हरेक भूमिकामा 'प्रफेक्ट' रेखा- दुनियाँ फेरियो, चर्चा फेरिएन - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

हरेक भूमिकामा ‘प्रफेक्ट’ रेखा- दुनियाँ फेरियो, चर्चा फेरिएन



एउटा समय थियो छोटो कपडा लगाउने, आधा अङ्ग देखाउने, स्टेज तताउने, आइटम डान्स गर्ने रेखा थापा थिइन् । समय फेरियो पेशा फेरियो अहिले तिनै रेखा थापा परिपक्क नेताका रूपमा देखिन्छिन ।

फिल्मी दुनियामा छोटो लुगा लगाएकै कारण उनी चर्चा र विवादको केन्द्रमा पर्थिन । उनको एउटा ‘बोल्ड’ फोटोले बजार तताउँथ्यो । युवाहरूले जुम गरीगरी हेर्थे, पाकाहरूले छि भन्दै नाक खुम्च्याउँथे । अहिले पनि रेखा चर्चाको केन्द्रमै छन्, उत्तिकै चर्चा पनि छ तर अहिले पहिरन फेरिएको छ, कुरा फेरिएका छन् र भूमिका पनि फेरिएको छ ।

त्यो जमानामा छोटो लुगा लगाएर चर्चामा आउने रेखा अहिले पुरा लुगा लगाएर पनि उत्तिकै चर्चामा छिन् ।राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी रेखा चुनावी मैदानमा होमिएकी छन् । परिपक्क भाषण गर्छिन, देश बनाउने कुरा गर्छिन ।

कांग्रेस र एमालेका भेट्रान नेताहरूसँग प्रतिस्पर्धा गरिरहेकी उनी मतदाताको मन जितिरहेकी छन् । उनी उपस्थित भएको स्थानमा ठूलै भिड जम्मा हुन्छ । भाषण पनि मज्जाले सुन्छन । तर मत कति आउँछ त्यसका लागि मङ्सिर ४ कुर्नैपर्छ । त्यो जमानामा फिल्मी दुनियामा ‘पर्फेक्ट’ बनेकी रेखा राजनीतिक दुनियामा पनि ‘पर्फेक्ट’ भूमिका निभाईरहेकी छन् ।

उनको जति भूमिका फेरिए पनि चर्चा उत्तिकै छ । फिल्म खेल्दा होस्, प्रचण्डसँग नाच्दा होस् या राजनीतिमा उनी उत्तिकै चर्चामा छिन् ।

चुनावी प्रतिबद्धता

रेखाले आफ्ना चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन् । भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने प्रतिबद्धता उनको छ । आफ्नो क्षेत्रमा सुकुम्बासीको समस्या भएपनि समाधान नभएको उनको भनाइ छ ।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सो समस्या समाधानका लागि स्थानीय तहसँग सहकार्य र सिंहदरबारसँग संघर्ष गर्ने उल्लेख छ ।

रेखाले आफ्नो प्रतिबद्धता पत्रमा हरेक वर्ष उत्पादन वर्ष बनाउने उल्लेख गरेकी छन् । प्रतिबद्धता पत्रमा किसानसँग सरकार अभियान सञ्चालन गर्ने पनि बताएकी छन् । उनले ‘एक क्षेत्र एक उत्पादन, उत्पादनदेखि बजार’ सम्मको पनि ग्यारेन्टीको प्रतिबद्धता जनाएकी छन् ।

उनले मोरङ क्षेत्र नम्बर ३ को गौरवको रूपमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता रेखाको छ । उनले सेवा प्रभावकारी बनाउन व्यवहारिक तथा नीतिगत पहल गर्ने बताएकी छन् । रेखाले विश्वविद्यालयमा रहेको अस्पतालको सेवा २४ सै घण्टा बनाउने प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन् ।

‘युवासँग रेखा’ भन्दै उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, सीप विकास, उद्यमशिलता, रोजगारी र आत्मनिर्भरका लागि आफूलाई मत दिन आव्हान गरेकी छन् ।

रेखाले कक्षा १२ सम्म निःशुल्क गुणस्तर शिक्षासहित, यसरी पढौँ अभियान सञ्चालन गर्ने, हरेक नारीलाई चूल्होबाट निकालेर क्षमता अनुसारको सीप, देशका लागि छोरी परियोजना सञ्चालन गर्ने उल्लेख गरेकी छन् ।

निरोगी अभियान सञ्चालन गर्ने भन्दै रेखाले ‘अब रोग पाल्ने हैन अब जरैबाट फालौं ।’ यसका लागि उनले छुट्टै अभियान थाल्ने बताएकी छन् ।