गुणस्तरीय शिक्षाका लागि राजनीतिक हस्तक्षेप अन्त्यावश्यक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुणस्तरीय शिक्षाका लागि राजनीतिक हस्तक्षेप अन्त्यावश्यक



बुटवल । शिक्षामा गुणस्तर ल्याउन राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाले बताएका छन् ।
शिक्षाको गुणस्तर कमजोर बन्दै गएको स्वीकार्दै उनीहरूले गुणस्तरीय शिक्षा दिने दायित्व राज्यको भएको बताए । गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षण संस्था र शिक्षकहरूलाई कारवाही गर्ने निकाय राज्य भएकाले यस विषयमा राज्य मौन रहेको बताए ।
रिपोर्टर्स क्लब प्रदेश नम्बर पाँचले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षाका लागि राज्यले मापदण्ड बनाउनु पर्ने बताए । पाठ्यपुस्तक र पाठ्यक्रम वैज्ञानिक हुनुपर्ने, शिक्षामा लगानी बढाउनु पर्ने र शिक्षकहरूको मनोवल बढ्ने गरी सेवासुविधा उपलब्ध गराउन सकिएमा शिक्षामा सुधार आउने उनीहरूको भनाई छ । गुणस्तरीय शिक्षाका लागि मिडियाहरूले राज्य र नीजि क्षेत्रलाई खबरदारी गर्न जरुरी रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले सबै मिलेर शिक्षामा सुधार ल्याउनु पर्ने बताए । उनले गुणस्तरीय शिक्षा दिनुको विकल्प नभएकाले आरोप प्रत्यारोपमा उत्रन नहुने बताए । बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थीले गुणस्तरीय शिक्षाका लागि नीतिगत स्पष्ट हुनुपर्ने बताए ।
उनले स्पष्ट नीति र लगानीको अभावले गुणस्तरीय शिक्षा दिनमा समस्या रहेको बताए । प्याब्सन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्ण खनालले शिक्षाको गुणस्तरवृद्धि गर्न शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताए । उनले अहिलेको परम्परागत शिक्षा प्रणालीले नीजि क्षेत्रको बाधक रहेको उनले बताए । कालिका माध्यमिक विद्यालयलका प्रधानाध्यापक घनश्याम पाठकले अंगे्रजी भाषा बोल्ने हुँदैमा र धेरै जिपिए आएको आधारलाई गुणस्तरीय शिक्षा मान्न नसकिने बताए । उनले आफ्नो राष्ट्रियता, संस्कार, संस्कृति र व्यवहारसँग मेल खाने शिक्षालाई मात्र गुणस्तरीय शिक्षा भन्न सकिने बताए । उनले अहिलेको राज्यव्यवस्थाले गुणस्तरीय शिक्षा दिन नसक्ने उनको दावी छ । प्याब्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षा दिएको नीजि क्षेत्रलाई राज्यले चिन्न नसकेको बताए । राज्यले गुणस्तरीय शिक्षा मापन गर्न नसकेको उनले आरोप लगाए । शिक्षक महासंघका रूपन्देही उपाध्यक्ष मुक्तिप्रसाद भट्टराईले गुणस्तरी शिक्षाका लागि पाठ्यक्रम र पाठ्यपुस्तक एउटै हुनुपर्ने बताए । नेपाल पुस्तक व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षामा भएको सिण्डीकेटको अन्त्य गरेर शिक्षामा सुधार ल्याउन आवश्यक रहेको बताए ।
अभिभावक संघ रूपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षाको विकास र गुणस्तर कायम गर्नका लागि राजनीतिक नेतृत्व सुध्रन जरुरी रहेको बताए । शिक्षा पत्रकार समूहका केन्द्रीय सदस्य कृष्ण मल्लले शिक्षामा मनपरी भएको बताए । उनले सरकारी र नीजि दुवै क्षेत्रका कमजोरीलाई सुधारेर मात्र शिक्षामा सुधार आउन सक्ने बताए । गुणस्तरीय शिक्षाको कुरा गरिए पनि गुणस्तरीय शिक्षा के हो भन्ने मापदण्ड नभएको बताए । रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।