबलहरूलाई साक्षी बस्न भनियो।  उनीहरूले आफूहरूले गरेको ड्युटी स्वीकार गरे।

अस्सीको दसकको सुरुतिर, ‘रअ’मा निर्देशकका रूपमा काम गर्दै गरेका एकजना आइपिएस अधिकारी ए.पि. मिश्रलाई काठमाडौँको भारतीय आयोगमा नियुक्त गरिएको थियो। उनले दूतावासमा नियुक्त कनिष्ठ तहकी एकजना महिला कर्मचारीको शोषण गरे। पछि उनलाई ‘रअ’को अतिरिक्त कमिसनरका रूपमा लखनउको कार्यालयमा उनलाई फिर्ता ल्याउँदा, उनलाई ती महिलासँग सुरक्षित गृहमा ‘रअ’ कर्मचारी सङ्गठनका केही एक्टिभिस्टहरूले समाते। उनलाई उनको मूल युपि काडरमा पठाइता पनि उनीविरुद्ध कुनै अनुशासनात्मक कार्बाही गरिएन।

१९८७ मा, आइपिएस अधिकारी, संयुक्त सचिव के.भि. उन्निकृष्णन् पहिलेको मद्रासमा काम गर्थे र त्यसबेला अमेरिकी महिला सिआइए एजेन्टले उनलाई प्रयोग गर्दै उनीबाट सम्पूर्ण गोपनीय जानकारी लिइन्। इन्टेलिजेन्स ब्युरोले पत्ता लगाएपछि, उनलाई जासुसी गरेकामा गिरफ्तार गरियो र जेल चलान गरियो। पछि उनलाई बरखास्त गरियो।

नब्बेको दसको सुरुतिर, ‘रअ’मा निर्देशकका रूपमा कार्यरत पि.के. बेनुगोपाललाई तामिल नाडुका भूतपूर्व मुख्यमन्त्री एम.जि. रामचन्द्रनकी भान्जीले विवाहेत्तर सम्बन्ध राखेकामा सम्बन्ध विच्छेद गरिन्। सामान्य अवस्थामा हो भने, ‘रअ’मा काम गर्ने एकल कर्मचारीलाई कहिल्यै वैदेशिक नियुक्तमा पठाइँदैन। यो नियम जान्दाजान्दै ‘रअ’को वैदेशिक नियुक्तिमा उनलाई तेहरानको भारतीय दूतावासमा पठाइयो। इरानी गुप्तचर अधिकारीहरूले उनलाई होटलमा महिलासँग व्यभिचार गर्दै गरेको भेटे र यसै आरोपमा उनलाई भारत फिर्ता गरियो। भारत फर्केपछि उनलाई राजीनामा गर्न लगाइयो। पछि उनले इरानकै शिया महिलालाई राखे जससँग इरानमा रहँदा उनको अनैतिक सम्बन्ध बनेको थियो। यी महिला अवैधानिक तरिकाले बेनुगोपालको मिलीभगतमा भारत छिरेको रिपोर्ट गरिएको थियो।

अगस्ट १९९७ मा, ‘रअ’का तीन महिलाहरूलाई वसन्त इन्टरकन्टिनेन्टल होटलबाट दिल्ली पुलिसले वेश्यावृत्तिको आरोपमा पक्राउ गऱ्यो। यी महिलाहरूलाई पुलिस थाना लैजाँदा यिनीहरू धेरै मातेका थिए। तीमध्ये एक चिनियाँ भाषा विशेषज्ञ थिइन् र अन्य दुई नीजि सहयोगीहरू थिए। दिल्ली पुलिसले उनीहरूको स्वामीत्वबाट ‘रअ’को परिचय पत्र जफत गऱ्यो र उनीहरूलाई पक्राउ गरेको सूचना उच्चाधिकारीहरूलाई दिइयो। ‘रअ’का उच्चाधिकारीहरूले यो घटना सामसुम पारे र दिल्ली पुलिसलाई कुनै मुद्दा दर्ता गर्न दिएनन्। ती महिलाहरूले आफूहरूको परिचितलाई कुनै अनूदित दस्तावेज दिन गएको भनी दाबी गरेका थिए। ‘रअ’को सिआइएस एकाइले गरेको आन्तरिक अनुसन्धान पनि सधैँझैँ सुरक्षित रहस्य भएर रह्यो। यसको छ महिनाअघि, आइबिका तीन महिलाहरूलाई पनि वेश्यावृत्तिको आरोपमा पक्राउ गरिएको थियो र इमोरल ट्राफिक प्रिभेन्सन एक्टअन्तर्गत मुद्दा दायर गरिएको थियो। ती महिलाहरूले आइबिका सह निर्देशकले आफूहरूलाई यो पेसा गर्न बाध्य पारेको खुलासा गरे। अर्को दिन ती निर्देशकले आत्महत्या गरे।

