बानेश्वरको पानस रेमिट र एउटै आइडीले जोगायो ५ अर्ब - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बानेश्वरको पानस रेमिट र एउटै आइडीले जोगायो ५ अर्ब



काठमाडौं- बानेश्वरको पानस रेमिटका एक कर्मचारीलाई एक व्यक्तिमाथि शंका लागेपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई फोन गरे। घटना असोज ५ गते दिउँसो अन्दाजी ३ बजेको हो ।

एसएसपी थापासंग ति कर्मचारीले फोनमा एकजना मान्छेलाई शंका लागेर रोकिराखेको बताए बताउंदै घटनाबारे ब्रिफिङ गरे।

एसएसपी थापाले महाशाखाका एक इन्सपेक्टरलाई पानस रेमिटको कार्यालयमा पठाए । शंकास्पद ती व्यक्तिलाई महाशाखाको टोलीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका व्यक्ति थिए सञ्जय घले । घले पानस रेमिटमा पैसा निकाल्न पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । घले पुग्नुअघि लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ र लवाङ तामाङले पैसा निकालेर गएका थिए ।

उनीहरुले एउटै आइडीबाट ६०–६० हजारको दरले ६ पटकसम्म पैसा निकालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एउटै आइडीबाट ६–६ पटकसम्म पैसा निकालेपछि अन्तिममा पैसा निकाल्न पुगेका घले फन्दामा परेका थिए ।

सञ्जयको बयानको आधारमा लक्ष्मी, निर्मला र निमा सोही दिन राती १० बजेको समयमा बालाजुबाट पक्राउ परे । उनीहरु पक्राउ परेको ३ घण्टापछि अन्ततः अपराध महाशाखाको टोलीले लवाङलाई पनि राती १ बजे बालाजुस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउ परेका लवाङको कोठाबाट प्रहरीले ३१ लाख समेत बरामद गरेको छ । सोधपुछको क्रममा लवाङले ३१ लाख रुपैयाँ कृषि विकास बैङ्कबाट निकालेको बताएका छन् ।

लवाङको गोंगबुस्थित शाखाको खातामा पचास लाख रुपैयाँ रकम ह्याकरले पठाएको भेटिएको प्रहरीले जनाएको छ । सोमध्ये उनले ३१ लाख रुपैयाँ निकालेर घरमा लगेका हुन् । रकममध्येको १५ देखि ३५ प्रतिशत कमिसन दिने सर्तमा ह्याकरले नेपालमा एजेन्टहरू प्रयोग गरेको महाशाखाका एसएसपी थापाले बताएका छन् । कमिसन दिने सर्तमा खटाइएका १२ जनालाई समेत महाशाखाले तीन दिनमा पक्राउ गरेको छ ।

सोधपुछको क्रममा लवाङले कीर्तिपुर बस्दै आएका सर्लाही हरिवन नगरपालिका – २ का ४२ वर्षीय पुष्पराज खड्काको नाम पनि लिए । खड्कालाई पनि सोही दिन राती ३ बजेतिर महाशाखाको टोली पक्राउ गर्न सफल भयो ।

बयानको क्रममा उनीहरुले अफ्रिकी मुलका नागरिक काले भनिने पिटरसँग मिलेर काग गरेको बताएका छन् । पिटरसँग भारत गएको बेला एकपटक मात्र भेट भएको लवाङको भनाइ छ ।

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले ५ मिलियन डलर (५ अर्ब नेपाली रुपैयाँ) ह्याक गरेर विदेश लैजाने योजनामा थिए ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।

लवाङसँगै १२ जना नेपाली पक्राउ परेका छन् । यीनीहरुमध्ये लवाङ मुख्य नाइके रहेको खुल्न आएको छ ।

लवाङले कृषि विकास बैङ्कबाट रकम निकालेका बताएपछि प्रहरीले बैङ्कका कर्मचारीलाई ६ गते भेटेर घटनाबारे जानकारी गरायो । बैङ्कले सुरुमा वास्ता नगरेको प्रहरीको भनाई छ ।

ह्याकपछि सिरहाको लहान शाखाको कम्प्युटरबाटै पिटरले चार करोड ७३ लाख रकम एकैछिनमा विभिन्न व्यक्तिको खातामा जम्मा गराइदिएका छन् । प्रहरीले ज–जसको खातामा रकम गएको छ त्यी खाता पहिचान गरी बैंकलाई रकम झिक्न नदिन भनिसकेको छ ।

ह्याकरले सौराहको युजर आईडी प्रयोग गरेर नुवाकोट शाखाबाट काठमाडौं ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । त्यतिबेलासम्म ११ ठाउँमा रकम ट्रान्सफर भइसकेको थियो ।

ह्याकिङ प्रकरणमा पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका–५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–२ का सञ्जय घले र सर्लाही हरिवन नगरपालिका–२ का पुष्पराज खड्का रहेका छन् ।

यस्तै लमजुङ दोदी गाउँपालिका–३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका–४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुभन्कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय साह र भजनी नगरपालिका–१ कै चन्द्रबहादुर बुढा रहेका छन् ।