टोपबहादुरको गुनासो: 'प्रचण्डलाई दङ्ल्याएपछि काम गरिदिन्थे, ओलीले त सुन्दै सुन्दैनन्' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टोपबहादुरको गुनासो: ‘प्रचण्डलाई दङ्ल्याएपछि काम गरिदिन्थे, ओलीले त सुन्दै सुन्दैनन्’



काठमाडौं- एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि नेताहरूले असन्तुष्टि समेत जनाउन थालेका छन् ।

टोपबहादुर रायमाझी लगायतका केहि नेताहरूले त आफू निकट कार्यकर्ताहरूलाई माओवादीमा हुँदा कम गर्न सजिलो हुनेगरेको तर एमालेमा आएपछि कसैले कुरा सुन्न छाडेको समेत बताउन थालेका छन् । जिल्लाबाट गुनासो लिएर आएका केहि कार्यकर्ताहरूसँग रायमाझीले कहिले काहिँ राजनीतिबाटै सन्यास लिउँ जस्तो लाग्ने गरेको बताउने गरेका छन् ।

रायमाझीको भनाई उद्घृत गर्दै एक जिल्लास्तरीय नेताले भने, ‘हेर्नुस त, माधव जीहरूले एमाले छाडेको त्यसै होइन रहेछ, यहाँ त कसैको कुरा कसैले नसुन्ने, ओलीजीले कसैलाई कसैलाई नगन्ने, हाम्रा कुरा त परे जाउन एमालेकै ठुला नेताहरूका गुनासा पनि सुनुवाई हुँदैनन् ।’

ति नेताका अनुसार रायमाझी लगायतका केहि पूर्वमाओवादी नेताहरूले एमालेमा किन लागिएछ भन्दै पछुताउने गरेका छन् । ‘रायमाझी जीहरूलाई निकै गाह्रो रहेछ, ओलीले गर्दैनन्, एमालेका कार्यकर्ताहरूले नेता मान्दैनन् ।’

उक्त बसाईमा रायमाझीले माओवादीमा त दङ्ल्याएर खान पाइएको र घुर्क्याएर काम गर्न पाइएको थियो भन्दै गुनासो समेत गरेका छन् । एमालेमा आएपछि समस्यामा परेको समेत उनले बताएको ति नेता बताउँछन् । त्यतिमात्रै होइन एमालेकै कतिपय नेताहरूले जहिले पनि समस्या सुनाएर नेता भइन्छ र भन्दै दुत्कार्ने गरेको समेत रायमाझीले बताउने गरेको ति नेता बताउँछन् ।

‘पहिलेको पार्टीमा त दङ्ल्याएर, घुर्क्याएर पनि काम बन्थे, प्रचण्डलाई दङ्ल्याउन पाइन्थ्यो, घुर्क्याउन पाइन्थ्यो अहिले त बेहाल छ हेर्नुस ।’ रायमाझीको भनाई उद्घृत गर्दै ति नेता भन्छन् ।

पूर्वमाओवादी नेताहरू ओलीसँग असन्तुष्ट

जिम्मेवारी नदिएको र मर्यादाक्रम नमिलाएको भन्दै एमालेमा रहेका पूर्वमाओवादी नेताहरूले ओलीप्रति तिब्र असन्तुष्टि जनाएका छन् । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् ।

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् । तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं । पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने ।

उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए । तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय (हाल एमाले उपाध्यक्षद्वय) युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ । उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन ।

सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन् । रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए । तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो ।