एमसीसी टोलीसँग नेताहरूको भेट आपत्तिजनक: भीम रावल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमसीसी टोलीसँग नेताहरूको भेट आपत्तिजनक: भीम रावल



काठमाडौं- एमाले नेता भीम रावलले एमसीसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल आएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ ।

उक्त भेटलाई रावलले दबाबका रुपमा अर्थ्याएका छन् । घरघर पुगेर एमसीसी पारित गर्न दबाब दिनु स्वाधीनता विपरीतको कार्य भएको दाबी उनले गरेका छन् । उनले संविधान जारी गर्ने बेलामा जस्तै विदेशी प्रतिनिधि नेताको निवासमा पुग्नु आपत्तिजनक भएको जिकिर गरेका छन् ।

रावलले ट्वीटरमा भनेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घरघर पुगेर दबाब दिने, कस्तो विडम्बना? हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ ।’

यस्तै रावलले एमसीसीको विरोध गर्नेहरुमाथि प्रहरीले गरेको धरपडकको पनि विरोध गरेका छन् । ‘राष्ट्रिय हितमा शान्तिपूर्ण रूपले आवाज उठाउँदै नेपालको स्वाधीनता र हित विपरीतको एमसिसी सम्झौताको विरोध गर्नेहरूलाई पक्राउ र दमन गर्नु र गृह मन्त्रालयबाट संविधान प्रदत्त वाक स्वतन्त्रता विरूद्ध वक्तव्य दिनु निरंकुश, असंवैधानिक र राष्ट्र विरोधी कार्य हो । यस्तो कार्य सरकार बन्द गरोस्,’ रावलले भनेका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका पदाधिकारीले ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अरु दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन् ।