उत्तर-पूर्वी कार्यालयमा एउटी महिला सेविकालाई शोषण गर्दै गरेको भेटेपछि निर्देशक आर.भि. गुजलाई सेवाबाट बरखास्त गरियो । यसभन्दा पहिले पनि ‘रअ’को मुख्यालयमा महिला सहकर्मीसँग अवैध सम्बन्ध विकसित गर्न कोसिस गरेका आरोपहरू उनीविरूद्ध लागेका थिए।

१९८८ मा उडिसा काडरका १९७१ ब्याचका आइपिएस अधिकारी सुचित दास धेरै पटक नयाँ दिल्लीमा बङ्गलादेश आयोगकी महिलासँग विनोद गर्दै गरेको अवस्थामा ‘रअ’को निरीक्षण टोलीद्वारा भिडियो टेपमा समातिएका थिए। यी महिलालाई बङ्गलादेश गुप्तचर अधिकारीहरूले सुचित दास ढाका स्थित भारतीय आयोगमा सेवारत रहँदा आफ्नो एजेन्ट नियुक्त गर्न प्रयोग गरेका थिए। आफ्नो कार्यकाल सकेर सुचित दास भारत फिर्दा ती महिलालाई पनि बङ्गलादेश गुप्तचर विभागले दाससँग सम्बन्ध राखीराख्‍न भारत पठायो। उनले दासलाई प्रयोग गरेर धेरै गोपनीय जानकारी लिइन्। सुचित दासविरुद्ध कुनै पनि आपराधिक अभियोग लगाइएन र अनैतिक सम्बन्ध पत्ता लागेपछि उनलाई मूल काडरमा फिर्ता गरियो। आश्चर्य मान्नुपर्छ, विदेशी एजेन्टसँग संलग्न भएको ठोस प्रमाणहरू हुँदाहुँदै पनि उनीविरूद्ध विभागीय कार्बाही गरिएन।

२००६ मा, ‘रअ’का संयुक्त सचिव आइपिएस किशोर झाले नब्बेको दसकको मध्यतिर आफ्नो आइएएस सहपाठीकी पत्नीलाई यौन शोषण गर्न खोजे। ती महिलाले सिकायत गरेपछि तत्कालीन प्रधानमन्त्रीको हस्तक्षेपमा उनलाई मनिपुरको मूल काडरमा फिर्ता गरियो। यद्यपि, उनले राजनैतिक रूपमा ‘रअ’मा पुनर्प्रवेश पाए। जोधपुरमा कार्यरत रहँदा ‘रअ’की महिला कर्मचारीमाथि मदोन्मत्त अवस्थामा जाइलाग्न खोजे। त्यसपछि उनलाई ‘रअ’को मुख्यालयमा सरुवा गरियो। यहाँ पनि एकजना महिला अधिकारीलाई यौन कृपाका लागि प्रयोग गर्न खोज्दा दुईअर्थी शब्दहरूको प्रयोग गरे। यो कुरा ‘रअ’का तत्कालीन सचिव पि.के.एच थाराकनसमक्ष रिपोर्ट गरियो तर उनीविरूद्ध कुनै कार्बाही गर्नुको साटो, उनलाई ‘रअ’को गुप्तचरका रूपमा जर्मनीको बोन सहरमा नियुक्त गरियो।

