रावल र भट्टका चर्तिकलाले एमाले सुदूरपश्चिममा कार्यकर्ता 'कन्फ्युज' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रावल र भट्टका चर्तिकलाले एमाले सुदूरपश्चिममा कार्यकर्ता ‘कन्फ्युज’



धनगढी- नेकपा एमालेको १० बुँदे सहमतिले सुदूरपश्चिम प्ररदेशको राजनीतिक माहोल रोमाञ्चक बनेको छ । इन्चार्जको विषयलाई लिएर पार्टीभित्रको राजनीतिक माहोल गरम भएको छ ।

सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल र लेखराज भट्ट दुवैले प्रदेश इन्चार्जमा दाबी गरेपछि पार्टीमा टकराव सृजना भएको हो ।

७५ जेठ २ को स्थितिअनुसार स्वतः पाउनुपर्ने सुदूरपश्चिम प्रदेश इञ्चार्ज ०७७ पुस ५ पछि ओली खेमामा लागेका भट्टमै कायम रहने ओलीको अडानले अहिले १० बुँदे सहमति कार्यान्वयन हुनेमा नै शंका उत्पन्न भएको छ ।

सहमतिमा जेठ २ कै अवस्थामा पार्टी र गठन भएका संगठन र इन्चार्ज रहने उल्लेख गरिएको छ । तर, ओलीको अडानले त्यसो नहुने देखिएको छ ।

‘आइतबार ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रूपमा काम गर्ने भन्नुभएको छ’, एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले भने । ‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाईँले संयोजनकारी भूमिका निर्वाह गर्नुहोस् भन्नुभएको हो ।’ थापाले प्रदेशको अध्यक्षको जिम्मेवारी आफूले नै पाएको पनि बताए ।

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल, भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा जिम्मेवारी वहन गर्न भने पनि रावलले असन्तुष्टि जनाए ।

लगत्तै सोमबार एमाले उपाध्यक्ष रावलले आफू निकट नेताहरूसँग १० बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल समेत गरे ।

‘लाखौँ लाख कार्यकर्ताको रगत र पसिनाले बनाएको पार्टी हो । अन्तिमसम्म प्रयत्न गर्नुपर्छ । रावलले जेठ २ मा लैजान र १० बुँदे कार्यान्वयन गर्न नेतृत्व इमानदार भएर लाग्नुपर्छ भन्नुभएको छ,’ उनी निकट प्रतिनिधि सभा सदस्य झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ नत्र यहीँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्न सक्छ ।’

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक भएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुअघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए ।
पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बने । जेठ २ अघि एमालेमा इन्चार्ज भन्ने थिएन ।

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको भोलिपल्टै सोमबार लेखराज भट्ट गृह प्रदेश सुदूरपश्चिम पुगे ।

कार्यकर्तालाई समेत थाहा नै नदिई उनी सुटुक्क धनगढी विमानस्थलमा झरे । ‘हामीलाई उहाँ आउनेबारे केही जानकारी नै थिएन, स्वागत गर्न जान पनि पाएनौँ’, उनी निकट एक नेताले भने, ‘सोमबार अचानक उहाँ आउनुभयो अब सङ्गठनका काममा लाग्छौँ ।’

भट्टले सोमबार नै गृह क्षेत्र गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका जनप्रतिनिधिलगायत कार्यकर्तासँग भेट गरे ।

मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको भट्टले बताएका छन् ।

‘अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार्ज को हुने भन्ने बताइसक्नु भएको छ’, उनले भने, ‘अब यता कुनै विवाद छैन।’

यसैबीच एमालेका उपाध्यक्ष भीम रावल पनि मंगलबार धनगढी पुगे । नेता तथा कार्यकर्तासंग भेटघाट गर्न नेता रावल धनगढी आएको बताउँदै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदीले रावललाई नै सुदूरपश्चिम इन्चार्ज मानेको बताएका छन् ।

‘कार्यकर्ता भेटघाटका लागि उहाँ धनगढी आउनुभएको हो । उहाँले एकीकृत समाजवादीका नेता—कार्यकर्तासँग पनि भेट्ने इच्छा जाहेर गर्नुभएको छ’, सुवेदीले भने, ‘केही नयाँ हुन सक्छ ।’

मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् । उनले एमालेमाबाट जितेर समाजवादीमा लाग्ने नेताहरुलाई जनताले चुनावमार्फत दण्डित गर्ने ठोकुवा समेत गरे ।