भरतपुरको मतगणना रोमान्चक मोडमा: दुई वटा वार्डले गर्नेछ रेणुको भाग्य फैसला - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भरतपुरको मतगणना रोमान्चक मोडमा: दुई वटा वार्डले गर्नेछ रेणुको भाग्य फैसला



निकै रोचक बनेको भरतपुर महानगरपालिकाको मतगणना सबैका लागि चासोको विषय बनेको छ । दस हजार बढी मतगणना भए पनि यसभन्दा रोचक स्थानको मतगणना सुरू भएको छ ।

भरतपुर महानगरको वडा नम्बर ३ र ४ को मतगणनाले रेणु दाहालको भाग्यको फैसला गर्ने अनुमान गरिएको छ । मेयर बन्न नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदी र कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मैदानमा छन्।

अहिलेसम्म मतगणनामा रेनु र विजयबीच तीव्र प्रतिस्पर्धा भैरहेको छ । रेनु र विजयको मतान्तर निकै झिनो छ त्यसैले कहिले एउटाले त कहिले अर्कोले अग्रता लिइरहेका छन् । वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथ पौडेललाई पहिले भन्दा बढी मत आउन थालेको छ।

यो जगन्नाथका समर्थकको वडा हो । मतगणनामा ३ नं वडामा जगन्नाथलाई धेरै मत गएको खण्डमा रेणुको सम्भावना घट्ने आंकलन गरिएको छ । अहिलेकै अवस्था केही वडामा पनि कायम रहे दाहाललाई जितका लागि सकस पर्ने छ।

भरतपुरको वडा नम्बर ३ र ४ कांग्रेसको गढ मानिन्छ। कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा ३ नं वडामा बसोबास गर्छन्। उनी चितवन कांग्रेसमा तीन पटकसम्म सभापति भएका थिए । उनै सापकोटा यसपटक जगन्नाथको मेयर पदका प्रस्तावक छन्।

कांग्रेसको वडा नम्बर ३ मा वडाध्यक्ष उम्मेदवारको विषयमा समेत विवाद भएकाले गणना थप रोचक हुने देखिन्छ। कांग्रेसको गढ मानिने वडा नम्बर ३ बाट २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत पाएका थिए।

यद्यपि विजयले यसपटक त्यो मत पाएका छैनन् । बरू मत जगन्नाथलाई मत गएको देखिन्छ। ३२४४ मत खसेको वडामा अहिलेसम्म २२१५ मत गणना भएको छ। त्यसमा भुँइकटहरमा अघिल्लो वडाको तुलनामा धेरै मत खसेका छन्।

यसपछि गणना हुने वडा नम्बर ४ जगन्नाथकै मेयर पदकी समर्थक मिना खरेलको वडा हो। खरेललाई कांग्रेसले कारवाही गरिसकेको छ। त्यहाँ कांग्रेसी कार्यकर्ता रुष्ट छन्। त्यसको असर मतपरिणाममा देखिए रेनुलाई थप असर पर्छ।

त्यस्तै वडा नम्बर ५, ६ र ७ बाट पनि रेनुलाई मत कम आउन सक्छ। वडा नम्बर ७ जगन्नाथको आफ्नै वडा हो । यी वडाहरूबाट कति मत यताउता हुन्छन् यो भरतपुरका लागि निर्णायक सावित हुनसक्छ।

अहिलेसम्म कडा टक्कर देखिएको भरतपुरको मतगणना अब भने थप रोचक हुनेनै छ । त्यसमाथि अब गणना हुने दुई वटा वार्डको मतले रेणुको भाग्यको फैसला गर्ने देखिन्छ ।