जुन २००६ मा, कम्प्युटर विभागका निर्देशक ब्रिगेडियर उज्ज्वल दासगुप्तालाई दिल्लीस्थित अमेरिकी दूतावासमा कार्यरत सिआइएकी महिला गुप्तचर रोसाना मिन्च्यूसँग कथित सम्बन्धका लागि गिरफ्तार गरियो। उनलाई जासुसीको अभियोगमा गिरफ्तार गरियो र जमानत प्राप्त गर्नुभन्दा पहिले लामो समय सम्म उनले तिहार जेलमा बस्नु पऱ्यो।

अक्टोबर २००७ मा १९७५ का ‘रअ’को प्रत्यक्ष भर्ना ब्याचका संयुक्त सचिव रवि नायरलाई  संदिग्ध चिनियाँ एजेन्टसँगको संलग्नताका लागि कोलम्बोको भारतीय दूतावासबाट अचानक फिर्ता बोलाइयो। ‘रअ’का वरिष्ठ सम्पर्क स्रोतहरूले खुलासा गरे अनुसार ती महिला नायरसँग भूटानको कार्यकालदेखि नै संलग्न थिइन्। उनी चिनियाँ गुप्तचरीका लागि काम गर्ने उत्तर-पूर्वकी महिला थिइन्। यो सम्बन्ध हङकङमा पनि जारी थियो तर पत्ता भने कोलम्बोमा लागेको थियो। ‘रअ’मा नायरको विगत सन्देहास्पद रहेको थियो। कुनै सम्पर्क स्रोतले आफ्नो पारिश्रमिकको ४०,००० डलर उनले खाइदिएको आरोप लगाएको थियो। अझ, उनले चार वर्षभन्दा बढी पाकिस्तानमा काम गरेका थिए। पहिले आइएसआइको हस्तक्षेपका कारण अन्य कुनै ‘रअ’ अधिकारीले यति लामो कार्यावधि कहिल्यै पूरा गर्न सकेको थिएनन्। उनीविरूद्ध आइएसआइसँग मित्रता गाँसेका आरोपहरू लागेका थिए। महिला गुप्तचरसँगको संलग्नतामा, अशोक चतुर्वेदीद्वारा उनीविरूद्ध कुनै कडा कार्बाही गरिएन र अनपेक्षित रूपमा उनलाई उत्तर-पूर्वको संवेदनशील डेस्कको नेतृत्व प्रदान गरियो।

मे २००८ मा ‘रअ’को संवेदनशील विज्ञान तथा प्रविधि विभागका निर्देशक एम.एम. शर्मालाई चिनियाँ गुप्तचर अधिकारीहरूले बेजिङमा वेश्यासँग यौन क्रियाकलाप गर्दै गरको भिडियो टेपमा रेकर्ड गरे जहाँ उनी भारतीय आयोगमा नियुक्त थिए। उनलाई अवाञ्छित व्यक्ति(पर्सोना नन ग्राटा) घोषणा गरियो र भारत पठाइयो। पछि उनलाई सेवाबाट बरखास्त गरियो। शर्माले लेखकलाई दिएको जानकारी अनुसार उनलाई चिनियाँ उच्चाधिकारीहरूले फँसाएका थिए किनकि उनले बेजिङमा शिक्षक रहेकी ती महिलाबाट जानकारी लिइरहेका थिए। उनले तिनीसँग यौन सम्बन्ध भएको स्वीकार गरे। उनले विशुद्ध मूर्खतामा उनीहरूको यौन क्रियाकलापका केही फोटोहरू कम्प्युटरमा पोस्ट गरेका थिए। तिनै फोटोहरू पछि ‘रअ’ उच्चाधिकारीहरूले जफत गरेका थिए। ‘रअ’ले गरेको यो अर्को गडबडी थियो किनकि शर्मा विधुर थिए र नियमानुसार उनलाई विदेशी नियुक्तिका लागि छनोट गर्नु हुँदैनथ्यो।

