रावलको ज्यान मार्ने धम्की: नेकपाको अर्को महरा काण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रावलको ज्यान मार्ने धम्की: नेकपाको अर्को महरा काण्ड



काठमाडौं– सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाटै ज्यान मार्ने धम्कि आएको खबरले नेकपामा तरङ्ग नै ल्याएको छ ।

भिम रावल आफैले यसको खुलासा गरेपछि नेताहरू अहिले सशंकित बनेका छन् भने कहिले आफ्नै हिसावले अनुमान पनि गरिरहेका छन् । कतिले भने यसलाई नेकपा भित्रको अर्को महाराकाण्डको रूपमा हेरेका छन् ।

पछिल्लो समय नेकपाभित्र एमसीसी र सभामुखको विवाद यतिसम्म चर्किएको छ कि कतिपयले यसैले नेकपाको दुर्घटना समेत हुने अड्कल गरेका छन् ।

पूर्व सभामुख कृष्णबहादुर महरा पनि एमसीसीकै सिकार बनेको र नेकपाले नै सिध्याएको पोल खुलेसंगै एमसीसी थप विवादित बनेको हो । अहिले नेकपाभित्रै एमसीसी अनुमोदन नगर्ने पक्षमा बहुमत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सुर्य थापा र भिम रावलबीच केहि समय यता सम्बन्ध राम्रो छैन । उनीहरू सार्वजनिक कार्यक्रम देखि सामाजिक संजालसम्म एक अर्काको खेदो खनिरहेका हुन्छन ।

बालुवाटार प्रधानमन्त्रीको सरकारी निवासबाट नै यस्तो धम्कि आउनु भनेको निकै खतरनाक कुरा पनि हो । जहाँबाट देश चल्छ त्यहींबाट जनता र नेताको ज्यान नै मार्ने धम्कि आउनु भनेको सामान्य मान्छेले सुन्दा पनि असहज हुने कुरा हो ।

सरसर्ती हेर्दा यो बिषय एमसीसीसँग जोडिएको बिषय देखिन्छ । भिम रावलले देशको हितमा नभएको भन्दै एमसीसीबारे खरो रूपमा बिरोध गर्दै आइरहेका छन् भने सुर्य थापाले सामाजिक सञ्जाल र सार्वजनिक रूपमै रावलको आलोचना गर्दै आइरहेका छन ।

ज्यान मार्ने धम्कि कसले दियो भन्ने नखुलाएपनि प्रधानमन्त्रीको सरकारी निवासबाट आउने बित्तिकै केहि अड्कल भने गरिएका छन् । नेकपाकै कतिपय कार्यकर्ताले सामाजिक संजालमा नाम नै किटान गरेर बिरोध गरिरहेका छन् ।

रावलले भने देशको हितको लागि बोल्दा यस्ता धम्कि आउँछन भने यो सार्वजनिक चिन्ताको विषय भएको बताएका छन् ।

राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको विरोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर धम्कीमा उत्रनु दुखद् भएको बताएका छन्।

आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको उनको दाबी छ ।

आफ्नै पार्टीको प्रधानमन्त्री र बहुमत सरकार भएकै बेला त्यहि दलको एक सम्भावना बोकेको नेतालाई ज्यान मार्ने धम्कि आउँछ भने सर्वसाधारण कसरी सुरक्षित महसुस गर्लान ?

शक्तिशाली सरकार भएको बेला देशले कायापलट गर्ला भनेर कुरेर बसेका जनतालाई लोप्पा खुवाउने गरी सरकार र पार्टी नेतृत्वबाट हुने यस्ता तल्लो स्तरका क्रियाकलाप र हर्कतले कालो बादल मडारिन सक्छ भन्ने हेक्का पी सबैले राख्न जरुरी छ ।

एउटा सचेत नागरिकले यो धम्कीबाट सिक्ने पाठ के हो ?

अहिले कतिपयले सामाजिक सञ्जालमा यसको तिब्र बिरोध गरिरहेका छन् । एक जना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “यो सतिले सरापेको देश हो देश र जनताको भलो चिताउनेलाई शासकहरु शत्रु ठान्छन्,तर विचार मर्दैैन ।”

अर्का प्रयोगकर्ता सुर्य थापालाई लक्षित गर्दै लेख्छन, “गतिलै सल्लाहकार छानेछन्, राेगी कामरेडले राष्ट्र हितकाे वकालत गर्दा सल्लाहकार जी ले दाेहाेरी ठानेछन् क्याहाे ।”

एक जनाले इतिहासमा पनि यस्ता घटना भएको संकेत गर्दै लेख्छन, “राष्ट्रको लागि आवाज उठाउँदा ज्यान मार्ने धम्की आउँछ भने यो अत्यन्तै दु:खद कुरा हो । यी देश बेचुवाहरु मार्न पनि बेर लगाउँदैनन्, त्यो व्यक्ति को हो छिट्टै सार्वजनिक गर्नुपर्यो कमरेड । त्यसको उपचार हामी गर्छौँ ।”

यसै बिषयमा एक पत्रिकासँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले भने भिम रावल चर्चामा आउनको लागि यस्तो बोलेको बताएका छन् । उनले बालुवाटारबाट यस्तो किसिमको धम्कि कसैले नदिएको पनि बताएका छन् ।

कतिले भने रावललाई चर्चाको लागि यस्तो हर्कत गर्न नपर्ने भन्दै प्रतिक्रिया दिएका छन् । धन बी गिरि लेख्छन, “भिम रावल त्यसै चर्चामा छन यत्रो झुठो बोल्नुपर्छ पर्छ र भिम रावल सहि छन् वाह लाई हरेक नेपाली ले साथ दिनु पर्छ र भिम रावल ले धम्की दिने मान्छे सार्वजनिक गरेर नग्याउन पर्छ हजुर लाई सबैको साथ छ।”

अधिकांशले यसमा भिम रावलको पक्षमा वकालत गरेका छन् भने बालुवाटारबाट भएको यस्तो हर्कतको ठाडो र चर्को बिरोध गरेका छन् ।

नेकपाभित्र र सरकारको आवरणमा घटेका यस्ता केहि घटना सामसुम भएका उदाहरण भने थुप्रै छन् । यो विषयमा पनि सरकार वा नेकपाले केहि ठोस कदम चाल्ला भन्ने त जनतालाई आशा नै छैन । तर, अनुसन्धान गरेर यस्तो हर्कत गर्ने व्यक्तिलाई सार्वजनिक गर्न सके नेकपा पनि जनताको नजरमा राम्रो बन्न सक्छ ।

त्यतिमात्र होइन महरा काण्डमा खुलेर विरोध गरेका नेताहरू यो काण्डमा नबोल्ने संकेत देखिएको छ । एकै पार्टीभित्र पनि कसैलाई बचाउन र कसैलाई सिध्याउन खेलिने खेलमा अब फेरी रावल नपर्लान भन्ने ग्यारेन्टी छैन ।