जसपामा एक्लिए महन्थ ठाकुर: राजेन्द्र महतोले पनि छाडे साथ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जसपामा एक्लिए महन्थ ठाकुर: राजेन्द्र महतोले पनि छाडे साथ



काठमाडौं- विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी नेपालमा अर्को अचम्मको परिदृश्य देखिएको छ । पार्टी एकीकरणपछि ठुलो बहुमतमा देखिएका पार्टी अध्यक्ष महन्थ ठाकुर एकाएक एक्लिएका छन् । सुरुवातदेखि नै ठाकुरलाई साथ् दिइरहेका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पनि साथ् छाडेपछि उनी जसपामा एक्लिएका हुन् ।

पछिल्लो समय पार्टीलाई एकलौटी ढंगले चलाउन खोज्दा उनी एक्लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ् दिने नाममा उनले पार्टीभित्र अधिनायकवाद लादेको आरोप लागिरहेका बेला उनका विश्वासपात्र मानिने महतोले पनि साथ् छाडेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि ठाकुरले सोमबार नै आफू पक्षीय कार्यकारिणी सदस्यलाई काठमाण्डौ नछोड्न निर्देशन दिए, बाहिर भएकालाई तत्काल काठमाण्डौ आउन उर्दी जारी गरे । त्यसपछि उनले हस्ताक्षर अभियान चलाए । सकेसम्म पार्टीमा बहुमत पुराउन लागि परेका ठाकुरले पार्टीमा सल्लाह नै नगरी एकलौटी रूपमा चलाएको अभियानले पार्टीमा विवाद उत्पन्न गरेकै थियो त्यसले अर्को पराकम्प नै ल्याइदियो ।

जसपाभित्र डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले वैशाख १४ गते कार्यकारिणी समितिको बैठकबाट बहुमत जुटाएपछि जसपामा फरक परिदृश्य देखिएको थियो । अहिले भने ठाकुरले आफू संसदीय दलको नेता भएको दम्भ देखाउन थालेको र आफ्नो निर्णय नै अन्तिम हुने बताउन थालेपछि महतोले उनलाई साथ् दिन छाडेको बताइएको छ । केपी ओलीलाई विश्वासको मत दिनेबारे संसदीय दलको नेताको हैसियतमा आफूले निर्णय गर्नसक्ने भन्दै ठाकुरले आफू पक्षीय सांसद र कार्यकारिणी सदस्यहरूलाई बताएका थिए ।

आफू दलको नेता भएको भन्दै विभिन्न नेताहरूलाई ठाकुरले विश्वासको मत दिनेबारे माइन्युटमा हस्ताक्षर समेत गराएका छन् । ठाकुरलाई हरेक कदममा साथ् दिइरहेका वरिष्ठ नेता महतोले भने हस्ताक्षर गरेका छैनन्। महतोका साथै जसपा कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारी र निर्जला राउतले पनि हस्ताक्षर गरेका छैनन्।

आफू पक्षीय तीनजना सांसद र कार्यकारिणी सदस्यले हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने भएका छन् । अध्यक्ष ठाकुरले आफूलाई संसदीय दलको अध्यक्षका रूपमा प्रस्तावित गर्न खोजेपछि वरिष्ठ नेता महतो हस्ताक्षर गर्न झस्केको बताइएको छ । महतो जसपा संसदीय दलका नेता बन्न चाहेका थिए यसका लागि उनले अध्यक्ष ठाकुरको साथ खोजिरहेका थिए ।

संसदीय दलका नेता बन्ने महतोको सपना ठाकुरले चकनाचुर बनाएपछि महतोले उनको साथ् छाडेको जसपाका एक नेताले बताए ।