‘रअ’का विशेष सचिव गुरिन्दर सिंहलाई रविन्दर सिंहका घरमा एउटी महिलासँग यौन क्रियाकलाप गर्दै गरेको जासुसी क्यामेराको भिडियो टेपमा रेकर्ड भएको पाइयो। यो जासुसी क्यामेरा ‘रअ’का उच्चाधिकारीहरूले रविन्दर सिंहका क्रियाकलापहरू निरीक्षण गर्न उनको निवासमा गोपनीय रूपमा राखेका थिए। ‘रअ’का उच्चाधिकारीहरूले उनीविरूद्ध पनि कुनै अनुशासनात्मक कार्बाही गरेनन् र उनलाई अवकाश ग्रहण पछिको नियुक्तिमा मोरिसस सरकारमा काम गर्न पठाए। लेखकलाई एक स्टाफ सदस्यले सूचीत गरेअनुसार गुरिन्दर सिंह लन्डनस्थित भारतीय उच्च आयोगमा मन्त्रीका पदमा कार्यरत हुँदा, भारतीय मूलकी एक महिलाले उनीसँग अनैतिक सम्बन्ध स्थापना गरेर भिसा प्राप्त गरेकी थिइन् र त्यो सम्बन्ध उनी त्यहाँ रहुन्जेल जारी रहेको थियो।

जुलाइ २०१३ मा, ‘रअ’को भाषा विभागकी भाषाविद रचना श्रीवास्तवलाई डानिक्स(डिएएनआइसिएस) अधिकारी राजेश कुमारसँग यौन क्रियाकलाप गर्दै गर्दा ‘रअ’ मुख्यालयको उनको कार्यकक्षमा फेला पारियो। सिआइएस एकाइ उनीहरूको सम्बन्धका विषयमा जानकार थियो र उनीहरूलाई रङ्गेहात पक्रिनका लागि, ती महिलाको कक्षमा जासुसी क्यामेरा जडान गरिएको थियो। यस घटनाको तुरुन्तै पछि राजेश कुमारलाई उनको मूल काडरमा फिर्ता गरियो र रचनालाई स्वेच्छिक अवकाश ग्रहण गर्न लगाइयो। आश्चर्य मान्नुपर्छ, यी महिलाले अवकाश ग्रहणका कागजपत्रहरू बुझाउँदा लिन मानिएन। ‘रअ’का उच्चाधिकारीहरूले गरेका निर्णयहरू कहिले काहीँ निकै अनौठा लाग्छन् जहाँ अपराध प्रमाणित हुँदा समेत दोषीलाई खुसीसाथ काम गर्न दिइन्छ। त्यस्ता असङ्ख्य उदाहरणहरू पाइन्छन्।

मेरा ‘रअ’का धेरै साथीहरूसँग राम्रो मित्रवत सम्बन्ध भएकाले, साथी मध्ये एक जनाले मलाई भने अनुसार एक जना ठूला काङ्ग्रेसका नेता सबैभन्दा शक्तिशाली देशतिर उड्छन्। त्यस शक्तिशाली देशबाट उनी आर्थिक र अन्य विनिमयहरू मिलाउन चार्टर गरिएको विमानमा तेस्रो देश उड्छन् र फेरि शक्तिशाली देशमा चार्टर विमानबाटै फिर्ता आउँछन्; र त्यहाँबाट उनी भारत फिर्छन्।

यी ‘रअ’का वरिष्ठ अधिकारीहरूका केही घटनाहरू हुन् जसलाई कि विदेशी महिला एजेन्टहरूले उपयोग गरे वा उनीहरूले आफूहरूसँग काम गरिरहेका महिलाहरूको शोषण गरे। ‘रअ’मा त्यस्ता अन्य असङ्ख्य कुराहरू छन् जसलाई जनसाधारण सामु खुलासा गर्न पृष्ठौँपृष्ठ र घण्टौघण्टा लाग्छ।

(‘रअ’का पूर्व अधिकारी आर.के. यादवद्वारा लिखित र कुमुद अधिकारीद्वारा अनूदित मिसन ‘रअ’ को पुस्तक अंश) 

मिसन रअ मञ्जरी प्रकाशनले प्रकाशित गरेको हो। यसको सर्वाधिकार पनि मञ्जरी प्रकाशनसँग  सुरक्षित छ ।