गम्भीर संकटमा भिम रावल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गम्भीर संकटमा भिम रावल



काठमाडौं- अन्तिम समयमा अध्यक्ष ओली समुहमा लागेको भनिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला संकटमा परेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक नेता रावल पछिल्लो समय न नेपालतिर न देउवातिर हुने सम्भावना बढेको छ ।

पहिला केपी ओलीसंग मिल्नै नहुने अडान लिएका रावल बालुवाटारमा ओलीसंग भएका केहि छलफलपछि ओली समूहमै लागेको विश्लेषण गर्न थालिएको छ । उनलाई जोडबलका कारण वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी १० बुँदे सहमतिमा हस्ताक्षर गरेका उनी अहिले भने स्पष्टिकरण दिनुपर्ने अवस्थामा आएका छन् ।

ओली समुहमा लागेको भन्दै व्यापक चर्चा भएपछि रावलले बुधबारमात्रै लामो विज्ञप्ति निकालेर स्पष्टिकरण दिएका थिए । अन्तिम समयमा आएर रावल हस्ताक्षर फिर्ता लिने गरी १० बुँदे सम्झौतामा अगाडि बढेपछि माधव नेपाल समुहमा समेत अटाउन नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

१० बुँदेमा माधव नेपाल असहमत हुँदाहुँदै पनि उनले हस्ताक्षर गर्न दवाव दिएको चर्चा समेत नेपाल समूहमै चलेको छ । ओलीको जोडबलले सर्वोच्च अदालतको फैसला प्रभावित गर्नेगरी गरिएको सो सहमतिपछि रावल लगायतका केहि नेताहरू आफ्नै समुहमा आलोचित हुन थालेका छन् । तर, त्यो सम्झौताले देउवा प्रधानमन्त्री बन्नबाट नरोकिएपछि उनी थप समस्यामा परेका छन् ।

त्यहि सम्झौताको कारण उनी नेपाल समुहमा नअटाउने अवस्थामा पुगेका छन् भने सधैभरी राष्ट्रघाती भन्दै दुत्कारेका ओलीसंग जान पनि उनलाई कठिन भएकाले उनी गम्भीर संकटमा परेका छन् ।