ऋषभ पन्तलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिने - Himal Post Himal Post
  • २५ जेष्ठ २०८०, बिहीबार
  •      Thu Jun 8 2023
Logo

ऋषभ पन्तलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिने



काठमाडौं । गएको साता कार दुर्घटनामा परी घाइते भएका भारतीय विकेटकिपर ऋषभ पन्तलाई शल्यक्रियाका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगिने भएको छ । पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २५ वर्षीय पन्तलाई मुम्बईको कोकिनाबेन धिरुभाई अब्बानी हस्पिटल तथा मेडिकल रिसर्च इन्स्टिच्युटमा भर्ना गरिने जनाएको छ । उक्त अस्पतालमा पन्तलाई डाक्टर दिनशो पाडिवालाको निगरानीमा राखिने बताइएको छ ।

साथै, बीसीसीआईको मेडिकल टिमले पनि पन्तलाई हेर्नेछ । मुम्बईमा पन्तको लिगामेन्ट चोटको पनि उपचार हुने बताइएको छ ।

बीसीसीआईका सचिव जय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पन्तको चाँडोभन्दा चाँडो उपचारका गर्न लागि यस अवधिमा आवश्यक पर्ने सबै सहयोग बोर्डले उपलब्ध गराउनेछ ।’’

गएको डिसेम्बर ३० मा पन्त सवार कार उत्तराखण्डको रुर्कीनजिकै मंगलौर र नर्सनको बीचमा दुर्घटनाग्रस्त भएको थियो । आईपीएल टिम दिल्ली क्यापिटल्सका कप्तान पन्तको टाउको, ढाड र खुट्टामा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार पन्तको कार नियन्त्रण गुमाएपछि दुईपटक पल्टिएर आगो लागेको थियो ।