'बोल्ड' निर्णयको तयारीमा भीम रावल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘बोल्ड’ निर्णयको तयारीमा भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् ।

उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए । नेता रावलले एमालेको एकता जोगाउन आफूले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन् ।

“एमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरेँ । १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ । तर, आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु,” उनले लेखेका छन् ।

उनले शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए ।

यससँगै केहि बोल्ड निर्णयको तयारीमा रावल रहेको उनी निकट नेताहरूले बताउने गरेका छन् । पछिल्लो समय रावलले एमालेमा ओली नसुध्रिएको भन्दै आफूनिकट नेताहरूलाई सुनाउने गरेका थिए ।

रावलले सुदूरपश्चिम लगायतका केहि नेताहरूसंग छलफल समेत गरिरहेको बुझिएको छ । पार्टीको विधान महाधिवेशनपछि नै रावलले आफ्नो छुट्टै तयारी थालेको बताइन्छ । रावल यसअघि पनि ओलीको कट्टर आलोचक रहँदै आएका थिए । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी सुरू गरेपछि उनी एमालेमै बसेका थिए ।