अमेरिकामा चरम आर्थिक संकट भएपछि ३० खर्ब डलर ऋण खोज्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकामा चरम आर्थिक संकट भएपछि ३० खर्ब डलर ऋण खोज्दै



बीबीसी- अमेरिकाले सन् २०२० को दोस्रो त्रैमासमा ३० खर्ब डलरको ऋण जरुरी रहेको बताएको छ । कोरोना भाइरस (कोभिड-१९) सँग सम्बन्धित राहत प्याकेजले अमेरिकाको बजेट उल्लेख्य मात्रामा बढेसँगै उक्त ऋण आवश्यक देखिएको अमेरिकाको वाणिज्य मन्त्रालयले बताएको छ ।

अमेरिकाले दोस्रो त्रैमासको लागि दिन लागेको ऋण अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि अमेरिकालाई सन् २००८ को वित्तीय संकटमा सबैभन्दा बढी ऋण आवश्यक परेको थियो । यससँगै अमेरिकाको ऋण दुई सय ५० खर्बसम्म पुगेको छ । सन् २०१९ मा अमेरिकाले १२ खर्ब ८० अर्ब डलर ऋण लिएको थियो ।

स्वास्थ्य सेवा र प्रत्यक्षरुपमा मानिसहरुलाई राहत प्रदान गर्न अमेरिकाले ३० खर्ब डलरको राहत प्याकेजलाई अनुमति दिइसकेको छ । एक आकलन अनुसार यो राहत प्याकेज मुलुकको अर्थतन्त्रको १४ प्रतिशत हो । महामारी फैलिएसँगै अमेरिकाले कर उठाउने समयसीमा अप्रिल १५ बाट बढाउने निर्णय गरेको थियो । यसले सरकारलाई थप आर्थिक भार परेको हो ।

अमेरिकी संसद्को बजेट कार्यालयले गत महिना अमेरिकाको बजेट घाटा ३७ खर्ब डलरसम्म पुग्न सक्ने बताएको छ । साथै अमेरिकाको समग्र ऋण पनि अर्थतन्त्रको जीडीपीको एक सय प्रतिशतभन्दा बढी पुग्न सक्ने बताइएको छ ।

गत साता अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्वका अध्यक्ष जेरोम पावेलले लकडाउनको कारण धेरै मानिसको रोजगारी गुमेको कारण अहिले खर्च बढाउनु जरुरी रहेको बताएका थिए ।

अमेरिकालाई ऋण दिनेमा जापान, चीन र बेलायत सबैभन्दा अगाडि छन् । चीनसँगको तनावको कारण पछिल्लो समय अमेरिकाको ऋण लिने स्थिति प्रभावित बनेको छ ।