जब रावलले कसैको कुरा सुन्दै सुनेनन् « Himal Post | Online News Revolution
Logo

जब रावलले कसैको कुरा सुन्दै सुनेनन्



काठमाडौं- नेकपा (एमाले)मा सहमतिको तीन महिना नबित्दै सोहि विषयमा विवाद देखिएको छ । उपाध्यक्ष भीम रावलले पार्टीको बैठकबाटै सहमति गर्न गठित कार्यदलबाट राजीनामा दिइसकेका छन् ।

नेताहरूले रावललाई बारम्बार राजीनामा नदिन आग्रह गरे पनि उनले अस्वीकार गरेको बताइएको छ । बैठकमा उपस्थित एक नेताले बताए अनुसार रावलले कसैको कुरा नै सुनेनन् ।

यसअघि माधवकुमार नेपालपक्षमा रहेका अहिले एमालेमै भएका मध्यमार्गी नेताहरूले रावललाई राजीनामा नदिन बारम्बार आग्रह गरेका थिए। तर, रावलले उनीहरुको कुरा सुनेनन्।

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै उनले स्थायी कमिटी बैठकमै कार्यदलको संयोजक र सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरे। बैठकमा राजीनामा घोषणा गरेका उनले भोलि लिखित राजीनामा दिने बताएका छन्।

‘भीम रावलजीलाई राजीनामा नदिनुस् भन्दाभन्दै राजीनामा घोषणा गर्नुभयो,’ ती नेताले भने। एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि रावल संयोजक रहेको कार्यदल बनेको थियो।

रावलले आज पार्टीको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने कुरा उठाएका थिए। तर, अध्यक्ष ओलीले १० बुँदेको कार्यान्वयनको आवश्यकता नभएको बताएपछि रावलले राजीनामा दिने घोषणा गरेका हुन्।