सीके राउतको हत्या गर्ने चेतावनी दिएपछि मन्त्री रेणु यादवको जागिर धरापमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सीके राउतको हत्या गर्ने चेतावनी दिएपछि मन्त्री रेणु यादवको जागिर धरापमा



भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चासो लिएको बुझिएको छ ।

रेणु यादवलाई मन्त्रीबाट हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई दबाब बढिसकेको छ । विश्वस्त स्रोतका अनुसार जसपा नेता डा. बाबुराम भट्टराईले यसबारे चासो दिइसकेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले नै यादवको राजीनामा मागेका छन् । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिने यादवलाई पदमा रहने नैतिक अधिकार नभएको बताइसकेका छन् ।

आजै जनमत पार्टीका नेता सीके राउतलाई लक्षित गर्दै रेणु यादवले गौर नरसंहार दोहोराउने चेतावनी दिएकी छिन् । उनले २०६३ सालमा भएको गौर नरसंहारको उदाहरण दिदै राउतका कार्यकर्ताको हालत नरसंहारमा मारिएका माओवादी कार्यकर्ताको जस्तै बनाइदिने चेतावनी दिएकी हुन् ।

आज मधेशमा बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा बोल्दै यादवले भड्किलो अभिव्यक्ति दिने क्रममा सीके राउतलाई चेतावनीको भाषामा भनिन्,‘इतिहासमा राइस मिल अझै जिवित छ । यो गौरमा चिर्पट देखाउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो ।’

७ चैत्र २०६३ मा गौर नगरपालिकाको राइस मिलमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले एकसाथ कार्यक्रम गर्न लाग्दा भएको झडपमा हिंसा मच्चिएको थियो । फोरमका कार्यकर्ताले २७ जना माओवादीका वाइसिएल कार्यकर्ताको हत्या गरेका थिए । गौर नरसंहारका रुपमा चर्चित यो घटनामा हालका जसपा अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् ।

बबन सिंह देखि उपेन्द्र यादवसम्म गरी ११३ जनाको नाममा न्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । तर, यसमा अझैसम्म कसैले सजाय पाएका छैनन् । गैर नरसंहारको विषय ओझेलमा पारिएपनि बेला बेलामा उठ्ने गरेको छ ।