मंगलबारदेखि देशभर लगातर झरी लाग्ने: यस्तो छ मौसम विभागको चेतावनी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मंगलबारदेखि देशभर लगातर झरी लाग्ने: यस्तो छ मौसम विभागको चेतावनी



काठमाडौं- मनसुन सुदूरपश्चिम प्रदेशमा प्रवेश गरसँंगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ । मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो । यसको प्रभावका कारण मंगलबारदेखि बिहीबारसम्म देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी हुनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका तथा मधेस प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार रातिदेखि बुधबार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुम धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

मंगलबारदेखि बिहीबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन नागरिक तथा सरोकारवाला निकायलाई विभागको आग्रह छ ।