मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग



काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै सगर्व घोषणा गरिसकेकाले उनलाई पक्राउ पर्नुपर्ने माग गरेको हो।

मन्त्री यादव त्यसबेला मधेशी जनाधिकार फोरममै थिइन्। हाल भने उनी जनता समाजवादी पार्टीमा आबद्ध छिन्।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ – २०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सम्माननीय मन्त्रीज्यूले गौरको राइस फिल्डमा नरसंहार हामीहरूले नै मचाएको, किसान आन्दोलनकारीहरूमाथि फेरि त्यस्तै नरसंहार मचाइदिने र घेराऊ हालेर डा सीके राउतको हत्या गरिदिने खुल्लमखुल्ला घोषणा सुरक्षाकर्मीहरू बीचमै रहेर गरेको सभाको भिडियोमा स्पष्ट देख्नसुन्न सकिन्छ।

विज्ञप्तिमा अगाडि लेखिएको छ – देशकै संघीय मन्त्री जस्तो जिम्मेजार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम जनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ। २०६३ साल चैत्र ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरीकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेशी जनाधिकार फोरम) ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसके पछि यो गौर नरसंहारको स्वीकारोक्ति पनि हो। तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।

साथै पार्टीले गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने नभई उनीहरूलाई तत्काल पक्राऊ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्ने जनाएको छ।